संविधान संशोधन अग्रगमनका लागि हुन्छ :  प्रधानमन्त्री

संविधान संशोधन अग्रगमनका लागि हुन्छ :  प्रधानमन्त्री

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका लागि लडेर आएका नेपाली कांग्रेस र एमालेसहितको वर्तमान सत्ता समीकरणले अग्रमगनका लागि संविधान संशोधन गर्ने बताएका छन् ।

एमालेमा हालै मनोनीत उपाध्यक्ष र केन्द्रीय सदस्यहरूको सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधान संशोधन गरेर प्रतिगमन ल्याउन खोजेको भन्ने भ्रम फैलाउने कोसिस भएको बताए । एमाले पार्टीको केन्द्रीय कार्यालय, च्यासलमा आयोजित  कार्यक्रममा ओलीले मुलुक र जनताको आवश्यकता बमोजिम संविधान संशोधनीय दस्तावेज भएको बताए ।

‘लोकतन्त्रलाई सुदृढ बनाउन, संविधानप्रतिको ग्राह्यता र स्वीकार्यता बढाउन, विकास र समृद्धिका थप आधार पहिल्याउन र जनतासँग एकाकार हुन संविधान संशोधन गर्ने हो,’ प्रधानमन्त्री ओलीले भने, ‘संविधान कुनै धार्मिक ग्रन्थजस्तो असंशोधनीय विषय होइन । हामीले कुलै लहडका भरमा संविधान संशोधनको कुरा गरेका होइनौँ । मानवकेन्द्रित मुद्धालाई ध्यानमा राखेर हामी संविधान संशोधनको सोचमा छौँ ।’’

प्रधानमन्त्री ओलीले राजनीति स्वच्छ प्रतिस्पर्धाका आधारमा जनतका लागि हुनुुपर्ने र एमालेका नेता कार्यकर्ताले जनताप्रति नरम र जवाफदेही भएर काम गर्नुपर्नेमा जोड दिए । उनले वैचारिक र सांगठनिकरुपमा मुलुकको नेतृत्व गर्ने हकदार पार्टी पनि एमाले नै भएको बताए ।