अाेली तीन चौथाइ विश्वासकाे मतसहित शक्तिशाली प्रधानमन्त्री


काठमाडौं–३ फागुनमा प्रधानमन्त्रीमा नियुक्त भएका केपी शर्मा ओलीले तीन चौथाइ सांसदको विश्वासको मत प्राप्त गरेका छन्। प्रतिनिधिसभामा आइतबार भएको मतविभाजनमा ओलीले २ सय ८ मत प्राप्त गरेका हुन्। संसदमा २ सय ७५ जनामध्ये आइतबार २ सय ६८ सांसद उपस्थित थिए।

प्रधानमन्त्री ओलीको विपक्षमा ६० सांसद रहेको कांग्रेस मात्र रह्यो। एक सांसद रहेको नेपाल मजदुर किसान पार्टीले मत नै दिएन भने एक सांसद रहेको नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराई मुलुकबाहिर रहेकाले उपस्थित हुन सकेनन्।

प्रधानमन्त्री ओलीलाई माओवादी केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टीका साथै, स्वतन्त्र सांसद छक्कबहादुर लामा, जनमोर्चाकी दूर्गा पौडेल, राप्रपाका राजेन्द्र लिङदेन लगायतको समर्थन रहेको छ।

दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त भएको हकमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।

ओली नेपालको संसदीय इतिहासमा शक्तिशाली प्रधानमन्त्री बनेका हुन्। २०१५ मा सम्पन्न संसदीय चुनावमा नेपाली कांग्रेसले १ सय ९ सदस्यीय प्रतिनिधिसभामा ७५ सिट जितेकोमा बिपी कोइरालाको नेतृत्वमा सरकार गठन भएको थियो।

संसदलाई संबोधन गर्दै प्रधानमन्त्री ओलीले सरकार र प्रतिपक्षी दुवै मिलेर देश विकासमा लाग्नुपर्ने बताए। सभामुख कृष्णबहादुर महराले आउँदो चैत्त २ गते उपसभामुखको चुनाव हुने सूचना सुनाउँदै संसद बैठक स्थगित भएको घोषणा गरे।

प्रतिक्रिया दिनुहोस
Advertisement