गठबन्धनका १० टाउके एकठाउँ भएपछि बिध्वंस मच्चिन्छ : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरुष र महिला हुनैपर्ने संवैधानिक व्यवस्था भएपनि वर्तमान गठबन्धनले त्यसलाई बेवास्ता गरेको आरोप लगाएका छन्।

आज पार्टी केन्द्रिय कार्यालय च्यासलमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनमा पुरुष र महिला मिलाउनु अनिवार्य हुनैपर्ने संवैधानिक व्यवस्था भएपनि वर्तमान गठबन्धनले त्यसलाई बेवास्ता गरेको आरोप लगाएका हुन्।

त्यस्तै उनले वर्तमान गठबन्धनलाई रावणको संज्ञा दिएका छन। उनले १० वटा टाउका एकै ठाउँमा रावणको मात्रै रहेको उल्लेख गर्दै वर्तमान १० दलीय गठबन्धनलाई रावणको रुपमा चित्रित गरे। उनले १० दलिय गठबन्धनका १० टाउका एक ठाउँ भएपछि भयंकर बिध्वंस मचिने दाबी गरे। उनले सत्ता गठबन्धनप्रति इंगित गर्दै अहिलेको रावणले फेरि महिलाका हक अधिकार हरण गर्न लागेको आरोप लगाए।

अध्यक्ष ओलीले नेकपा एमालेले उपराष्ट्रपतिको उम्मेदवारमा उठाएको उम्मेदवार पार्टीकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले जित्ने सम्भावना प्रवल रहेको बताए। उनले १० दलीय गठबन्धनले पुरुष राष्ट्रपति भइसकेपछि महिला उपराष्ट्रपति हुनैपर्ने संविधानको मर्ममाथि प्रहार गरेको आरोप समेत लगाए ।

ओलीले १० दलका नेताहरुको मानसिकता डरलाग्दो रहेको आरोप लगाए । उनले १० दलीय गठबन्धनलाई प्रतिगामी शक्तिको संज्ञा दिए । उनले अहिलेको गठबन्धन अघि जाने नभइ पछि सर्ने काम गरिरहेको बताए । उनले यसअघि संवैधानिक मुख्य पदहरुमा एक महिला र एक पुरुष हुनुपर्ने अभ्यास गरिसकेको र संविधानले पनि सोही कुरा उल्लेख गरेपनि प्रतिगामी शक्तिका कारण संविधानतः उपराष्ट्रपतिका लागि काम हुन नसकेको जिकिर गरे ।

अध्यक्ष ओलीले देशको पहिलो र दोस्रो सम्मानित पदमा एक महिला र पुरुष हुनुपर्ने कुरा उचित रहेको बताए । उनले आन्दोलनको उचाईलाई पार्टीले तल खस्न नदिने दाबी गरे।

प्रतिक्रिया दिनुहोस
Advertisement