दोस्रो तहका नेतालाई बैठकमा सहभागी गराएको भन्दै झलनाथसहित वरिष्ठ नेताबाट ओली र प्रचण्डको आलोचना


काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा अध्यक्षले दोस्रो तहका नेताहरुलाई बैठकमा सहभागी गराएको भन्दै वरिष्ठ नेताहरुले आक्रोश व्यक्त गरेका छन् । अध्यक्षद्वय केपी शर्मा अ‍ोली र पुष्पकमल दाहाल प्रचण्डले आफू पक्षका चार जना नेतालाई मात्र बैठकमा सहभागी गराएको भन्दै वरिष्ठ  नेताहरुले आक्रोश पोखेका हुन् ।

केही दिनअगाडि ओली र प्रचण्डबीचको बैठकमा ओली पक्षबाट उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल र प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंखर पोखरेल र प्रचण्डको पक्षबाट वर्षमान पुन र जर्नादन शर्मालाई सहभागी गराइएकोमा नेताहरुले असन्तुष्टि पोखेका हुन् ।

शीर्ष नेताहरु बसेर पार्टीभित्रको समस्या हल गर्नुपर्ने भन्दै वरिष्ठ नेता झलनाथ खनाल, माधव कुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र देव गुरुङ अध्यक्ष ओली र प्रचण्डप्रति आक्रोशित भएका हुन् । त्यस्तै नेताहरु टोपबहादुर रायामाफी, पम्फा भुसाललगायतका नेताहरुले पनि असन्तुष्टी जनाएका छन् । खासगरी नेकपा अध्यक्ष प्रचण्डले पुन र शर्मालाई बैठकमा सहभागी गराएपछि पूर्वमाओवादी पक्षका नेताहरुले असन्तुष्टि जनाएका हुन् । गृहमन्त्री रामबहादुर थापा बादलले दोस्रो तहका नेताहरुलाई बैठकमा सहभागी गराएको विषयमा हिजो सार्वजनिक अभिव्यक्ति दिएका थिए ।

उनीहरुले शीर्ष नेताहरु हुँदाहुँदै दोस्रो तहका नेताहरुलाई सहभागी गराएर आफूहरुको अपमान गरेको गुनासो छ । नेताहरुको असन्तुष्टिकाबीच अध्यक्षद्वयले ‘वान टु वान’ वार्ता सुरु गरेका छन् । उनीहरुले दुवै अध्यक्ष बसेर समस्याको हल गर्ने बताएका छन् । पार्टीभित्रको विवाद समाधान हुन नसक्दा नेकपा स्थायी कमिटी सदस्या पटक-पटक स्थगित हुँदै आइरहेको छ ।

नेकपा अध्यक्ष प्रचण्डले अ‍ोलीले दुईमध्ये एक पद छोड्नुपर्ने बताएका छन् भने ओलीले दुवै पद नछोड्ने अडान लिइरहेका छन् । बुधबारको भेटमा ओलीले प्रचण्डलाई आफू कुनै पनि पद नछोड्ने र छोड्नै परे पार्टीको महाधिवेशन र चुनाव कुर्न आग्रह गरेका थिए ।

नेकपा स्थायी कमिटी सदस्यहरुले ओलीले पार्टी वा सरकारमध्ये एक पद छोड्नुपर्ने माग राखेपछि नेकपाभित्रको विवाद उत्कर्षमा पुगेको हो । बहुमत स्थायी कमिटी सदस्यहरुले ओलीको राजीनामा मागेपछि ओली बिच्किएका छन् ।

उनले पटकपटक स्थायी कमिटी बैठक स्थगित गराउँदै आएका छन् । स्रोतकाअनुसार ओलीमाथि कारबाही गर्ने तयारी गरेपछि स्थायी कमिटी बैठकको मिति सार्दै आएका छन् ।  बहुमत स्थायी कमिटी सदस्यहरुले २६ गतेको स्थायी कमिटी बैठक पनि स्थगित गरे नयाँ विकल्पबारे सोच्न चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement