ओली समूहको संसदीय दलको बैठक: ११५ सांसद उपस्थित

ओली समूहको संसदीय दलको बैठक: ११५ सांसद उपस्थित

संसदका गतिविधिमा ध्यानकेन्द्रित गर्न प्रधानमन्त्रीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले भोलिदेखि सुरु हुने प्रतिनिधिसभाका गतिविधिमा सक्रियतापूर्वक केन्द्रित हुन निर्देशन दिएका छन् ।

केही बेरअघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सकिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको संसदीय दलको बैठकमा संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री ओलीले भोलिबाट सुरु हुने संसद्मा ध्यानकेन्द्रित गर्न निर्देशन दिएको राष्ट्रिय सभाका प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए ।

त्यस्तै उनले आज बसेको ओली नेतृत्वको नेकपा संसदीय दलको बैठकमा ११५ जना सांसद उपस्थित भएको दावी गरे । भट्टराईले बैठकमा १ सय १५ जना सांसदमध्ये २४ जना राष्ट्रियसभा सदस्य र ९१ जना प्रतिनिधिसभा सदस्य उपस्थित भएको बताए ।

ओली समूहले बैठकमा सहभागी हुन प्रचण्ड–नेपाल समूहका सांसद र एकता अभियान सञ्चालन गरिरहेका वामदेव गौतमलाई पनि निम्तो दिएको थियो । तर, उनीहरू बैठकमा सहभागी भएनन् ।

प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद विघटनलाई सर्वोच्च अदालतले बदर गरिदिएपछिको पहिलो प्रतिनिधिसभाको बैठक आइतबार अपराह्न ४ बजे बस्दैछ ।

गत पुस ५ गते संसद विघटन गरेपछि नेकपा दुई समूहमा बाँडिएको छ । विभाजित प्रचण्ड–माधव नेपाल समूले शुक्रबार संसदीय दलको नेता प्रचण्डलाई चयन गरेको छ भने केपी ओली नेतृत्वको नेकपाले ओलीलाई नै दलको नेता मान्दै आइरहेको छ ।