प्रधानमन्त्रीको हस्ताक्षर रहेको नेकपाको पत्र: सरकारले विपन्नका लागि खाद्यान्नको प्रवन्ध गर्ने


काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनष्ट पार्टी (नेकपा)ले लकडाउनका कारण रोजगारी गुमाएर भोका रहेका नागरिकका लागि खाद्यान्नको व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओलीको हस्ताक्षर रहेको अन्तरपार्टी निर्देशनमा रोजगारी गुमाएर जीवन धान्न नसक्ने अतिविपन्न परिवारलाई खाद्यान्नको व्यवस्थापन गर्न सरकारसँग माग गरिएको हो ।

‘खाद्यान्न भण्डारणको व्यवस्था मिलाउने र अत्यावश्यक उपभोग्य वस्तुको अभाव हुन नदिने । रोजगारी गुमाएर जीवन धान्न नसक्ने अवस्थामा पुगेका अतिविपन्न परिवारहरूलाई जीवनयापनका लागि श्रम सहभागिताका आधारमा खाद्यान्नको प्रवन्ध गर्ने’, निर्देशनमा भनिएको छ ।

त्यस्तै कोविड–१९ बाट प्रभावित आर्थिक क्षेत्र, विशेषगरी संकटग्रस्त बन्न पुगेका होटल, रेष्टुरेण्ट, हवाई सेवा, शिक्षा, स्वास्थ्य, कृषि, उद्योगहरूको पुनरुत्थानका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गर्न सरकारसँग माग गरिएको छ ।

‘पर्यटन, यातायातलगायत अन्य प्रभावित क्षेत्रका मजदूर तथा कर्मचारीहरूलाई राहतको व्यवस्था गर्ने । विदेशमा रोजगारी गुमाएर समस्यामा परेका श्रमिक र अन्य नेपाली नागरिकलाई स्वदेश फर्काउन सुरु गरिएको प्रक्रियालाई निरन्तरता दिने । बाँकी नागरिकहरूको हकमा सम्बन्धित मुलुकमै रोजगारीको निरन्तरता, रोजगार पुनस्र्थापना र सुरक्षाको प्रबन्ध गर्न थप कुटनीतिक पहल गर्ने । विद्यार्थीहरूका समस्या समाधानका लागि समेत थप अग्रसरता लिने’, निर्देशनमा भनिएको छ ।

त्यस्तै विदेशमा रोजगारी गुमाएर फर्केका र स्वदेशमै बेरोजगार अवस्थामा रहेका युवाहरूको रोजगारीको प्रबन्धका लागि आवश्यक अनुसन्धान, योजना र स्रोत व्यवस्थापन गर्नुपर्नै बताइएको छ ।

‘कोरोनाको बढ्दो संक्रमणका कारण दैनिक श्रम गरी जीवनयापन गर्ने वर्ग तथा समुदायलाई स्थानीय तहमार्फत खाद्यान्न र अत्यावश्यक वस्तुहरू समेत राहतको व्यवस्था गर्ने’, निर्देशनमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement