एमालेले सुरु गरेको विकास गठबन्धन सरकार बनेपछि समाप्त भयो : अध्यक्ष ओली


अछाम – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले पार्टीबाहेक अन्य पार्टीबाट मुलुकमा विकास र समृद्धि सम्भव नभएको बताएका छन् ।

मध्यपहाडी लोकमार्ग संकल्प यात्राको क्रममा अछाम सदरमुकामको मंगलसेनमा आयोजित जनसभामा ओलीले अन्य पार्टीले बितण्डा मात्रै मच्चाएको तर विकास नगरेको बताए ।

‘अब देख्नुभएन सबै पार्टीको हबिगत ?’ ओलीले भने, ‘बितण्डा मच्चाउन सजिलो होला विकास गर्न गाह्रो छ ।’

अध्यक्ष ओलीले आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरी खटिन नेता–कार्यकर्तालाई निर्देशन दिए । ‘ढिलोमा २०८४ सालको निर्वाचमा एमाले एक्लैले बहुमत नल्याए देश बर्बाद हुन्छ । एमालेको बहुमत ल्याउने गरी लाग्नुहोस्,’ उनले भने, ‘नेकपा एमालेबाहेक अरू कसैले देशको विकास गर्न सक्दैन ।’

पहिले १ वर्षमा १० किलोमिटर सडक कालोपत्रे भइरहेको भन्दै ओलीले आफ्नो कार्यकालमा दैनिक ६ किलोमिटर सडक कालोपत्रे भएको दाबी गरे ।

‘हरेक तहमा ५१ प्रतिशतभन्दा बढी एमालेको एक्लै हुनुपर्छ, एमालेले बहुमत ल्यायो भने राष्ट्रियता जोगिन्छ,’ ओलीले भने, ‘विकास ठप्प भएको छ । नेकपा एमालेले जुन विकास सुरु गरेको थियो, आज समाप्त भएको छ ।’

पछिल्लो समय देशमा अराजकता मच्चिरहेको उनले बताए । नभएको राजतन्त्रको नाममा त्यस्ता तत्वहरू पनि टाउको उठाउन खोजेको ओलीको आरोप छ ।

अछाममा उभिएर ओलीले सुदूरपश्चिम प्रदेशको महत्त्व निकै ठूलो भएको बताए । पहिलो सहिद बाकावीर, किसान आन्दोलनमा रहेर सहिद भएका भीमदत्त पन्त लगायत थुप्रैको प्रशंसा गरेका छन् ।

अध्यक्ष ओलीले मध्य पहाडी लोकमार्ग संकल्प यात्रा विकास र समृद्धिका लागि प्रारम्भ गरिएको बताए । आफ्नो पालामा चुच्चे नक्सा जारी गरेको भन्दै ओलीले अहिलेको सरकारले कुरा गर्न पनि नसकेको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement