अमेरिका सुपर पावर हाे, अब तर्कले काम गर्दैन !


-केपी शर्मा अ‍ोली, प्रधानमन्त्री

काठमाडौं –  तपाईंहरुले आज यहाँ थुप्रै महत्वपूर्ण विषयहरु उठाउनु भएको छ । हरेक विषयहरुमा जानुभन्दा अगाडि मेरो आमन्त्रणलाई स्वीकारेर आउनु भयो र खुलस्त विचार राख्नु भयो । यसका लागि सबैभन्दा पहिले म हार्दिक धन्यवाद भन्न चाहन्छु ।

एउटा कुरा के देखियो भने अलिअलि अतिशयोक्तिपूर्ण ढंगले भन्नुभएछ भन्ने जसरी खुला कुरा राख्नुभयो, एकदम ‘फ्रिली’ राख्नुभयो । यसर्थ कि यहाँ कुनै बारबन्देज छैन, कुनै अप्ठ्यारो, असहज केही पनि छैन । अथवा हामी एउटा स्वतन्त्र समाजमा छौं । हामी स्वतन्त्र समाजमा बाँचिरहेका छौं र स्वतन्त्र समाजमा बाँच्छौं भन्ने तपाईंहरुको बोलाइ र अभिव्यक्तिबाट पुष्टि भएको छ । यो हाम्रो समाजमा स्वतन्त्रतामा त्यस्तो केही खतरा छैन भन्ने व्यवहारिक संपुष्टि हो ।

पहिलो कुरा त प्रेस स्वतन्त्रताको सम्बन्धमा र मिडियाको स्वतन्त्रताको सम्बन्धमा म सरकारको तर्फबाट तपाईंहरुलाई पूर्ण रुपमा आश्वस्त हुन आग्रह गर्दछु । प्रेस स्वतन्त्रतामा कुनै प्रकारको वा किञ्चित पनि बन्देज हुँदैन । र, प्रेस स्वतन्त्रतालाई सीमित गर्ने वा प्रेस स्वतन्त्रताका हकहरु, कुनै पनि प्रकारका प्रकाशन र मुभमेन्ट आदि स्वतन्त्रताका हकहरु कुनै पनि कुण्ठित गरिंदैन ।

म आफैं ५५ वर्ष स्वतन्त्रताको निम्ति लडेको छु, मानवअधिकारको निम्ति लडेको छु । मानवअधिकार र स्वतन्त्रताको अभाव कस्तो हुन्छ ? त्यो साथीहरुले अलि बढी देख्नुभएको छ, तर थोरै भोग्नु भएको छ । भोगेको छु । मानवअधिकारको अभाव कस्तो हुन्छ ? मैले आफैं धेरै त्यो भोगेको छु । त्यसकारण म साथीहरुलाई फेरि पनि भन्न चाहन्छु, यसमा तपाईंहरुले आशंकित हुनुपर्ने वा चिन्ता लिनुपर्ने अवस्था होइन र छैन । कुनै हिसाबले कुनै कुरामा छलफलको क्रममा गलत गएको छ भने त्यसलाई सच्याउन नसकिने कुरा छैन । कुनै कुरा यदि त्रुटिपूर्ण भएको छ भने पूर्ण स्वतन्त्रता हुन्छ र मिडियाको स्वतन्त्रता अनवरत हुन्छ ।

एउटा कुरा के भने कहीँ केही कानून, केही केही रेष्टिक्सन्का कुराहरु सभ्य समाजका निम्ति आवश्यक पर्ने या राख्नुपर्ने हुन्छ । हामी सभ्य समाज निर्माण गर्न चाहन्छौं । मैले आफ्नो स्वतन्त्रताको प्रयोग गर्दा अर्को व्यक्तिको स्वतन्त्रता हनन् हुनु भएन । मैले आफ्नो सम्मानको कुरा गर्दा अर्कोलाई अपमान गरिरहनु भएन । मैले आफ्नो अधिकारको कुरा गर्दा अर्काको अधिकारको अपहेलना वा त्यसको उल्लंघन गर्नु भएन । यी कुराहरुप्रति हाम्रो सजगता आवश्यक छ ।

योे चाहिँ प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने विषय होइन । प्रामाणिक र जिम्मेवार ढंगले एउटा सभ्य एवं सुसंस्कृत प्रस्तुति होस् भन्ने आकाङ्क्षा हो । कसैको वैयक्तिक जीवन, कसैको पारिवारिक जीवन र कसैको कारोबारमा अनुचित ढंगले क्षति पु¥याउने हिसाबले कुरा भयो भने के गर्ने ? मान्छेमा राम्रै मात्र मनसाय हुन्छ भन्न त सकिंदैन, नराम्रो मनसाय पनि कसैको हुन सक्ला । त्यस्तो भयो भने के गर्ने त ? कसैले कसैको पारिवारिक स्थितिलाई डामाडोल पार्नेगरी कुरा गर्‍यो, कसैले कसैको विजनेस डामाडोल पार्नेगरी झुटो सम्प्रेषण ग¥यो भने त्यसका निम्ति सच्याउने बाटो होला अथवा त्यसलाई त्यस्तो नगर्नु भनेर रोक्नुपर्ने अवस्था होला । हामीसँग बाटोमा हिंड्ने भन्ने अधिकार त छ । तर बाटोमा कसरी हिंड्ने भन्ने कुरा त हुन्छ नि, एउटा सभ्यता त हामीसँग चाहियो नि !

एउटा विकसित देश र अर्को विकसित देशलाई हेर्दा एउटा विकाससँगै सभ्यतामा गर्व गर्छ, अर्को विकासमा मात्रै गर्व गर्छ । म देशको नाम नलिऊँ, तर एउटामा शालीनता र विनम्रता छ । कुरा गर्दाखेरि यसो झुकेर कुरा गर्छ, अर्कोमा त्यो खालको केही पनि हुँदैन । एउटामा सामाजिक मूल्यहरु माथि हुुन्छन्, अर्काेमा सामाजिक मूल्यहरु कम हुन्छन् । हामीले एउटा सभ्य समाज सिर्जना गर्न खोजेका हौं ।

हामीले नेपाललाई समृद्ध मात्र बनाउन खोजेका होइनौं । हामीले सभ्य, मानवीय, मानवतायुक्त, मानवीय भावनायुक्त र पारस्परिक सहयोगात्मक सम्बन्ध भएको त्यस्तो समाज निर्माण गर्न खोजेका हौं । त्यतातर्फ हामी सबैका प्रयासहरु केन्द्रित हुनुपर्छ । यसमा प्रेस स्वतन्त्रता जस्तो कुरालाई कुण्ठित गरिएको या गर्न खोजेको भन्ने कुरा होइन । यसलाई प्रेस स्वतन्त्रताको संकुचनसँग जोड्ने अथवा यसलाई अझ लगेर स्वतन्त्रताका हकहरुको संकुचन अथवा लोकतन्त्रको प्रश्नसँग लगेर जोड्नु हुँदैन ।

अघि गुणराज लुईँटेलजीले भन्नुभयो, हामी त वैशाख ११ गते राती शाही घोषणा भएपछि सडकमा निस्किएका थियौं…। के अहिलेको अवस्था त्यस्तै हो त ? मान्छेले रिस उठ्दा के गर्छ भने कहिलेकहिले यस्तो अतिशयोक्ति साहित्यमा हुन्छ । यसो भनाभन पर्छ, तँलाई मार्दिन्छु भन्छ । तर त्यो साँचो भनेको चाहिँ होइन । साँच्चै हो भने त मार्दिउँला भनेको धेरै सिरियस कुरा हो नि ! अब म तँलाई मार्दिन्छु भन्छ । त्यो त्यति साँचासाँचै भनेको हुँदैन । अलिक झोंक चलेको बेलामा कहिलेकहिले पत्रकारहरुले त्यस्तै गरिदिनुहुन्छ । गुणराजजीको अभिव्यक्ति मलाई त्यस्तै त्यस्तै लाग्यो ।

गुणराजजी, अहिले देश त्यहाँ पुग्यो र ? के हामी साँच्चै त्यहीँ छौं त ? के हामी थ्यसरी निस्कने बेला भयो त ? अथवा त्यस्तै बन्द समाज छ त ? हामी त्यस्तै कफ्र्यू र त्यस्तै तानाशाहीमा बाँचेका छौं ? यो साँचो हो र ? नेपाल पहिले कहिल्यैभन्दा शान्ति सुव्यवस्थाको राम्रो स्थितिमा छ । यो त साँचो हो नि ! कमसेकम समाजमा तपाईंहरुले देख्नु भएको छ नि !

यद्यपि विप्लव नामकोे एउटा समूह पैसा लुट्नको लागि पोलिटिक्सका नाममा आंतक मच्चाएर हिंड्छ । म तपाईंहरुलाई आग्रह गर्न चाहन्छु– लेख्न तपाईंहरु स्वतन्त्र हुनुहुन्छ, तर मान्छेको ज्यान मारेर, विध्वंस र आंतक मच्चाएर, आंतककारी क्रियाकलाप गरेर पैसा असुल्ने जस्ता क्रियाकलापलाई बढावा दिने काम कृपया नगरौं । किनभने, यो हामी सबैका लागि हानीकारक कुरा हो ।

नेपालमा अब कुन व्यवस्थाका लागि रिभोल्युशन भनेको ? कस्तो व्यवस्थाको लागि रिभोल्युशन ? त्यसकारण यो रिभोल्युशनको कुरा होइन, अर्थ संकलनको कुरा हो ।

अर्थ संकलनको यस्तो विधि सभ्य समाजलाई स्वीकार्य र मान्य हुँदैन । स्वीकार्न सकिदैँन । त्यसकारण सरकारको तर्फबाट हामीले यो कुरा प्रस्ट भनेका छौं ।

हामीले त्यसलाई नियन्त्रण गरेका छौं । यद्यपि बम बन्दुकसमेत समातेर ल्यायो, छुट्छन् । हाम्रो समाजमा अनेक पक्षहरु छन् । बम बन्दुकसमेत ल्याएका मान्छेहरु छुटिराखेका छन् ! यस्तोमा हामी अझ गम्भीर हुनुपर्ने हो भन्ने मलाई लाग्छ ।

सिंगो सामाजिक बनावट, सामाजिक मानसिकता, राज्यका सबै अंगहरु समाजका सबै अंगहरु, राज्यका मात्रै अंगको कुरा होइन, यसमा राज्यका मात्रै अंगले यी चिजहरु गर्ने त होइन । यस्ता कुराहरुमा समाजका सबै अवयवहरुले कस्तो तरिका अपनाउने भन्ने कुरामा देश र समाजका सबै अवयवहरुको एउटा साझा दृष्टिकोण र साझा प्रयास हुन जरुरी छ । अनि मात्रै हामी कस्तो समाज निर्माण गर्ने भन्ने कुरा गर्न सक्छौं ।

जहाँसम्म सरकार असहिष्णु छ भन्ने छ, सरकार त असहिष्णु होेइन र छैन । त्यस्तो हुनै सक्दैन । कहिलेकहिले म पनि भन्छु– तपाईंहरु कति साह्रो असहिष्णु ? मैले तपाईंहरुलाई केही पनि भन्नै नपाउने ? ए बाबा ! तपाईँहरु अरुलाई सहिष्णु हुनपर्छ, सुन्नुपर्छ, सुन्नै नसक्ने भन्ने ? मैलेचाहिँ तपाईंहरुसँग राम्रा कुराको प्रशंसा गर्ने मुटु छैन भन्दाखेरि उत्पात मच्चाउँने ! फेरि किन तपाईँहरुमा त्यस्तो असहिष्णुता छ ? अलिअलि त तपाईंहरु पनि कहिलेकहिलेसहिष्णु हुनुहोस् न !

आफूचाहिँ एउटा त्यो गीत गाउँछ नि– ‘केही भन्न हुन्न गाँठे घरै पार्छन् आगो’ जस्तो ! तपाईंहरुलाई चाहिँ केही भन्नै नहुँने ? अनि तपाईंहरुले जे पनि लेख्न हुने, छाप्न हुने, व्यङ्ग्य चित्र बनाउन हुने, कविता कोर्न हुने, लेख लेख्न हुने, जे पनि छाप्न हुने ? हामीले ‘होइन अति नै पो गरे हो साथीहरुले’ भन्यो भने लौ यो त असहिष्णु भयो भनेर फेरि आलोचना गर्ने ? अलिअलि त हामीले पनि यसो भन्न पाउनु पर्छ नि ! हाम्रो पनि थोरै वाक् स्वतन्त्रता त होला ! त्यसको पनि त संरक्षण गरिदनुहोस् । त्यसोचाहिँ गर्नै नमिल्ने हो र ? हामीले यसो भनिरहँदा सरकार असहिष्णु छैन, हुनै सक्दैन ।

हामी आफ्नो जीवनको सानोतिनो मूल्य तिरेर यहाँसम्म आइपुगेका छैनौं । हामी सबैलाई थाहा छ, स्वतन्त्रताका हकहरु भएको यो प्रणाली खेर जान सक्दैन । पे्रस स्वतन्त्रता पनि खेर जान सक्दैन । कुनै पनि अधिकारहरु खेर जान सक्दैनन् । सबैलाई थाहा छ– सरकारले चाह्यो भने पनि जान सक्दैनन् । यो त सिंगो समाजको मनोदशाको कुरा हो । यसलाई समाजले वरण गरेको छ । अर्को, अहिलेको सरकार त आन्दोलनको उपज हो । नेपाली समाज बलिदानीपूर्ण संघर्षको एउटा निष्कर्षबाट यहाँ आइपुगेको हो, त्यसको भाव पैदा भएको हो । हामीले जुन अभ्यास गर्‍यौं, लोकतन्त्रका निम्तिको अभ्यास, त्यसैको सिलसिलामा यो सरकार उत्पन्न भएको हो ।

सबैभन्दा पछिल्लो पटक जनताले गरेको विश्वासको अभिव्यक्ति यो सरकार हो । जनताले विभिन्न समयमा विभिन्न विश्वास गरेका होलान्, तर पछिल्लो विश्वास अहिलेको सरकार हो । त्यसकारण यो सरकार जनताप्रति उत्तरदायी छ । इतिहासलाई यसले सम्मान गर्छ, मैले ‘रिपिटेड्ली’ भन्ने गरेको छु, इतिहासलाई सम्मान गर्ने र जनताप्रति उत्तरदायी हुने कुरालाई हामीले वरण गरेका छौं । र, हामी हाम्रो काँधका अभिभाराहरु बुझ्छौं ।

हामी दिन गुजारौं भन्नका निम्ति सरकारमा रहेको होइन । हुन्छ नि, सरकारमा आइयो, अब दिन गुजार्नुपर्छ भन्ने खालको यो सरकार होइन । यसको काँधमा परिवर्तन पछिको एउटा ठूलो संक्रमणलाई टुङ्ग्याएर अगाडि बढ्ने जिम्मेवारी छ । त्यसको एउटा खास जंचर(चरण)मा हामी छौं । यसले देशमा सिस्टम बसाउनु छ, यसले देशलाई अगाडि बढाउनु छ, यसले जनतामा विश्वास बढाउनु छ र जनताको मनोवल जगाउनु छ । हामी देश बनाउन सक्छौं, हामी यो यो देश बनाउने काम गर्न सक्छौं भन्ने कुरा स्थापित गर्नु छ ।

साथीहरुसँग मेरो आग्रह छ, सम्पादकज्यूहरुसँग मेरो आग्रह छ, जनता निराश भयो भने देश बर्वाद हुन्छ । सबैभन्दा खतरनाक कुरा जनतामा निराशा आउनु हुन्छ । त्यसकारण जनता निराश हुनेगरी हामी कोही प्रस्तुत नहोऔं र जनतालाई निराश हुन नदिऔं । जनतामा आशावादिता जगाऔं । जनतामा आत्मविश्वास जगाऔं, जसबाट देश बन्न सक्छ । हामी देश बनाउन सक्छौं । आत्मविश्वासका साथ जनता जब निर्माणमा जुट्छ, तब कुनै पनि देश बन्ने हो । आत्मविश्वास कम भयो भने, मनोबल टुट्यो भने देश विकास हुन सक्दैन र देश अघि बढ्दैन ।

यस्तो अवस्थामा कहिलेकहिले देशको अस्तित्व पनि रहदैन । जनताको आत्मविश्वास र मनोबल–यी सबै कुराहरुमा निर्भर रहेको हुन्छ कि हामी गर्न सक्छौं भन्ने भावना चाहिन्छ । यथार्थमा हामी सक्छौं पनि । हाम्रो प्रकृतिले, हाम्रो इतिहासले, हाम्रो डेमोग्राफिक डिभिड्यन्टले यो संकेत पनि गरेको छ । अहिले जनताले एउटा विश्वास गरेर हामीलाई झण्डै दुईतिहाइको सरकार दिएको स्थिति छ । यसले स्थिरता आएको छ । यसले मौका दिएको छ । हामी अरु अरु तीन वर्ष काम गर्न पाउँछौं । यस्तो अवस्था नभएको भए अहिले हामीसँग काम गर्ने समय नै हुँदैनथ्यो । अघिल्लोपल्ट म पनि ८–९ महिनामा सरकारबाट काम नगरेर होइन, काम गर्दागर्दै गएको हो । ।

राम्रो काम गरेका कारण गएको हो । हिजो अवस्था त्यो थियो भने अहिले त त्यस्तो छैन । अहिले स्थायित्वको स्थिति छ र हामीसँग अपच्र्यूनिटी छ । यस्तो अवस्थामा मैले कमसेकम बुझेको छु कि अवस्था कस्तो छ र हाम्रो काँधका अभिभाराहरु के छन् ? च्यालेन्जहरुलाई पनि मैले बुझेको छु । हो, च्यालेन्ज थुप्रै प्रकारका छन् ।

सरकारको सम्बन्धमा तपाईंहरुले इन्डिकेट गर्नुभएको छ, खासगरी सरकारको बनावट, सरकारको काम, पार्टीको काम र विभिन्न नियुक्तिहरुआदि इत्यादिको सम्बन्धमा औल्याउनु भएको छ । म यहाँहरुलाई भन्न चाहन्छु– दुईतिहाइको सरकार छ, दुईतिहाइको सरकारको प्रधानमन्त्री म छु, म त्यस पार्टीको अध्यक्ष पनि हुँ । फेरि पनि मैले कुनै काम गर्नुभन्दा अगाडि तपाईंहरुलाई एकपटक सम्झिनु पर्छ, कुनै निर्णय गर्नुभन्दा अगाडि मैले तपाईंहरुलाई मात्रै सम्झिएर पुग्दैन, प्रतिपक्ष पनि छ भन्ने सम्झिनु पर्छ । संविधानसँग अझै असहमत पक्षहरु पनि छन्, तिनलाई पनि सम्झिनु पर्छ । विभिन्न प्रकारका नारा र उद्देश्य बोकेका शक्तिहरु पनि छन्, तिनलाई पनि सम्झिनु पर्छ । तपाईंहरुलाई थाहा छ नि, छत ढलान गर्दा सिमेन्टको गिटी बालुवा सबै गरेर ढलान गरिन्छ । अनि त्यो पक्की हुन्छ । ढलान गरिसकेपछि तल काठका टेकाहरु जोडिराखिएको हुन्छ । तर ढलानको २१ दिनसम्म पनि ती टेको लगाइएका खुट्टा निकालिदैंन । किनभने त्यो राम्रो जमेको हुँदैन !

हामीले ल्याएको डेमोक्रेसी, हामीले ल्याएको संघीयता र हामीले ल्याएको गणतन्त्रको खुट्टा निकाल्ने वा टेको निकाल्ने बेला भइसकेको छ कि छैन ? अनेक पक्षहरु छन्, अझै कलिलापनहरु छन् । भर्खरै पार्टी एकीकरण भएको छ । त्यसको पनि टेको निकाल्ने बेला भएको छैन । यी सबै पक्षहरु छन् । यो तपाईंहरुले इन्डिकेट गरेको कुरा ठीक हो । मैले यी थुप्रै कुराहरुसँग कम्प्रमाइज गर्नुपर्छ ।

अर्को व्यूरोक्रेसी छ, ब्यूरोक्रेसीमा पुरानै छन् । दुई वर्ष अगाडिको अवस्थाबाट पार्टी सरकारमा आयो । बाँकी सबै कुरा त यथावत नै छँदैथियो । यो हाम्रो परिवर्तनको ढाँचा भनेको अलिकति स्ट्रगल गर्‍यो, जनताले दबाब दियो, परिवर्तन गर्‍यो, कम्प्रमाइज गर्‍यो र कम्प्रमाइको बाटोबाट अगाडि बढ्यो । सधैँ यही ढाँचा छ । मैले भन्ने गर्छुृ नि, राणा शासनका विरुद्ध २००७ सालमा आन्दोलन भयो । राणा शासन ढालियोे, तर राणा प्र्रधानमन्त्रीको नेतृत्वमा नै सरकार बनाइयो । राणा शासन फालेर गरियो के भन्दा राणा प्रधानमन्त्रीको नेतृत्वमा सरकार बनाइयो !

आन्दोलनकारी कांग्रेस सरकारमा सहभागी भयो, भागेका राजालाई फर्काएर ल्याई फेरि स्थापित गरियो । त्यो कम्प्रमाइजिङ् टर्ममा राजनीति गयो । पछि २०४६ सालमा के भयो ? राजाले आइन्दा संवैधानिक भएर बस्छु भने । फेरि कम्प्रमाइज भयो र दलीय व्यवस्था कायम भयो । २०६२÷०६३ को आन्दोलनमा के भयो ? राजाले बैशाख ११ गते जनताको नासो फिर्ता गरेँ भन्ने वक्तव्य दिए, हामीले सम्झौता गर्‍यौं । र, पुनःस्थापित संसद्ले राजाका अधिकारहरु खोसेर अब राजाका काम, कर्तव्य र अधिकार प्रधानमन्त्रीले नै प्रयोग गर्ने भ्न्ने भयो ।

त्यसपछि वस्तुतः राजतन्त्र समाप्त भयो । पुनःस्थापित संसद्ले नै राजतन्त्र समाप्त पारिदियो । अझ त्यसभन्दा अगाडि वस्तुतः दरबार हत्याकाण्डबाटै राजतन्त्र सिद्धिएकोे थियो, तर त्यतिबेला जनताको स्ट्रेन्थ पुगेन, जनताको रिपब्लिक घोषणा गर्ने काम हुन सकेन । स्ट्रेन्थ नपुगेपछि फेरि खोजखाज गरेर राजतन्त्र ल्याई राखियो ।

वास्तवमा त्यो खोजेको राजतन्त्र हो । पछि त्यसलाई पुनःस्थापित संसद्ले अन्त्य गर्‍यो र त्यसको विधिवत् अन्त्यचाहिँ संविधानसभाले गर्‍यो । यो क्रम कम्प्रमाइजिङ् बाटोबाटै गयो । यसरी हाम्रो समाज कम्प्रमाइजिङ् एटिट्यूडका साथ जाने गरेको छ । कम्प्रोमाइजका साथ जाने, कम्प्रमाइजिङ्बाट जाने हाम्रो सामाजिक एटिच्यूड रहेको स्पष्ट छ ।

अहिलेको सरकारले धेरै कुराहरुमा कम्प्रमाइज पनि गरेको छ । अन्तर्रा्ष्ट्रिय स्थितिलाई हेरेर, भूराजनीतिको कुरा साथीहरुले गर्नुभयो, हामीले अत्यन्त सफलतापूर्वक, अत्यन्त ब्यालेन्स्ड गरेर आफ्नो पोलिसीलाई अगाडि बढाएका छौं र सफलतापूर्वक अगाडि बढेका छौं । डेमोक्रेसीलाई हामीले अत्यन्तै व्यालेन्स् गरेर अगाडि बढाएका छौं । यो नयाँ प्रणाली जो स्थापना भएको छ, संघीय लोकतान्त्रिक गणतन्त्र, यो प्रणाली आफैमा नयाँ छ । यस प्रणालीमा पनि खिचातानी हुन्छ । यसमाथि यसको पृष्ठभूमिमा के के भएर आएको थियो ? हामी इतिहासलाई सम्झिऔं । हामीले जातका कुरा गरेनौं कि ? भूगोलका कुरा गरेनौं कि ? केका कुरा गरेनौं ? यी सबै पृष्ठभूमिबाट आएर अहिले सानोतिनो प्र्रयासले यसलाई शान्तिपूर्ण र सन्तुलित ढंगले अगाडि बढाउन सजिलो कुरा छैन । हामीले सफलताका साथ यसको म्यानेज गरेका छौं ।

संविधान कार्यान्वयनको कुरा तपाईंहरुलाई थाहा छ । चुनावपछि म आउँदा कुनै पनि कानून बनेको थिएन । सन् २०१५ मा संविधान जारी भयो, तर २०१८ को फेब्रुअरीसम्म कुनै पनि कानून बनेका थिएनन् । कानुन बनाउन र कार्यान्वयन गर्न त फेरि एकैचोटी सन् २०१५ बाटै थाल्नु पर्‍यो । जबकि त्यसै वर्षको सेप्टेम्वर २० भित्र यति कानून बनाइसक्नु पर्ने, मौलिक हक कार्यान्वयनसम्बन्धी कानून बनाइसक्नु पर्नेजस्ता कुराहरु थिए । त्यसो भएको हुनाले यो अत्यन्तै च्यालेन्जिङ् स्थिति थियो ।

मैले सकेसम्म हेरेर र सकेसम्म त्रुटिरहित गर्न खोजेको हुँ । तर यति धेरै कानून संविधान कार्यान्वयनका लागि बनाउनु पर्दथ्यो, जसमा फिनिसिङ् टचको कुरा होइन कि त्यसभन्दा अगाडिको मस्यौदा पनि हेर्न नभ्याइने अवस्था थियो । किनभने त्यसो गर्नै पर्दथ्यो । त्यसैले यसमा तपाईंहरुले भनेजस्तै एकदमै परिपक्वताका साथ, व्यापक छलफल र अन्तक्र्रिया गरेर हेर्न गर्न भ्याइएकोे स्थिति होइन ।

अहिले पनि हामीले कतिवटा नमूना कानून बनाएर पठाउनु परेको छ । संघीयताको नयाँ प्रयोग चलिरहेको बेला थियो, बसिसकेको सिस्टमको अवस्थामा रन गर्ने कुरा थिएन । हरेक कुरा नयाँ आयो । हरेक कुरा नयाँ गर्नु पर्‍यो । त्यसले गर्दा धेरै कामको चापको बीचमा कानुनहरु बनाउनु पर्‍यो । अर्काेतिर हामीले कानून बनाउँदछौं भनेर मात्र हुदैनथ्यो, विकास निर्माणको काम पनि गर्नुपर्दथ्यो ।

अहिलेका लागि मात्रै होइन, ६ महिनाका लागि मात्रै होइन, एकछिनका लागि केही वाहवाही पाउनभन्दा दीर्घकालीन योजनाहरु अघि सारेर र प्लानिङ गरेर गर्नु पर्दथ्यो । विकास निर्माणका काम पनि तत्काल पपुलर हुनभन्दा अलिक दीर्घकालका लागि कसरी जाने भन्ने कुरा नै मुख्य हुनै नै भए । यसरी हामी दीर्घकालीन काममा छौं, जस्तै कनेक्टिभिटीको कुरा रहेको छ । र, हामी त्यतापट्टि क्रियाशील रहेका छौं ।

हामी वास्तवमा थुप्रै कुरामा नयाँ युगमा प्रवेश गरेका छौं । हामी टनेल एरामा प्रवेश गरेका छौं । एउटा टनेल शिलान्यास गर्‍यौं, अरु ६ वटा टनेलहरु हामी तुरुन्तै सुरु गर्दैछौं । कोही सर्वे हुदैछन् र छिट्टै नै हामी तिनलाई अगाडि लान्छौं । बाटोलाई छोटो बनाउने र दीगो बनाउँने, हामी मुलुकलाई त्यस ढंगले एउटा नयाँ युगमा लैजादैं छौं ।

हाम्रो व्यापार विविधिकरण, राष्ट्रको विविधिकरण, आइटमको विविधिकरण र थुप्रै चिजहरुको विविधिकरण भएको छ । अर्थतन्त्रको हिसाबले हामी त्यसमा जानुपर्ने जरुरी छ । त्यसमा हामीले ध्यान दिएका छौं । रेलको पनि काम गर्नुपर्ने छ, पानीजहाजको पनि काम गर्नुपर्ने छ । नदीको बाटोबाट हामीले लिएर आउँँदा थुप्रै सस्तो पर्नजाने र छिटो हुनजाने हुन्छ । अर्को हामीले कोलकातामा खोल्न नपर्ने, सोझै आउने जुन सुविधा गरेका छौं, यसले व्यापारलाई जुन अनुकूलता सर्जना भएको छ, जो हामीले नयाँनयाँ क्षेत्रमा गरेका छौँ । विमानस्थलहरुको छिटो निर्माणमा हामीले जोड दिएका छौं । कतिपय रात्री उडानहरुमा जोड दिएका छौं । दिउसो मात्रै भयो भने त एउटा मात्रै विमानस्थल छ, त्यसले अप्ठ्यारो हुने नै भयो । दिउसो मात्रै गर्दा पुगेन । हामीले २४ घन्टा उडाउनेगरी कतिवटा आन्तरिक विमानस्थललाई राती पनि उडाउन सक्नेगरी लगेका छौं ।

हामीले जगदेखि नै विद्यालय भर्नाको अभियान चलायौं । अढाई तीन लाखभन्दा बढी स्कूल नजाने नयाँ बालबालिकालाई हामीले स्कूल पुर्‍याएका छौं । दुई वर्षमा यो लगभग टुंगिन लागेको छ र हामी टुंङ्ग्याउँछौं भन्दैछौं । ८० प्र्र्तिशत नागरिकमा विद्युत पुर्‍यायौं । विद्युत प्र्रयोगकर्ताहरु र प्रयोग गर्ने क्षमता किन वृद्धि भएन भन्नु भयो । अहिले यो दुई वर्षमा क्षमता १४५ बाट २४५ पुगेको छ । ८० प्रतिशत घरहरुमा बिजुली पु¥याएका छौं । अब दुई वर्ष्भित्रै बिजुली सबै ठाउँमा पुर्‍याउँछौं । त्यसका निम्ति काम हुँदैछ । अन्तरदेशीय लाइनका लागि जो एमसीसीको कुरा भइरहेको छ, त्यसमा अन्तरदेशीय लाइनमा विद्युत उत्पादनसँगै हाम्रो व्यापार दीर्घकालीन सोंचका साथ अघि बढ्छ । हामीले यो काम गरेका छौं ।

म यतिमात्र अनुरोध गर्छु, अहिले काठमाडौंका शहर, यद्यपि एकदम विकसित शहरको तुलना या दाँजोमा उठाइसकेँ, म त्यसो भन्दिनँ । तर काठमाडौंका शहर पहिलेजस्तो अहिले पक्कै पनि छैनन् । यहाँहरुले महसुस गर्नुभएको छ, खाल्डाखुल्डी पुर्ने, बाटो बन्ने कुरामा साथीहरुले अहिले सडकबत्तीको स्थितिमा पक्कै पनि सुधार देख्नुभएको होला, यसमा भिन्नता आएकै छ । सडक लाइट राख्दा मलाई के फरक पर्‍यो त ? मलाई त केही फरक परेन । मलाई के फरक पर्‍यो भनेर हेर्दाखेरी मलाई केही फरक परेन । यदि मान्छेले हेर्‍यो भने यो आफैंलाई पनि फरक पर्ने काम हा े। पहिले म सरकारमा हुँदा २५ प्रतिशत तनखा बढाएको थिएँ, अहिले फेरि २० प्रतिशत तनखा बढाएको छु कर्मचारीलाई पनि फरक परेको छ । काम लगाइएको छ ।

एउटा मेकानिज्म एकैचोटी कन्र्भट भएर त परिवर्तन हुँदैन । व्रतबन्ध गरेर चौकामूनी बसेको छोरालाई बाहुनले माथि चढाउँछ नि !, ब्रतबन्ध गरेको भोलिपल्ट ठ्याक्कै छोरो चौकामाथि हुन्छ । देशलाई व्रतबन्ध गरेर ठ्वाक्क चौका चढाएजस्तो त हुँदैन, विकास त्यसरी त हुँदैन । डेमोक्रेसीले त जीवनमा प्रतिफल आउनका निम्ति खासमा व्यक्तिको आर्थिक र सामाजिक जीवनमा प्रतिफल पाउनको निम्ति त्यसको अलिकति प्रोसेस त हुन्छ । रोजगारीका अवसर सिर्जना गरिएको छ, जीवन बीमा गरिएको छ र बैंक खाताका कुराहरु गरिएको छ । अहिले इनोभेशनका लागि हिजो मात्रै हामीले ऐन पास गरेका छौं । हामी ५० लाख युवाहरुलाई इनोभेशनका लागि वतावरण दिने भनेर लागेका छौँ । यसरी हाम्रो यात्रा कतापट्टि छ भनेर साथीहरुले देख्न सक्नुहुन्छ । राष्ट्रियताको सवाल होस्, डेमोक्रेसीको सवाल होस् अथवा विकासको सवाल होेस् वा सुशासनको सवाल होस्, प्रगतिकै स्थिति नै छ ।

अब म तपाईंहरुले एउटा इन्साफ गर्नुपर्छ भन्छु । ललिता निवास के मेरो सरकार बनेपछि बेचेर व्यक्तिलाई दिएको हो र ? उहिले हिनामिना गरिएको जग्गा अहिले मैले छानबिन गराउँदै छु । यसमा एकातिर सीआइबीलाई छानबिन गर्न लगाएको छु, अर्को्तिर अख्तियारलाई छानबिन गर्न लगाएको छु । दुईतिरबाट छानबिन हुँदैछ ।

मुद्दा त मैले गर्ने होइन, अदालतले किनारा गर्ने हो । यो सबै छानबिन गरेर अदालतमा मुद्दा पेश हुन्छ । मैले त छानबिन गराउने हो । योभन्दा अगाडि पनि सरकार थिए, तर कसैले छानबिन त गराएनन् । मैले छानबिन गराउँदै छु । अनि जसले यो छानबिन गराउँदैछ, त्यसैलाई आरोप ? तपाईँहरु इन्साफ गरिदिनुस्, न्याय गरिदिनुस् न ! एकपटक खोई ३८ क्विन्टल सुन खुब चल्यो ? ३८ क्विन्टल सुन त भागिसकेछ ! तर, उहिल्यै भएको त्यो तस्करीलाई मैले आएर छानबिन र खोजतलासी गर्दा सुनको चोरी निकासी हुँदो रहेछ । आयात हुने र निर्यात पनि हुने रहेछ । त्यसलाई म आएपछि नै रोकियो ।

त्यसको छानबिन गर्दा पत्ता लगाइयो र कारबाही गरिएको छ–७५र७६ जना मानिस जेलमा छन् । कतिलाई त मुद्दा नै चलाइएको छ । अनि त्योभन्दा गर्ने के ? छानबिन गर्दा जे पत्ता लाग्यो, प्रहरीले जे छानबिन गर्छ, अदालतले जे छानबिन गर्छ, त्यसैगरी गर्ने होइन र ? त्यसका लागि एउटा छुट्टै समिति बनाएर छानबिन गराइयो र अदालतमा मुद्दा पनि चलाइयो, जे फेला पर्‍यो, त्यही कारबाही गरियो । अख्तियारकै आयुक्तमाथि कारबाही भएको छ ।

१२ वर्ष अघिदेखिका मुद्दाहरुमा कारबाही भएका छन् । विभिन्न ओहदामा रहेका र ठूलो ओहदामा रहेका व्यक्तिहरुमाथि कारबाही भएको छ । स्टिङ अपरेशन गरेर पैसा समाउँदा समाउँदै र खाँदाखाँदैको अवस्थामा कारबाही गरिएको छ र ठूलाठूला ओहदाका मान्छेहरु पनि कारबाहीमा परेका छन् । जो इन्भल्भ (संलग्न) रहेको पाइन्छ, छोडिएको छैन । जुनसुकै अपराधमा होस्, जुनसुकै तहका मान्छे हुन्, इतिहासमा पहिले कहिल्यै नभएको तहका मान्छेहरु कारबाहीमा परेका छन् । मोलाहिजा गरिएको छ र ? कानूनी राजको सिद्धान्तमा मोलाहिजा गरिएको छ र ? छैन । त्यसकारण भ्रष्टाचार बढेको होइन, भ्रष्टाचार नियन्त्रण गर्दा गिरफ्तार हुने र कारबाही हुने प्रक्रिया भएको छ । हिजो थाहै नभई हुने भ्रष्टाचारका घटनामा कारवाही हुँदा बढी थाहा भएको छ । त्यो थाहा भएको हुँनाले हो रहेछ भन्ने कुरा देखिएको हो । भ्रष्टाचार« बढेको होइन, नियन्त्रण गर्ने सिलसिला अगाडि बढेको छ ।

वाइडबडी खरिद मेरो समयमा भएको हो र ? यती होल्डिङ्सको दरबार अगाडिको जग्गा लिजमा दिनु हुन्थ्यो कि हुदैनथ्यो ? त्यो बेग्लै कुरा हो । ६ अर्ब कति त त्यस ठाउँको मूल्य पनि पर्दैन । त्यो लिजको त्यस्तो कुरा होइन । त्यो मभन्दा अघिल्लो सरकारले गरेको काम होे, तर विधि प्रक्रिया पु¥याएरै गरेको रहेछ । अहिले कुरा उठेपछि मैले हेरेँ । त्यसको मैले प्रारम्भिक हिसाबमा हेर्दाखेरी विधि प्रक्रिया पुर्‍याएरै गरेको देखेँ । सोल्टी नजिक ताहाचलको जमिन लिजमा दिएको रहेछ । यतीको के भएको रहेछ त भनेर मैले त्यो पनि हेरेँ । त्यसमा पनि विधि प्रक्रिया पुर्‍याएर नै गरेको रहेछ ।

गोकर्ण रिसोर्ट एउटा विदेशीलाई दिएको थियो, विदेशीबाट नेपाली कम्पनीले किन्यो र थोरै समय बाँकी रह्यो । त्यो थोरै समय बाँकी रहेपछि उसले किन्यो र उसलाई लिज अवधि बढाइदिन्छु भनेरै त्यतिबेलाको सरकारले भनेको हुनाले नै उसले किन्यो । नत्रभने त्यत्रो पैसा हालेर उसले किन किन्थ्यो ? विभिन्न स्वतन्त्र किसिमका निकायबाट मूल्यांकन गराएर त्यसमार्फत कति पर्छ ? त्यसको प्रतिस्पर्धात्मक मूल्य कति हुन सक्छ ? चार्टर एकाउण्टेन्ट संस्थाका मान्छेबाट मूल्यांकन गराएर त्यसको लिज अवधि थप भएको छ ।

त्यसमा कुनै घोटाला भएको मलाई विश्वास छैन । एउटा कुरा मैले घोटला गर्छु वा मैलेचाहिँ भ्रष्टाचार गर्छु भन्ने कमसेकम साथीहरुले ठान्नुहुन्न होला भन्ने मलाई विश्वास छ । किनभने मेरो जुन कमिटमेन्ट छ, त्यसमा चाहिँ शंका गर्नुुहुन्न भन्ने म ठान्दछु । जुनसुकै सरकारको सम्बन्धमा जेसुकै होस्, मेरो सम्बन्धमा त्यसरी प्रश्न उठ्दैन भन्ने मेरो विश्वास छ । किनभने मलाई त्यस्तो गर्नु केही छँदा पनि छैन । बदमासी गर्नु, भ्रष्टाचार गर्नु र कमिशन खानु केही पनि छैन ।

तपाईंहरुले भनेको एउटा कुरा के ध्यान दिनयोग्य छ भने अस्तिको दिन सकिएको हाम्रो केन्द्रीय कमिटीको बैठकमा पनि यो कुरा चल्यो । वास्तवमायो निर्वाचन प्रणाली अत्यन्त खर्चिलो भयो । यो भन्ने नभन्ने बेग्लै कुरा हो, तर निर्वाचन यति खर्चिलो भयो कि यदि कुनै हिसाबले हामी यसमा खर्च नहुने बाटो खोज्दैनौं भने यसले भ्रष्टाचार बढाउने र भ्रष्टाचार गराउने अनिवार्यजस्तो खतरा हुन्छ । यो बहुत खर्चालु भयो । चुनाव जोसुकैले लड्न नसक्ने खालको स्थितिमा जाँदैछ । अलिक सोच्नु पर्छ भन्ने कुरा आएको छ । तर निर्वाचन खर्चिलो भए पनि वा जेसुकै भए पनि त्यसको नाममा राज्यकोषबाट कमिशनगिरी हुन्छ भने त्यो म प्रधानमन्त्री हुँदासम्म चल्दैन । म तपाईंहरुलाई भनौं, राज्यको कोष मारेर पार्टीको, वा व्यक्तिको र संस्थाको कोष बढाउने काम हुँदैहुँदैन । यो राज्यकै विकासको बजेट हो र यसको खर्च विकासमा नै हुन्छ ।

म भाग्यमानी रहेछु, म पनि घडेरी खोज्दै खोज्दै हिडेको थिएँ । धन्न बालुवाटारमा परिनँछु । त्यसबेला यो किनबेच भइराखेको रहेछ र म पनि खोज्दै हिडेको थिएँ । जग्गा किन्नेले हेर्ने धनीपूर्जा हो । पास गर्ने गएर मालपोत कार्यालयमा नै हो । धन्न तपाईंहरु पनि कोही पर्नु भएनछ । किन्न त अन्तै किन्नु भएको होला, यहाँ पर्नु भएनछ ।

यहाँ परेको भए ! बालुवाटारको जग्गा हिनामिना गर्नेमा नाम आउँथ्यो । हेर्ने त तपाईंहरुले पनि धनीपूर्जा हो । धनीपूर्जा हेर्ने हो, मालपोत कार्यालयमा गएर नै किन्ने हो । म धन्न बँचेछु, बालकोट गएर किनेँ । यहाँको जग्गाको प्रकरण आएपछि मैले साथीहरुलाई सोधेँ – होइन कतै बालकोटको पनि यस्तै त अवस्था छैन ? सार्वजनिक जग्गा त परेको छैन भनेर सोधेँ । तर, त्यस्तो रहेनछ र ढुक्क भयो । आफ्नो हिसाबले भन्दा पनि भवितव्यले गर्दा त्यस्तो नपरेको हो । नत्र भने नेपाल त यस्तो भएको छ, व्यक्तिको धनीपूर्जाबाट किन्दा पनि उहिल्यै कसले सरकारीबाट व्यक्तिको जग्गा बनाएको पर्नसक्ने डरसमेत हुन्छ ।

यस्तो अवस्थामा मैले अहिले सार्वजनिक जमिनहरु फिर्ता ल्याउँदैछु । मान्छेले निजी गराएका जमिनहरु फिर्ता ल्याउँदैछु । एउटा कोरियन कम्पनीलाई अपर त्रिशुली थ्री एमा बनले कन्स्ट्रक्सन वर्क र ट्रान्स्मिसनको लागि वनक्षेत्र पनि प्र्रयोग गर्नुपर्ने हुन्छ जमिन दिएको रहेछ । एक्सेस रोडका लागि बनले जमिन दिएको रहेछ । त्यसरी दिएपछि गुठी खडा गरेर त्यसका नाममा मोही खडा गरेर अहिले त धनीपूर्जा नै बनिसकेछ ।

अघिल्लो सरकारले नक्कली गुठीलाई जमिन दिइसकेको रहेछ । त्यस निर्णयमा टेकेर रसुवा मालपोत कार्यालयले मोही सदर गरी जमिन उनीहरुलाई दिन ठिक्क परेर बसेको रहेछ । अहिले कन्स्ट्रक्सन कार्य गर्ने भनेपछि तिनीहरु मुअब्जा चाहियो भन्न आए । हामीले नभएको जंगलको जमिन लिएको कसरी मुअब्जाको कुरा आयो भन्दा २०७४ पुस ९ गते चुनाव सकिएपछि ११० रोपनी जमिन एउटा गुठी खडा गरी दिएर, मोही खडा गरेर तमासा पो गरिएको रहेछ ।

त्यो जमिन फिर्ता लिइयो । सर्लाहीमा त्यसैगरी कब्जा गरेको जमिन रहेछ । तिनीहरु सबै फिर्ता लिइयो । यसरी विभिन्न ठाउँमा फिर्ता लिने क्रम चलेको छ । म साथीहरुलाई भन्न चाहन्छु, सार्वजनिक, सरकारी सम्पत्तिको सुरक्षा गर्ने काम भइरहेको छ । त्यसको हिनामिना गर्न र भ्रष्टाचार गर्न नपाऊन् भन्ने कुरामा अहिलेको सरकार सजग छ ।

त्यसैकारण यो ललिता निवासको जमिन हामीले रोक्का गर्‍यौं । हामीले गर्ने भनेको रोक्का नै हो । रोक्का गरेर छानबिन हुँदैछ र अब छिट्टै नै अदालतमा जान्छ । त्यसकारण साथीहरु यसमा ढुक्क हुनुभए हुन्छ कि जसको जे दोष छ, जसको त्रुिट छ, यसमा बिनादबाब नै कारबाही हुन्छ । सरकारले यसो गर वा उसो गर, फलानोलाई यसो गर वा उसो गर भन्ने कुरा हुँदैन । हामीले कुनै संस्था बनाएका छौं भने तिनीहरुलाई स्वतन्त्र रुपमा काम गर्न दिन्छौं । काम गर्न दिनुपर्छ । मैले प्रहरी र सरकारी निकायमा दबाब वा हस्तक्षेपको काम नगर्न निर्देशन गरेको छु । दबाब र हस्तक्षेपमा काम नगर्ने, भ्रष्टाचार र कमिशन हुन नदिने गरेको छु ।

अब जहाँसम्म एमसीसीको कुरा छ, हाम्रो नेपालको चलन कस्तो छ भने सम्झौता गर्नभन्दा अगाडि पर्याप्त अध्ययन गर्ने, अनि सम्झौता गर्नुपर्ने हो । हामी सम्झौताआदि सबै सिध्याउँछौं र अन्तिममा अनुमोदन गर्ने बेलामा बहस सुरु गर्छाैं र अध्ययन थाल्छौं ! सबै सम्झौताहरु आम नागरिकले अध्ययन गरेर, पढेर कण्ठ पारेर बस्छन् भन्ने कुनै दुनियाँमा कहीँकतै हुँदैन । आम नागरिकले सबै सम्झौता वा सन्धि पढ्छन्, कण्ठ पार्छन्, राम्रो नराम्र्रो छुट्याउँछन् ? त्यस्तो हुँदैन । त्यसको लागि वार्ता गर्न विशेषज्ञहरु पठाइएको हुन्छ र मूल्यांकन गरिएको हुन्छ । यसका आफ्नै प्रक्रिया हुन्छन् र त्यसैअनुरुप सबै काय भएका हुन्छन् ।

त्यही प्रक्रिया अघिल्लो सरकारले पूरा गरेको थियो । हामी सबैलाई हिस्ट्री थाहा छ, यो कहिलेदेखि आयो ? कसरी आयो भन्ने कुरा मैले बताइरहनु पर्दैन । अब अहिले केही समय यता आएर यो एमसीसीचाहिँ इन्डोप्यासिफिक पोलिसीअन्तर्गत भयो भनेर साथीहरुले भनिरहनु भएको छ । अमेरिका हामी सबैलाई थाहा छ । हामी बुझ्छौं नि अमेरिकाको ग्लोबल स्ट्राटेजी र ग्लोबल पोल्टिक्स छ । किन इन्डोप्यासीफिक मात्रै ? ग्योलब नै छ ।

अमेरिकाको ग्लोबल पोलिटिक्स् र ग्लोबल पोलिसी छ, ग्लोबल स्ट्राटेजी नै छ । अमेरिका सुपर पावर हो । उसलाई संसारको सबैभन्दा धनी र सबैभन्दा बलियो देश भनेर जानिएको छ । संसारका कुनाकुनामा उसका फौजी अखडा छन् ।साधारणतया अब तर्कले काम गर्दैन, कानूनले काम गर्दैन । त्यस हिसाबले अमेरिका चल्छ र चलिराखेको छ । सुपर पावर हो भन्ने थाहा छ नि ! अब त्यस्तो सुपर पावरका ग्लोबल स्ट्राटेजी हुन्छन्, रिजनल स्ट्राटेजी हुन्छन् र होलान् नै । हामीले गरेको एग्रिमेन्ट के हो ? हाम्रो एग्रिमेन्टले के भन्छ ? त्यस सम्झौताले के भन्छ ? एमसीसीसम्बन्धी कम्प्याक्टले के भन्छ ?

हामीले हेर्ने त्यसलाई नै हो । यो पाँच वर्षको सम्झौता हो, ५ वर्ष्भित्र हामीले कार्यान्वयन गरिसक्नु पर्छ । यदि गरिसकिएन भने जहाँ पुगेको छ, त्यहीँ रोकिएर पैसा फिर्ता जान्छ । त्यसकारण हामीले हतारहतार यो काम गर्नुपर्छ । हामी विद्युत उत्पादन गर्दैछौं । हामी जलस्रोतको धनी देश, हामीलाई टान्स्मिसन लाइन चाहिन्छन् । त्यसनिम्ति पर्याप्त पैसा चाहिन्छ । त्यसको लागि अमेरिकाले ट्रान्स्मिसन लाइन बनाइदिन्छु भनेको छ । जुन यहाँदेखि गोरखपुरसम्म जान्छ ।

यसमा इण्डिया सम्बन्धित कुरा किन भयो ? प्रश्न पनि आउँछ । इण्डियासँगको कुरा, अझ इण्डियासम्म बिजुली निर्यात गर्नका लागि यो ट्रान्समिसन लाइन बन्ने हो । गोरखपुरसम्म लाइन विस्तार गर्नुपर्छ, अनि न इण्डिया चाहियो । यसमा हामीले सुनौली–गोरखपुर लाइनको एग्रिमेन्ट गरिसकेका छौं । यो एग्रिमेन्ट भइसकेको हुनाले अब खाली एलाइन्मेन्ट पूरा गर्ने र त्यहाँको बन र बाटो क्लियरेन्स दिने कुरा जुन हो, त्यसमा काम भइराखेको छ, यो काम अन द प्रोसेसमा छ । यो हुँदै जान्छ ।

अरु सबै शर्त पूरा भएका छन् । हामीले लिँदाखेरी शर्त के हुन्छ ? संभव कसरी हुन्छ ? अमेरिकाका आफ्ना शर्त छन् । उसले आफ्नो कानून बनाउँदा भनेको छ, लोकतन्त्र हुनुपर्छ, जनताआधारित विकास हुनुपर्छ । सुशासन हुनुपर्छ । जनताका विरुद्ध तानाशाही चलाउनको लागि सहयोग गरिदैन । तानाशाही हुनुहुँदैन । मानवअधिकारको स्थिति राम्रो हुनुपर्छ । सुशासन हुनुपर्छ र सुशासनतर्फ देश अग्रसर हुनुपर्छ । देश सुशासनतर्फ अग्रसर भएको हुनुपर्छ ।

भ्रष्ट्राचार नियन्त्रणको बाटोमा अघि बढेको हुनुपर्छ । यी सबै उसका शर्तहरु रहेका छन् । यी शर्तहरु पूरा गरेर हामीले अनुदान प्राप्त गर्नु भनेको त नराम्रो होइन । ती शर्त पूरा गरेर हामीलाई सन् २०१२ मा अमेरिकाले उपयुक्त भन्यो । हामी सन् २०१२ मा इलिजिबल छौं भनेपछि २०१५ बाट हाम्रा संवादहरु सघन ढंगले सुरु भए र २०१७ मा तत्कालीन अर्थमन्त्री वासिङ्टन गएरसंझौता भयो ।

त्यसो गर्दा उचित नै सम्झौता भएको छ । त्यसबेला म सरकारमा नभएको बेला मात्र होइन, मलाई हटाइएर बनाइएको सरकार रहेको बेला थियो । तर त्यसो भए पनि ठीक कुरालाई त ठीक भन्नुपर्छ । त्यसकारण मैले त्यसबेला पनि ठीक भनेको हुँ । त्यसबेला पनि मैले हेरेको हुँ, ठीक छ भनेको हुँ र अहिले पनियो म ठीक छ भनेको छु । अब यसलाई अनुमोदन गर्नुपर्छ, यो अनुमोदन हुन्छ ।

यसमा सैनिक प्रयोजनमा खर्च गर्न नपाइनेसमेत शर्त छ । यो कुनै हिसाबमा सैनिक प्रयोजनमा प्रयोग हुने अथवा विकास कार्यबाहेक अरुतिर खर्च गर्न पाइने अनुदान होइन । हामीले अझ स्पष्ट गरेर कि बाटो र ट्रान्स्मिसन लाइनमा, कहाँदेखि कहाँसम्मको बाटो र कहाँदेखि कहाँसम्मको ट्रान्स्मिसन लाइनमा भन्ने पनि निश्चित भइसकेको छ । यसकारण यो नकारात्मक छैन । यो सकारात्मक कुरा हो । र, यसै अधिवेशनबाट र छिट्टै पारित हुन्छ, पारित गरिन्छ ।

हाम्रा केही साथीहरुमा केही कन्फ्युजन देखियो । कन्फ्युजन देखियो भने ठीकै छ, अध्ययन गरेर व्यवस्थित गरेर बुझ्दा भयो । त्यसकारण हामीले ब्यवस्थित गरेर तथ्य प्रमाणहरु, त्यसको हिस्ट्री, त्यसको सहमति, त्यसको व्यवस्था सबै कुरा ल्याउनका निम्ति एउटा कार्यदल बनाएका छौं । त्यसले १० दिनमा भनेको ३ दिन भइसक्यो, अब ७ दिनभित्र आफ्नो रिपोर्ट यस्तो यस्तो भएको रहेछ भनेर दिन्छ, । त्यसपछि सबैलाई स्पष्ट हुनका लागि सजिलो हुन्छ । यो ठूलो समस्याको विषय होइन ।

एउटा कुरा म तपाईंहरुलाई भन्न चाहन्छु । तपाइँहरुलाई लागेको त्यस्तो हो कि ? तपाईंहरुले सुनेको त्यस्तो हो कि ? विश्लेषकहरु कसैले तपाईंलाई सुनाएका हुन् कि ? तपाईंहरुको कुरा कस्तो छ भन्दा यहाँ मेरो टेबल अगाडि रेकर्ड गर्न तपाईंहरुले १२ वटा टेलिफोन राख्नु भएको छ । १२ वटामा ७ वटा यता दायाँ राख्यो, ५ वटा उता बायाँ राख्यो भने ५ वटा अल्पमतमा पर्छ ।

हिसाब सजिलो छ । तपाईंहरु यसरी हिसाव निकाल्नुहुन्छ । तर यसरी राखेको हो कि होइन ? साथीहरु चारपाँच जना भैँसेपाटीमा एकफेर जम्मा हुनुभएछ, अनि नेपालको पोलिटिक्स नै त्यही हो जस्तो गरेर अब भैँसेपाटी बैठक, भैँसेपाटी बैठक भन्न थाल्ने ? भैंसेपाटी बैठक हुन्छ, खुमलटार बैठक हुन्छ, कोटेश्वर बैठक हुन्छ, डल्लु बैठक हुन्छ, बालुवाटार बैठक हुन्छ, अन्त बैठक हुन्छ र सिंहदरबारमा पनि बैठक हुन्छ । यस्ता बैठकहरु त हुन्छन् नि ! यो एकता हामीले यताउती गोटी सारेर, त्यहाँ खेल खेलेर, स्टे«न्थ लुज गर्नका लागि गरेको होइन । र, त्यस्तो कमजोर छैन । तपाईंहरुलाई भ्रम नरहोस् है ! त्यस्तो कुनै प्रकारको कन्फ्युजन नरहोस्, त्यस्तो केही पनि छैन ।

मैले डावोसबाट फर्किदाखेरि आपत्ति गरिनँ, (डावोसबाट फर्कंदा प्रचण्डको भेनेजुयलासम्बन्धी वक्तव्यमा सम्पादकहरुको जिज्ञासा) आपत्ति के मात्र गरेँ भने, एउटा अभिव्यक्ति आयो अध्यक्षजीको, भोलि नै म आउँदै छु भनेपछि अघिल्लो दिन त्यस्तो अभिव्यक्ति नआउनु पर्दथ्यो । मैले उहाँलाई त्यस्तो नआउनु पर्दथ्यो भनेर भनेको हो । त्यो पब्लिकलाई भनेको होइन, उहाँलाई भनेको कुरा अलिकति पब्लिक भएको होला ।

मैले एयरपोर्टमै भनेको छु सरकारको भनाइ के हो र पार्टीको भनाइ के हो ? मैले एयरपोर्टमा आउँदा आउँदै त्यो कुरा भनेको छु । के सान्दर्भिक छ, के सान्दर्भिक छैन भन्ने कुरा त्यसबेला भनेको हुँ । तर त्यसको अर्थ दुईजना तीनजना भेट हुने बित्तिकै सशंकित भइहाल्ने ? भर्खरै लभ गर्न लागेका केटाकेटीले गर्छन नि ! अर्कासँग यस्सो बोल्या देख्यो भने हँ गर्ने ? हामीहरु त्यस्तो खालको होइन । हामी धेरै वर्ष राजनीति गरेर र चुनावसँगै लडेर, सिट बाँडेर, तालमेल गरेर, त्यसैबेला पार्टी एकीकरण गर्छौं भनेर र एकीकरण गरेर यहाँसम्म आएका हौं । यो एकीकरण कसो गर्दा मजबुत हुन्छ भन्ने हामीलाई थाहा छ । कसो गर्दा कमजोर हुन्छ भन्ने त्यो पनि थाहा छ । यसलाई मजबुत बनाइन्छ, कमजोर हुन दिइदैन ।

म साथीहरुलाई के भन्छु भने, चुनावपछिका कुरा नगरौं । तीन वर्षपछि चुनाव हुन्छ । तीन वर्षसम्म म प्रधानमन्त्री रहने हो । तपाईंहरुलाई बताइदिऊँं, म अब छिट्टै किड्नी ट्रान्स्प्लान्ट गर्छु । अहिले किड्नीमा अलिक समस्या छ । आजको जमानामा अलिअलि समस्या किन राख्ने ? एउटा किड्नी ल्याएर फेरि थप राख्छु । यो ठूलो कुरै होइन । तपाईंहरु ढुक्क हुनुहोस् । अनि तीन वर्ष.. ।

मैले किड्नी छिट्टै किन राख्ने भने बेस्सरी काम गर्न सजिलो होस् भनेर हो । अहिलेभन्दा बढी सजिलोसँग काम गर्नका लागि हो । यसमा हाम्रो पार्टीमा कुनै विमति छैन । पहिले त मैले प्रचण्डजीलाई आलोपालो गरौंला नि भनेर भनेको थिएंँ । तपाईं आएर चलाउनु होला आधा भनेको थिएँ । अस्ति भर्खरै उहाँले भन्नुभयो– यो त (इनस्टेबिलिटी) अस्थिरता हुन्छ, त्यस्तो नगरौं । उहाँकै प्रस्तावमा यो आलोपालो भन्ने कुरालाई हामीले हटाइदियौं ।

र, अब (कन्टिन्यू) निरन्तर बाँकी अवधि मैले नै सरकारको नेतृत्व अगाडि लैजाने भन्ने पनि हामीले विधिवत् निर्णय गर्‍यौं । प्रचण्डजीले नै आलोपालो छाडेर अब स्थिरढंगले लाने भन्नुभयो र अस्थिरता नदेखाउने भन्ने कुरा उहाँकै प्रस्तावमा निर्णय गरेर हामी अगाडि गइराखेका छौं । अनि तपाईंहरुले पनि देख्नुभयो– १५ गते केन्द्रीय कमिटीको बैठक यतिबेला सुरु गर्छौं, १९ गते यतिबजे अन्त्य गर्छाैं भन्यौं । अनि त्यतिबजे नै अन्त्य गर्‍यौं । एकताबद्ध भएर सुरु गर्छौं, सुरु गर्‍यौं । एकताबद्ध भएर अन्त्य गर्छाैं, अझ सुदृढ एकताका साथ अन्त्य गर्‍यौं । त्यो त साथीहरुले देख्नुभएको नै छ ।

अलिकति के छ भने पचासौं वर्ष राजनीति गरेका, खली खाएका नेताहरु छन् । एउटाले भनेको आदेश अर्काेले मान्ने तहका छैनन् । यहाँ सम्पादक र सहसम्पादकजस्तो पनि होइन, हामी सबै सम्पादकभन्दा माथिका छौं । त्यसो भएर एक खालको पर्सनालिटीको फिलिङ हुन्छ नि ! मभन्दा अगाडि प्रधानमन्त्री भइसकेकाहरु छन् ।

मभन्दा अगाडि पार्टी प्रमुख भइसकेकाहरु छन्, अनि त मैले एकदम खुरुक्क यसो गर भनेर आदेश दिन त मिल्दैन । त्यसो भएर मैले विचार गरेर, मानभाउ पुर्‍याएर काम गर्नुपर्ने हुन्छ । पार्टीमा यस्ता अलिअलि कम्प्लिकेसन त हुन्छन् । पार्टी भनेको त त्यही हो नि ! समस्या कहाँ छैन र ? तपाईहरु कल्पना गर्न सक्नुहुन्छ । एमाले कहाँ थियो, माओवादी कहाँ थियो ? वल्लो डाँडो र पल्लो डाँडोबाट तोप हानाहान गर्थे धुमधामसँग ! अझ मैले त झन् साह्रो तोपका गोलाका गोला ठोक्ने गरेको नै हो !

त्यस ठाउँबाट हामी यहाँसम्म एकतामा आइपुगेका छौं । यो बाइचान्स मौकाले भेट भएको जस्तो त होइन नि ! यो त सचेत प्रयासबाट गरिएको एकता हो । त्यसकारण म साथीहरुलाई भन्न चाहन्छु, ढुक्कले चलौं । अब म साथीहरुसँग कोअपरेशन र अलिक बढी कोअपरेट गर्न आग्रह गर्न चाहन्छु । र, भन्न चाहन्छु, तपाईंहरुको सहयोगको अपेक्षा गर्न चाहन्छु ।

मेरो कतिपय कुरा मन पर्दैन भने गाली गरे हुन्छ । तर, यस्तो नहोस् कि देशको अहित हुने खालका र देश अन्योलमा पर्ने खालका कुराहरुचाहिँ नजाओस् र जनताको मनोवल टुट्ने खालको स्थिति नजाओस् । हामीलाई राष्ट्रिय एकता चाहिएको छ । शान्ति चाहिएको छ । शान्ति र एकताको बलमा हामी विकास गर्न सक्छौं । हामीलाई विकास चाहिएको छ, त्यसका निम्ति हामीलाई सुशासन चाहिएको छ ।

तपाईंहरुको आलोचनाप्र्र्ति हामी असहिष्णु भएको होइन, कहिले कहिले तपाईंहरुले गोदिरहँदा हो हो ठीकै गोदिराखेका छन् है साथीहरुले भन्नु पनि त हुँदैन नि ! अलिअलि जवाफ त हामीले पनि दिनुपर्छ नि ! तपाईंहरुले भनेजति सबै कुरा ठीक हुन्छ भन्ने हुँदैन । तपाईंहरुका इन्फरमेशन गलत हुन सक्छन्, सीमित हुन सक्छन् । त्यसमा हामीले कहिले कहिले कमेन्ट गर्नुपर्ने पनि हुनसक्छ । यो त के भने तपाईंहरुले बलिङ् गरेपछि ब्याटिङ तअलिकति गर्नु पर्‍यो नि ! तपाईंहरुले बलिङ् दिएको दियै गर्ने, अनि एक ब्याट ब्याटिङ् दियो भने तपाईंहरु फेरि प्रेसचाहिँ शत्रु हो ? हामी शत्रु हौं भनेर रिसाउने ? त्यसो पनि गर्न भएन ।

हामी सबैको उद्देश्य एउटै हो, सुशासन होस् र विकास होस् । तपाईंहरुका सुझावहरु मैले गम्भीरताका साथ सुनेको छु । समस्याहरु नभएका होइनन् । समस्याहरुमा तपाईंहरुले भनेका कुरामा अहिले अलिक बिस्तृतमा जान भ्याइदैन । तपाईंहरुले भनेका कुरामा सत्यता नभएको होइन, सत्यता छ । समस्या छन् । तर समस्यारहित ढंगले दुनियाँको कुन देश अगाडि बढेको छ ? बेलायत आज शान्त देखिन्छ । अनि त्यहाँको म्याडमटुसाध म्यूजियम गएर हेर्नुभयो भने त्यहाँ मान्छे कसरी काटेको थियो ? के गरेको थियो भन्ने त्यो उनीहरुले आफ्नो हिस्ट्री देखाएका छन् । कसरी आएको थियो ? पढ्दाखेरि थाहा हुन्छ, त्यहाँको राजतन्त्र आज सम्मानित छ ।

टाउको काटेर बार्दलीबाट यसो कपालमा समाएर झुण्ड्याउँदै देखाएको देश पनि त्यही हो नि ! राजतन्त्रको राज…! त्यसकारण हिस्ट्रीहरुमा उतारचढाव हुँदै आएका हुन्छन् । हाम्रोमा ट्रान्जिसनल फेज छ । सबै काम एकैचोटी गर्नुपर्ने भएको हुँनाले त्यसले गर्दा अलिकति समस्याहरु देखिएका पनि हुन् । मलाई लाग्छ यो देखिनु स्वाभाविक हो ।

तपाईंहरु पनि अलिअलि बढ्ता भएकै हो । बढ्ता हुनु स्वाभाविक हो, किनभने लडेर डेमोक्रेसी ल्याइएको छ, लडेर स्वतन्त्रता ल्याइएको छ ! अघि राती नै निस्किएको भनेको होइन, खुशी भएर ? त्यसरी ल्याएको डेमोक्रेसी, त्यसरी ल्याएको फ्रिडम भएपछि त मान्छेले अलिकति इन्जोय त गरिहाल्छ । जेलबाट छुट्नेबित्तिकै म १४ वर्ष जेल बसेको मान्छे इन्जोय गर्न गोसाँइकुण्ड गएँ । फ्रिडमको इन्जोय गर्न त्यहाँ गएको, अरुथोक केही होइन । भर्खर जेलबाट छुटेको गोसाँइकुण्ड जाँदा झण्डै नमरेको ! १४ वर्ष जेल बसेर कँुजिएको मान्छे गोसाँइकुण्डतिर लागेपछि झण्डै अमरसिंह थापाकोजस्तैे हालत नभएको ? यो नयाँ डेमोक्रेसीमा पनि यस्ता केहीकेही कुराहरु हुन्छन् । यसलाई हामीले अन्डरस्ट्याण्ड गर्नुपर्छ र मचाहिँ त्यो कुरा अन्डरस्ट्याण्ड गर्छु ।

तपाईंहरुलाई मैले बोलेका कुराहरुले अलि बिझाएको भए त्यसमा क्षमाप्रार्थी छु, नबिझाओस् । कहिलेकहिले घरमा पनि यसो ठाकठुक, भनाभन चल्छ नि ! अब हामी उतापट्टि जान्छौं भोजन पनि गर्छौं, एकछिन् सारङ्गीका धूनहरु पनि सुन्छौं । छोटो प्रस्तुति हुन्छ, सारङ्गीको धुन । धेरै लामो हँुदैन । यससँग अरु धेरै केही मिसिएको छैन ।

साथीहरुलाई धन्यवाद ।
–२१ माघ २०७६
प्रधानमन्त्री निवास, बालुवाटार ।

प्रतिक्रिया दिनुहोस
Advertisement