स्वीस बैंकमा प्रधानमन्त्रीको ५.५ मिलियन डलर जम्मा भएको खबर असत्यः प्रधानमन्त्रीको सचिवालय


काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले प्रधानमन्त्रीको स्वीस बैंकमा ५.५ मिलियन अमेरिकी डलर जम्मा भएको खबरमा झुटो र भ्रामक भएको बताएको छ ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले ग्लोबल वाच एनालाइसिसको हवाला दिदैं केही नेपाली अनलाइनहरूले छापेको समाचारमा कुनै सत्यता नरहेको बताएका हुन् ।

‘ग्लोबल वाच एनालाइसिसुको हवाला दिदैं केही नेपाली अनलाइनहरूले गैरजिम्मेवारीपूर्ण र बदनियतका साथ गरिररहेको अत्यन्त भ्रामक, गलत र चरित्रहत्या गर्न लक्षित झूठो सम्रेषणप्रति हाम्रो ध्यानाकर्षण भएको छ’, उनले भनेका छन्, ‘स्वीस बैंकमा खाता र ५.५ मिलियन अमेरिकी डलर जम्मा रहेको वा यस्तै व्यहोराका तथाकथित रिपोर्ट शतप्रतिशत गलत र कपोलकल्पित रहेका स्पष्ट गर्दछु । जुनसुकै दुर्नियतका साथ तयार गरी सम्प्रेषित यस्ता तथ्यहीन सामग्रीहरूलाई आधार मानेर समाचार बनाई नेपाली जनतामा भ्रम छर्न र प्रधानमन्त्रीज्यूलाई बदनाम गर्न उद्यत यस्ता कतिपय संचारमाध्यमहरूकप रवैया खेदजनक छ ।’

त्यस्तै उनले राष्ट्रिय हितको रक्षा, सीमा अतिक्रमणविरूद्द नयाँ नक्सा प्रकाशनको साहसिक कदम र सर्वसम्मतिद्वारा संविधान संशोधनजस्तो महत्वपूर्ण निर्णयमा सिंगो राष्ट्रलाई एकताबद्ध गर्दै प्रधानमन्त्रीले राष्ट्रको नेतृत्व सम्हालिरहेको निकै संवेदनशील बेलामा बदनाम गराउन यस किसिमले सुनियोजित षडयन्त्र गर्ने अनेकन् तत्वहरू सक्रिय रहेको उल्लेख गरेका छन् ।

यसैगरी थापाले आम नेपालीहरूलाई दुष्प्रचारको भ्रममा नपर्न आह्वान गरेका छन् । उनले सम्बन्धित निकायहरूले पत्रकारिताको न्यूनतम जवाफदेहिता, जिम्मेवारीबोध र सामाजिक मर्यादा एवं शिष्टाचारविपरित कार्यमा संलग्न व्यक्ति र संस्थाहरूमाथि कडा कारबाही गर्न माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement