स्थायी कमिटी बैठकपछि बिच्किए प्रधानमन्त्री ओली, सचिवालय बैठक बोलाउन प्रस्ताव


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डबीचको वार्ता बिना निष्कर्ष टुंगिएको छ ।

सोमबार बिहान करिब ९ बजेबाट सुरु भएको वार्तामा नेकपा स्थायी कमिटी बैठकलगायतका विषयमा छलफल भएको थियो ।

बैठकमा सहभागी वरिष्ठ नेता झलनाथ खनालकाअनुसार प्रधानमन्त्री ओलीका अडानका कारण बैठक निष्कर्षमा पुग्न नसकेको हो । प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठक छलेर सचिवालय बैठक बोलाउन प्रस्ताव गरेपछि अर्का अध्यक्ष प्रचण्डले असन्तुष्टी जनाएका हुन् ।

‘अध्यक्ष अ‍ोलीजीले स्थायी कमिटी बैठकलाई छलेर सचिवालय बैठक बोलाउन प्रस्ताव गर्नुभयो’, स्रोतले भन्यो, ‘तर, अर्का अध्यक्ष प्रचण्डजीले बसिरहेको स्थायी कमिटी बैठकबाटै समस्याको हल खोज्नुपर्ने अडान राख्नुभयो ।’

गत असार १८ गतेको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री अ‍ोलीले सरकार र पार्टी अध्यक्षबाट राजीनामा दिनुपर्ने माग उठेपछि पार्टीभित्रको विवाद चर्किएको हो ।

्रप्रधानमन्त्रीको राजीनामा माग गरेपछि स्थगित हुँदै आएको बैठक १ महिना पुग्दा पनि बस्न सकेको छैन् । प्रधानमन्त्री ओलीले स्थायी कमिटी बैठकमा विवाद हुने भन्दै बैठक स्थगित गर्दै आएका छन् ।

स्रोतकाअनुसार प्रधानमन्त्री ओली स्थायी कमिटी सदस्यले राजीनामा माग गरेपछि बिच्किएका छन् । उनले स्थायी कमिटी बैठक छोडेर सचिवालयको बैठक बोलाउनुपर्ने अडान राख्दै आएका छन् ।

भोली पुनः बैठक बस्नेगरी अध्यक्ष प्रचण्ड बालुवाटारबाट बाहिरिएका छन् । आजको बैठकमा दुई अध्यक्षसहित नेता खनाल र संसदीय दलका उपनेता सुवाचन्द्र नेम्वाङ सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement