भीम रावलको किल्लामा ओली समूह हाबी


काठमाण्डु – नेपाल कम्युनिषट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल समूहका नेता भीम रावलको गृहजिल्ला अछाममा प्रधानमन्त्री केपी शर्मा ओलीको बहुमत देखिएको छ । अछाममा पूर्व नेकपा एमालेका अधिकांश नेता नेकपा ओली समूहमा लागेका हुन् ।

नेकपा माधव—प्रचण्ड समूहका नेता रावलका पछिल्ला गतिविधिसँग असन्तुष्ट रहेको समूहले ओली नेतृत्वको नेकपामा लाग्ने निर्णय गरेको हो । रावल निकट मानिएकाहरु नै ओली समूहमा लागेको एक नेताले जानकारी दिए । उनका अनुसार रावलको पछिल्लो व्यवहारबाट असन्तुष्ट रहेका नेताहरु प्रधानमन्त्री अ‍ोली समूहमा लागेका हुन् ।

नेकपा एमालेका प्रभावशाली तथा जिल्लाकै बौद्धिक नेताको छवि बनाएका जिल्ला विकास समिति अछामका पूर्व सभापति कृष्ण प्रसाद जैसीले नेकपा ओली समूहलाई साथ दिएका छन् । उनी नेकपा माधव—प्रचण्ड समूहका नेता रावलद्धारा उपेक्षित नेता हुन् । तत्कालीन एमाले प्रभावशाली नेता चन्द्र बोहरा पनि ओली समूहमा लागेका छन् । उनलाई ओली समूहले अछामको अध्यक्ष पदको जिम्मेवारी दिएको छ ।

पार्टी बिभाजनपछि नेकपा एमाले अछामका पूर्व सचिव कमल तिमिल्सेना पनि नेकपा ओली समूहमा लागेका छन् । अछामबाट प्रतिनिधि सभाका उम्मेदवार रहेका शिव उपाध्याय, मंगलसैन नगरपालिकाका प्रमुख पदम बोहरा, उपमेयर सरस्वती उपाध्याय प्रचण्ड–नेपाल समूह छोडेर ओली समूहमा लागेका छन् ।

अछामको भैसोली क्षेत्रका प्रभावशाली नेता कटक साउँदले नेता रावलप्रति असन्तुष्टि जनाउदै नेकपा ओली समूह रोजेका छन् । माओवादीका थुप्रै प्रभावशाली नेताहरु पनि ओली समूहमा लागेका छन् ।

माओवादीका प्रभावशाली नेता हस्ती खगेन्द्र रोकाया पनि ओली समूहमा लागेका छन् । उनी माओवादी पार्टी निर्माण र विस्तारमा महत्वपूर्ण योगदान पु¥याए पनि उपेक्षित भएका थिए ।

तत्कालनीन माओवादीका तर्फबाट सुदूर पश्चिम प्रदेश सरकारमा आर्थिक मामिला तथा योजना मन्त्री रहिसकेका झपट बोहराले पनि ओली समूह रोजेका छन् । आर्थिक मन्त्री हुदा आफ्नो निर्बाचन क्षेत्र र अछाम जिल्लाका लागि गरेको कामका कारण बोहरा जनता माझ लोकप्रिय छन् ।

कम्युनिष्ट आन्दोलनकै अगुवा मानिने भीम कडायतले पनि ओली समूहलाई साथ दिएका छन् । अछामको कम्युनिष्ट पार्टीको संस्थापक गोकुल खनाल पनि ओली समूहमा लागेका छन् ।

पूर्व मन्त्री बोहराका स्वकीय सचिव रहेका माओवादी पृष्ठभूमिका युवा नेता आदर्श साउद, कुशलराज बुढाले पनि ओली समूह रोजेका छन् । तत्कालीन माओवादीका नेता तथा बिभाजनअघिको नेकपा अछामका सचिव डीबी साउँदले पनि ओली समूहलाई साथ दिएका छन् । पूर्व एमाले र माओवादीका प्रभावशाली नेताहरु ओली समूहमा लागेका कारण नेता रावल आफ्नै जिल्लामा कमजोर भएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement