सभामुख चयनमा विलम्ब भयौं, एमसीसीका विषयमा पछि भन्नेछु: प्रधानमन्त्री ओली (पूर्णपाठसहित)


काठमाडौं – सभामुख सर्वसम्मत ढंगले निर्वाचित हुनुभएको छ । यो खुसीको कुरा हो । राम्रो लक्षण हो । कहीँकतै विरोधको पक्ष रहेनन् । यही भावका साथ आगामी दिनमा संसद अगाडि बढ्नेछ ।

यहाँले संविधानको रक्षा र त्यसको मर्मअनुसार परिपालना र कार्यान्वयन गर्नुहुनेछ । कानुन र नियमसंगत ढंगले संसदलाई अघि बढाउने सफलता प्राप्त हुनेछ भन्ने विश्वास लिएको छु । आफ्नो तर्फबाट पूर्ण सहयोग रहने विश्वास दिलाउन चाहन्छु । सकारात्मक भूमिकामा साथ रहनेछ ।

सभामुख महोदय, हामी एउटा राजनीतिक आन्दोलनको चरण पार गरेर यस विन्दूमा आइपुगेका छौं । जहाँ हामीले देशलाई कसरी अगाडि बढाउने ? आजको प्राथमिकता के हुन् ? हाम्रा विचार र काम के मा केन्द्रीत गनुपर्छ भन्ने विचार गरेर अघि बढेनुपर्ने अवस्था छ ।

हाम्रो समाजको चरित्र मेलमिलाप ढंगले अघि बढ्नेछ । हामीले लोकतान्त्रिक प्रणाली स्थापित गरिसक्यो । सार्वभौम जनता सवै निर्णयका अन्तिम शक्ति हुन् । हामीले प्रणाली मात्रै होइन, प्रक्रिया पनि लोकतान्त्रिक अवलम्बन गरेका छौं । जनताको सार्वभौम सत्ता संवैधिानक हिसाबले, व्यवहारिक ढंगले निर्वाचन गराएर र संरचना बनाएर बलियो बनाएका छौं ।

संविधान कार्यान्वयनका संरचना बनाउने कुरामा हामीले बाटो तय गरिसकेका छौं । सुशासन र विकासका प्रश्नमा विचार केन्द्रीत गरेर अघि बढ्न जरुरी छ ।

विभिन्न दल छौं । बहुदल प्रणाली हामीले रोज्यौं । हामीले छानेको, रोजेको र स्वीकारेको बहुमतीय र बहुदलीय प्रणाली छ। यसमा स्वभाविक केही फरक मत हुन सक्छन् । तर, स्वस्थ प्रतिष्पर्धाबाट अघि जानेछौं ।

हिजो लोकतन्त्रको लडाइँमा साथसाथै अघि बढेका थियौं । हाम्रा तरिका र बाटा अलि फरक भएपनि गन्तब्य एउटै थियो । त्यसैले विभिन्न ठूला असहमतिको बाबजुद सहमतिमा पुगेका छौं र आज यस ठाउँमा छौं ।

हाम्रो समाजको चरित्र अलि त्यस्तै छ । हामी संघर्ष गर्दा पनि संघर्षबाट अन्तिममा सहमतिमा पुग्छौं । हाम्रो संघर्षको र संघर्षको उपलब्धिको टुंगो लगाउने विधी यही हो ।

२००७ सालमा संघर्ष भयो । सहमतिमा टुंगियो । जसकाविरुद्ध आन्दोलन गरिएको थियो, उनीहरुलाई नै प्रधानमन्त्री बनाइयो । जुन राजा भागे तिनलाई ल्याएर गद्दीमा आसन गरियो ।

जहाँ सहमति भयो, सहमतिसहित अघि बढियो । त्यहाँ ठूला सफलता प्राप्त भएका छन् । आन्दोलनमा वा संघर्षमा जहाँ एकताबद्ध भएनौं । त्यहाँ असफता र पीडा भाको छौं । विभिन्न प्रतिगामी कदम त्यतिबेला भएका छन् । जतिबेला एकताबद्ध भएनौं । निर्दलीय व्यवस्था त्यतिबेलासम्म चल्यो, जहाँसम्म हामी एकताबद्ध भएनौं ।

एकताबद्ध भएरै हामीले संविधान जारी गर्न सकेका हौं । एकताबद्ध नभएको भए, संविधापछि निर्वाचन सम्भव हुने थिएन । यिनले एकताबद्ध भइ अघि बढ्न शिक्षा दिएको छ ।

अब हाम्रा एजेन्डा र विषयलाई सुशासन र विकासतर्फ केन्द्रीत गर्न जरुरी छ । आजको समय आइडोलोजिकल आग्रहमा अडिने र तिनले सत्य भन्दा माथि ठान्ने प्रवृत्तिबाट बाहिर आउनुपर्छ । आफ्नो संलग्नतालाई महत्वपूर्ण ठान्ने र सत्यलाई कम महत्व दिने हामीसँग समय छैन ।

दुनियाँ तीव्र गतिमा अघि बढेको छ । विकास, विज्ञान प्रविधि, भौतिक पूर्वाधार र कनेक्टिभिटीमा दुनियाँलाई पक्डिन सकेनौं भने समयले हामीलाई पर्खिदैन । सबै माननीयज्यूमा मेरो आग्रह छ, त्यस गतिलाई समाउन सकौं ।

त्यस कामको नेतृत्व अहिलेको सरकारले गर्छ । हामीले लडेर ल्याएको प्रणाली, त्यस प्रणाली अनुकूलको संविधान, संविधानअनुकूलका कानुन ल्याउन सरकार प्रतिबद्ध छ । हामी यतिबेला स–साना कुरामा अल्झिने र आग्रहमा अल्झिने समय छैन । अनावश्यक बहसमा अल्झिने गर्नु उपयुक्त हुँदैन ।

केही दिनपछि मैले आजको राजनीतिक अवस्था विभिन्न चर्चामा रहेका समसामयिक सान्दर्भिक विषय र हामीले गर्नुपर्ने काम र तत्सम्बन्धमा नेपाल सरकारको दृष्टिकोण आफ्नो छुट्टै समय लिएर राख्नेछु ।

विलम्ब भइसकेका छौं हामी । सभामुख चयनमा विलम्ब भयौं । अव विलम्ब गर्नुहुँदैन । हाम्रा कामलाई संसद र सरकारले तीव्र गतिमा अघि बढाउन जरुरी छ । नत्र वास्तवममै पछाडि पर्छाैं । अरु विषयमा म पछि भन्नेछु ।

हामीले यतिबेला हाम्रो अगाडि थुप्रै विधेयक पारित गरेर निर्माण गर्नुपर्नेछ । प्रस्ताव पारित गर्नुपर्नेछ । हामीले धेरै अघिदेखि बढ्दै आएको र विभिन्न चरण पार गर्दै आएको एमसीसी पारित गर्नुपर्नेछ । यस्ता अनेक विषय हाम्रा अघि छन् । जसका विषयमा सविस्तार पछि भन्नेछु । सबै माननीयज्युलाई स्वागत गर्न चाहन्छु ।

नेपाल भ्रमण वर्षको रुपमा अघि सारेका छौं । सुरुमै केही धक्का संकेतहरु प्राविधिक हिसाबले देखा परको छन् । जसलाई सावधानीपूर्वक सामना गर्नुपर्नेछ । सरकार त्यसको तयारीमा लागेको छ । यस अधिवेशनलाई अलिकति समय खेर गएको भए पनि अब खेर जान नदिएर हाम्रा अघि जुन काम छन्, सहज ढंगले अघि बढाउनुपर्नेछ । यस काममका सभामुखको सफल नेतृत्व हुनेछ भन्ने विश्वास लिएको छु ।

(प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा सम्बोधन गरेको पूर्णपाठ)

प्रतिक्रिया दिनुहोस
Advertisement