गणतन्त्र दिवसमा प्रधानमन्त्रीको गीत सार्वजनिक (भिडियो)

गणतन्त्र दिवसमा प्रधानमन्त्रीको गीत सार्वजनिक (भिडियो)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं –कविता लेखनमा समेत परिचय बनाएका प्रधानमन्त्री केपी शर्मा ओली अब गीतकारका रूपमा पनि चिनिएका छन् । तेह्रौं गणतन्त्रको दिवसको अवसर पारी ओलीको गीत ‘बन्छ नमूना नेपाल’ आज युट्युबमा रिलिज भएको छ ।

गीतमा स्वदेशमा श्रम, विकास निर्माण, सुशासन, बालबालिकाको विद्यालयमा पहुँच, भरपर्दो अस्पताल र सामाजिक सुरक्षासहितको नेपालको कल्पना गरिएको छ जुन उनले आफू प्रधानमन्त्री भएपछि ल्याएको ‘समृद्ध नेपाल र सुखी नेपाली’को अवधारणामा नै आधारित छ ।

मुलुक बन्दाबन्दीमा परेका बेलामै उनले यसै वर्ष वैशाख २० गते रचना गरेको कवितालाई संगीतकार अशोककुमार राईले सङ्गीत भर्नाका साथै सङ्गीत संयोजन गरेका हुन् ।

‘प्रधानमन्त्रीको सचिवालयमार्फत हात परेको कविता वैदेशिक रोजगारीमा गएका नेपाली दाजुभाइ तथा दिदीबहिनीलाई लक्ष्य गरी लेखिएको पाएँ, यस्तो समय सान्दर्भिक रचना पाएपछि गीत बनाउने रुचि लागिहाल्यो’, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठानका सदस्य राईले भने ।

यसअघि ओलीका ‘खर्पन’(२०४१), मेरो जून हरायो(२०६२), समृद्धिको सपना(२०७५), ‘अब आँसु खसाउनु पर्दैन’(२०७७) कविता प्रकाशित छन्। कारागारमा सिसाकलमले चुरोटका खोलमा लेखिएका उनका केही कविता प्रहरीले त्यतिबेलै जफत गरी लगिसकेको छ । पन्ध्र वर्ष जति कारागारमा रहँदा कविता लेख्ने गरेका ओलीलाई अहिले राष्ट्रको नेतृत्व हाँकिरहेका बेला त्यही कवि मनले बेलाबेला कविता लेख्न लगाइरहन्छ ।

गीतकार ओलीको गीतमा सञ्जय तुम्रोक, दुर्गा परियार र श्रेयासी चेम्जोङले स्वर दिएका छन्। छरिएर रहेका गायकगायिकालाई मोबाइलमा स्वर भर्न लगाएर सङ्गीतकार राईले तिनलाई संयोजन गरेका हुन् ।

‘लकडाउनका बेला मनमैजु, बाँसबारी र मैतीदेवीमा बसेका गायकगायिकालाई ट्रयाक पठाई मोबाइलमा स्वर भर्न लगाएँ र तिनलाई जोडेर गीत तयार गरें,’ राईले भने ।

अन्तरा साङ्गीतिक समूह बागबजारका तर्फबाट निर्मित गीतको भिडिओ पनि तयार गरिएको छ जसको संयोजन सावन श्रेष्ठ र सौहार्द राईले गरेका छन् । देशभक्ति, क्रान्तिकारी भावधारा तथा जनताको आवाजलाई लिपिबद्ध गरी करीब एक हजार गीति रचनामा सङ्गीत भरिसकेका ५० वर्षीय प्राज्ञ राई भन्छन्, ‘सरकारले विदेशमा गएका नेपालीलाई स्वदेश ल्याएर व्यवस्थापन पनि गर्नुपर्छ ।’

यो गीतले प्रवासमा रहेका नेपालीलाई ठूलो सन्देश दिने उनको विश्वास छ । लकडाउन खुलेपछि ‘वैदेशिक रोजगारीका लागि विदेश जानुहुने सम्पूर्ण दिदीबहिनी दाज्युभाइलाई सम्मान तथा सुस्वास्थ्यको कामना’ गरिएको गीतलाई परिमार्जन गरिने सङ्गीत तथा नाट्य प्रतिष्ठानका संगीत विभाग प्रमुख राईको योजना छ ।

स्वदेशमै रोजगारी
स्वदेशमै बास
रोजिँदैन प्रवास
अब गर्ने देश विकास
खेर जान्नन् नदीनाला
बाँझा हुन्नन् खेत
नाङ्गा हुन्नन् डाँडापाखा
यो उर्वर सुन्दर देश ।