नेपाल पक्षलाई प्रधानमन्त्रीको चेतावनीयुक्त पत्रः सच्चिनका लागि यो अन्तिम मौका हो


काठमाण्डु – नेकपा एमालेले माधव नेपाल पक्षका सांसदहरुलाई स्पष्टिकरण सोधेको छ । मंगलबार एमाले अध्यक्ष केपी शर्मा अ‍ोलीले संघ र प्रदेशका ३२ जना सांसदलाई स्पष्टिरण सोधेको हो ।

पत्रमा नयाँ राजनैतिक दलको स्वरुपमा भेलाहरु आयोजना गर्न अग्रसरता लिई पार्टी र पार्टीको एकता विरोधी प्रस्तावमा संलग्न भएको कारण के हो ? भन्दै स्पष्टिकरण मागिएको छ ।

‘केन्द्रीय कमिटीको दशौं, ११ औं र १२ औं बैठकहरुको निर्देशनको अवज्ञा गरि, उपरोक्त बैठकका निर्णयहरुको बारेमा विभिन्न भ्रम र्सिजना गरी पार्टीको विधान र निर्देशन विपरित नयाँ राजनैतिक दलको स्वरुपमा भेलाहरु आयोजना गर्न अग्रसरता लिई पार्टीको एकता विरोधी प्रस्तावमा संलग्न हुनुभएको कारण के हो ?’, पत्रमा भनिएको छ ।

त्यस्तै पार्टीको हित विपरित वैधानिक व्यवस्था र कार्यक्रमको विपक्षमा सार्वजनिक क्रियाकलाप गरेको, पार्टीको विधान निर्णय विपरित गुटबन्दी तथा षड्यन्त्र गरेको, पार्टीको निर्णय बारम्बार उल्लंघन गरेको पार्टीलाई विभाजनको दिशामा लान अनुचित गतिविधि के केति कारणले गराएको ? भन्दै प्रश्न सोधिएको छ ।

‘यसरी पार्टी तथा आफ्नो सरकारका विरुघमा विभिन्न अवाञ्छित क्रियाकलाप निरन्तर गरिरहेको घोषित रुपमा नयाँ राजनैतिक दलको स्वरुपमा गतिविधि गरी पार्टीको निर्णय, नीति, नेतृत्वविरुद्ध शत्रुवत ढंगले प्रस्तुत गरि दुस्प्रचार र भ्रम फिजाउने कार्य किन गर्नुभएको हो ?’ पत्रमा भनिएको छ, ‘तपाईले छुट्टै राजनीतिक दल गठन गरेकामा किन कारबाही नगर्ने ? र तपाईलाई संघीय संसदको सदस्यबाट किन नहटाउने ? आधार कारणसहित तीन दिनभित्र स्पष्टिकरण पेश गर्न निर्देशन गर्दछ ।’

प्रधानमन्त्री अ‍ोलीले यस्तै गतिविधि गर्दै गए जुनसुकै बेला पनि थप कडा कारबाही गर्ने चेतावनी दिएका छन् । ‘यस्ता पार्टी विरोधी गतिविधि बन्द गर्न र सहि बाटोमा फर्किने मौका दिन यो स्पष्टिकरण पत्र लेखिएको छ । तपाईलाई सच्चिनका लागि यो अन्तिम मौका हो’, पत्रमा उनले भनेका छन्।

 

प्रतिक्रिया दिनुहोस
Advertisement