प्रधानमन्त्री ओलीले गरे नेपाली सेनाको प्रशंसा


काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली सेनाको व्यवसायिकता,लगनशिलता,कर्तव्यबोध र भावनाको उच्च प्रशंसा गरेका छन् । बुधबारबाट जंगी अड्डामा सुरु भएको तीन दिने ‘पृतनापति समन्वयात्मक बैठक’मा उनले नेपाली सेनाको प्रशंसा गरेका हुन् ।

हरेक ६\६ महिनामा आयोजना हुने रणनीतिक तहको पृतनापति समन्वयात्मक बैठकले विगतको गहन समिक्षा सहित नेपाली सेनाको भावि कार्यदिशा र कार्य योजनाको लागि ठोस आधार निर्माण गर्न सफल हुने विश्वास समेत व्यक्त गरे।

त्यस्तै उनले यस प्रकारको बैठकमा हुने छलफल तथा त्यसका निष्कर्ष विशेषत नेपाली सेनाका फिल्डमा तैनाथ पृतना, बाहिनी, गण तथा गुल्महरुका लागि मार्गदर्शन हुने कुरामा आफू पूर्ण रुपले विश्वैस्त रहेको समेत बताए ।

उक्त अवसरमा प्रधानसेनापति पुर्णचन्द्र थापाले नेपाली सेनालाई पद्धति र प्रणालीमा आधारित सबल, सक्षम र सुदृढ सङ्गठनको रुपमा विकास गर्ने बताएका छन् ।

प्रधानसेनापति थापाले लक्ष्य प्राप्तिको लागि परिवर्तनलाई संस्थीकरण गर्दै कार्यसंस्कृतिका रुपमा स्थापित गर्दै लानु पर्ने आवश्यकता रहेको र यो समन्वयात्मक वैठकले विषयगत तथा क्षेत्रगत रुपमा हाल भईरहेका कार्यहरुको बारेमा समीक्षा गर्नुका साथै आवश्यक सुधार, सुदृढीकरण र दीगोपनाका लागि आगामी कार्यदिशा तय गर्न महत्वपूर्ण भूमिका खेल्नेछ भन्ने विश्वास व्यक्त गरेका थिए।

समन्वयात्मक बैठकको दौरान नेपाली सेनाका महानिर्देशनालय, निर्देशनालय, कार्यालय र विभागका प्रमुखहरु तथा पृतनापतिहरुले आ-आफ्नो जिम्मेवारी क्षेत्रको वर्तमान वस्तुस्थिति, कार्य समिक्षा एवं सुझावहरु सहितको प्रस्तुतिकरण गर्ने कार्यक्रम रहेको छ ।

यस किसिमको समन्वयात्मक बैठक र आपसी अन्तरक्रिया पश्चात प्राप्त हुने राय सुझावहरुले आगामी दिनहरुमा नेपाली सेनाको महत्वपूर्ण नीति तथा योजना निर्माणमा ठोस योगदान पुर्यारउने विश्वास नेपाली सेनाले लिएको छ ।

उक्त कार्यक्रममा प्रधानसेनापति, रक्षा मन्त्रालयका प्रतिनिधि, जङ्गी अड्डाका पिएसओज रथीबृन्द, सबै पृतनाका पृतनापतिहरु लगायत जंगी अड्डाका कार्यालय, विभाग, महानिर्देशनालय र निर्देशनालयका प्रमुख तथा उपत्यका भित्र रहेका बाहिनी अड्डाका बाहिनीपतिहरुको समेत उपस्थिती रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement