भीम रावललाई प्रधानमन्त्रीको जवाफः एमसीसी अलपत्र छोड्न मिल्दैन !


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा सांसद भीम रावललाई जवाफ दिएका छन् । नेता रावलले पछाडिको ढोकाबाट एमसीसी छिराउन खोजेको आरोप लगाएका थिए ।

मंगलबार दुवै सदनलाई सम्बोधन गर्दै प्रधानमन्त्री अ‍ोलीले लप्सीफेदी–रातमाटे–दमौली–बुटवल प्रसारण लाइन नेपालको हितमा भएकोले अनावश्यक टिप्पणी नगर्न आग्रह गरेका थिए ।

‘यो प्रसारण लाइन पछाडिको ढोकाबाट होइन, अगाडिकै ढोकाबाट बनाइन्छ । एमसीसीले बनाए उसैले बनाउँछ । नत्र हामीले बनाउँछौँ । यो प्रसारण लाइन नबने सयौँ मेगावाट बिजुली खेर जान्छ,’ प्रधानमन्त्री ओलीले भने ।

एमसीसीको निष्कर्ष नेताले नभई संसदले निकाल्नुपर्ने बताए । अघिल्लो सरकारले एमसीसीबारे धेरै निर्णय गरेको र यो सरकारले उत्तराधिकारीको रुपमा एमसीसीलाई संसदमा प्रस्तुत गरेको ओलीको भनाइ छ ।

‘एमसीसी अघिल्लो सरकारले वार्ता गर्‍यो, सम्झौता गर्‍यो । यो एमसीसी अहिले सरकारले सम्झौता गरेको होइन । अलपत्र छोड्न मिल्दैन । कार्यान्वयन नगर्दा विश्वसनीयतामा प्रश्न उठ्छ,’ उनले भने, ‘अहिले पनि छलफल गर्न सकिन्छ एमसीसी पास गर्ने कि नगर्ने । संसदले निर्णय गर्न सक्छ । यो संसद्को सम्पत्तिका रूपमा आइसकेको छ । संसदले निर्णय गर्नुपर्छ । ट्रान्समिसन लाइन सरकारले बनाउँछ ।’

प्रतिक्रिया दिनुहोस
Advertisement