बालुवाटारमा अ‍ोली र प्रचण्डबीच वार्ता, यस्ता छन् एजेण्डा


काठमाण्डु – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता सुरु भएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिमण्डल पुर्नगठनको विषयमा छलफल गर्न दुवै अध्यक्षबीच केहीदिनदेखि छलफल जारी छ । अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले दुवै अध्यक्षबीच छलफल जारी रहेको जानकारी दिए ।

सरकारमा दुई वर्षदेखि काम गरिरहेका मन्त्रीलाई बिदा गर्ने र नयाँ मन्त्रीको नाम सिफारिसका विषयमा दुवै अध्यक्षबीच छलफल केन्द्रीत रहेको स्रोतले जानकारी दियो ।

‘उहाँहरुबीचको वार्ता सकारात्मक हुँदै गएको छ । नयाँ मन्त्रीको नाम सिफारिस र सरकारमा सहभागी भएको कस्ता मन्त्रीलाई बिदा गर्ने विषयमा छलफल केन्द्रीत छ’, स्रोतले भन्यो ।

नेकपाका एक नेताकाअनुसार दुवै अध्यक्ष केही दिनभित्र नै मन्त्रिमण्डल पुर्नगठनका लागि छलफलमा केन्द्रीत छन् । रिक्त रहेका दुई मन्त्रालय र केही मन्त्रालय टुक्र्याएर मन्त्रिमण्डल पुर्नगठन गर्ने विषयमा छलफल केन्द्रीत रहेको ती नेताले बताए ।

अध्यक्षद्वय ओली र प्रचण्डबीच मन्त्रालय टुक्र्याउने विषयमा छलफल जारी रहेको स्रोतले जानकारी दियो ।  स्रोतकाअनुसार ऊर्जा, जलश्रोत तथा सिँचाई र उद्योग, भौतिक पूर्वाधार तथा यातायात र बाणिज्य तथा आपूर्ति मन्त्रालय फुटाउने तयारी भएको छ ।

‘कोरोना नियन्त्रणमा सरकारको बलियो उपस्थिति देखिएको छैन् । सरकारमा रहेका मन्त्रीले परिणाम दिनेगरी काम गर्न ससक्नु भएको छैन् । त्यसबाट प्रधानमन्त्री पनि सन्तुष्ट हुनुहुन्न’, नेकपा निकट स्रोतले, ‘उहाँहरुले मन्त्रीहरुको कामको मूल्यांकन गरेर नै निर्णय गर्नुहोला । त्यसमा हामीले बोल्ने कुरा हुँदैन । तर, चाँडै नै मन्त्रिमण्डल  पुर्नगठन हुन्छ ।’

नेकपा सचिवालय बैठकमा मन्त्रिमण्डल पुर्नगठनका विषयमा नीतिगत छलफल भएको थियो । सचिवालय बैठकले मन्त्रिमण्डल पुर्नगठनको विषयमा दुवै अध्यक्षले सहमति गर्ने जिम्मा दिएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement