गठबन्धन सरकारले सेटिङमा बजेट बनाएर राष्ट्रिय ढुकुटीमाथि डकैती गर्‍यो : ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचन एक्लैले जित्नेगरी तयारी तीव्र पार्न निर्देशन दिएका छन् ।

जनसंगठन समन्वय संयन्त्रका अध्यक्षहरूको बैठकलाई सम्वोधन गर्दै अध्यक्ष ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा एक्लै जित्ने गरी तयारी तीब्र पार्न पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

‘चुनावको परिणाम हेर्दा एमाले हार्यो भन्दै विरोधीहरू प्रचार गरिरहेका छन् । तर हामीले चुनाव हारेका होइनौं, जितेका छौं । हामीसँग एक्लै लड्न सक्ने ताकत कसैसँग छैन भन्ने सन्देश निर्वाचनले दिएको छ,’ उनले भने, ‘अब पनि एक्लै लड्ने आँट कसैले गर्दैन । कसैले पनि एमालेसँग एक्लै भिड्ने आँट गर्दैन ।’

देशभित्र र बाहिरका सबै शक्ति लगाउँदा पनि एमाले हराउन नसकेको स्मरण गराउँदै उनले भने, ‘यत्रो घेराबन्दी हुँदा पनि हामी एक्लै लडेर जीत हासिल गरेका छौं । हामी कमजोर होइनौँ । त्यसैले विजयी मानसिकताका साथ अगाडि बढ्नोस् ।’त्यस्तै उनले गठबन्धन सरकारले गरेको ज्यादतीका कारण जनताले एमाले नेतृत्वको सरकार सम्झन थालेको स्मरण गरे ।

‘गठबन्धनका नाममा मुलुकमा जे–जस्ता ज्यादती भैरहेका छन् त्यसबाट दिक्क भएर जनताले एमाले नेतृत्वको सरकार सम्झिन थालेका छन् । गठबन्धनका गतिविधिले अहिलेको सरकार जनता र देशको हितमा छैन भन्ने प्रष्ट भएको छ,’ अध्यक्ष ओलीले भने, ‘हाम्रा निम्ति यो परीक्षा जस्तो पनि भएको छ । जनताले एमाले नेतृत्वको सरकार जनहितमा थियो भन्ने थप थाहा पाएका छन् ।’

उनले गठबन्धन सरकारले बजेट बनाउँदा सेटिङ गरेर अन्तर्राष्ट्रिय रूपमा कतै नभएको बेइमानी गर्दै राष्ट्रिय ढुकुटीमाथि डकैती गरेको बताए ।

‘व्यापारिक घरानाका प्रतिनिधि राखेर, बिचौलियाका एजेन्ट राखेर मोलमोलाइ गरेर करका दरहरू परिवर्तन गरियो,’ उनले भने, ‘एमाले नेतृत्वको सरकारले कोभिडको त्यस्तो महामारीमा पनि सबै सूचकहरू तल जान नदिएर काम गरेको थियो ।’

प्रतिक्रिया दिनुहोस
Advertisement