सरकारका नियुक्तीबारे अध्यक्ष प्रचण्ड असन्तुष्ट, प्रधानमन्त्रीसँग राखे यस्तो प्रस्ताव


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । बिहीबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा पार्टीभित्र देखिएका समस्याबारे छलफल भएको हो ।

स्रोतकाअनुसार आजको भेटमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीसँग पार्टीको विवाद समाधान गर्न गठित कार्यदलको प्रतिवेदनपछि हालका सबै नियुक्ती बदर गर्न प्रस्ताव राखेका छन् । त्यस्तै आजको बैठकमा अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे छलफल भएको स्रोतले जानकारी दियो ।

अध्यक्ष प्रचण्डले प्रेस काउन्सिलको कार्यवाहक अध्यक्ष नियुक्तीबारे पनि प्रधानमन्त्री ओलीसँग असन्तुष्टी जनाएका छन् । उनले नियम मिचेर नियुक्ती गरेको भन्दै असन्तुष्टी जनाएका हुन् । गत सोमबारको मन्त्रिपरिषद् बैठकले काउन्सिलको अध्यक्षमा दुर्गा भण्डारीलाई नियुक्त गरेको थियो ।

हालका अध्यक्ष किशोर श्रेष्ठलाई बर्खास्त गरेर भण्डारीलाई नियुक्त गर्ने निर्णय भएको थियो । तर, बुधबार सर्वोच्च अदालतले किशोर श्रेष्ठलाई का.अ.बाट हटाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

त्यस्तै सरकारले युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा कल्याण रोकालाई नियुक्त गरेको छ । अध्यक्ष प्रचण्डले कार्यदलको प्रतिवेदनपछि सबै नियुक्ती बदर गर्नुपर्ने बताएका थिए ।

‘मन्त्रिमण्डल पुर्नगठनबारे दुई जना अध्यक्षबीच छलफल भएको छ । त्यस्तै लामो समयदेखि विवादमा रहेको एमसीसीबारे पनि छलफल भयो’, स्रोतले काठमाण्डुपाटीसँग भन्यो, ‘पछिल्लो समय प्रधानमन्त्रीले गरेको नियुक्तीका विषयमा पनि अध्यक्ष प्रचण्डको असन्तुष्टी थियो ।’

प्रतिक्रिया दिनुहोस
Advertisement