नेपालबाट राजनीतिमा एसियामै महिलाको उच्च सहभागिताः प्रधानमन्त्री अ‍ोली

नेपालबाट राजनीतिमा एसियामै महिलाको उच्च सहभागिताः प्रधानमन्त्री अ‍ोली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अ‍ोलीले नेपाल संविधानमा नै महिलाको ३३ प्रतिशत संसदमा प्रतिनिधित्व सुरक्षित गरी एसियामै राजनीतिमा महिलाको उच्च सहभागिता हुने मुलुकमा पर्न सफल भएको बताएका छन् ।

१११ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री अ‍ोलीले समानुपातिक समावेशी सिद्धान्तको आधारमा सहभागी हुने हक सुनिश्चित गरिएको पनि स्पष्ट पारेका छन् ।

लैङ्गिक समानता र महिला विकासका लागि राज्यको तर्फवाट भएका नीतिगत, कानूनी, संरचनागत एवम् प्रक्रियागत सुधारको फलस्वरुप राजनीति र प्रशासनको क्षेत्रमा महिलाहरुको प्रतिनिधित्व उल्लेखनीय रुपमा बृद्धि भएको छ । शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सूचकहरुमा पनि सकारात्मक सुधार भएका छन् । नेपालको लैङ्गिक विकास सूचकाङ्कमा भएको सुधारबाट पनि यस क्षेत्रमा नेपाल सरकारले गरेको लगानी र थालेको प्रयासले राम्रो प्रतिफल दिएको मान्न सकिन्छ ।

‘यद्यपि समाजको न्युन चेतनाका कारण समाजमा महिला उत्पीडिनका अवशेषहरु कायम छन् । कानूनी प्रवन्ध र राज्यको प्रयासले मात्र यस्ता उत्पीडनहरुलाई निमिट्यान्न पार्न सकिँदैन । त्यसमा लागि सामाजिक जागरुकता आवश्यकता पर्दछ । यस्तो जागरुकताको अभावका कारण महिला र पुरुष बराबरी भनिए पनि समाजमा भेदभाव र असमानताहरु कायमै छन् । अज्ञानता र कुरीतिको आड लिएर भएका खराव अभ्यासका कारण वोक्सी, छाउपडी, दाइजो, बालबिवाह र जातीय विभेदजस्ता उत्पीडनकारी अवशेष कायमै छन् । यसले महिलामाथि दुव्र्यवहार र हिंसालाई दुरुत्साहन गरिरहेको छ । यसखाले अपराधलाई निरुत्साह गर्न समाजका सबै पक्षले सहकार्य गरी रचनात्मक रुपमा जनचेतना जगाउनु आवश्यक छ’, उनले भनेका छन् ।

प्रधानमन्त्री अ‍ोलीले यस्ता विभिन्न प्रकार र स्वरुपका लैङ्गिक विभेद तथा हिंसाका घटनाहरुलाई जरैदेखि निर्मूल गर्न सरकारले सून्य सहनशीलताको नीति लिई अपराधीलाई कडा कारवाही र पीडितलाई उचित क्षतिपूर्ति समेतको कानूनी व्यवस्था गर्दै नैतिक शिक्षा र सचेतनाका कार्यक्रमहरु निरन्तर गरिरहेको बताए ।

‘यसवाट स्थानीय तहमा हजारौं महिलाहरुको प्रतिनिधित्वले राजनीति र विकासमा महिलाको योगदान उच्च भएको छ । झण्डै एक दशक अघिबाट शुरू भएको रोजगारीमा महिलाका लागि आरक्षणको व्यवस्थाले महिलाको प्रतिनिधित्व बढाउनुका साथै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । विशेषगरी आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाहरू लक्षित गरी रोजगारीका अवसरहरु वृद्धि गर्नेगरी सरकारका कार्यक्रमहरु सञ्चालन भइरहेका छन्’, उनले भनेका छन् ।

प्रधानमन्त्री अ‍ोलीले महिला र किशोरीमाथि हुने बलात्कार र हिंसाको नियन्त्रण र कारवाहीसम्वन्धी कानूनी व्यवस्थालाई थप कडा बनाइएको बताएका छन् । उनले सरकारले तेजावजन्य पदार्थको आक्रमण गर्नेलाई सजाय बृद्धि गर्दै पीडितलाई उचित क्षतिपूर्ति र रोजगारीको व्यवस्था हुनेगरी कानूनलाई थप सुदृढ पारेको पनि स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री अ‍ोलीले लैङ्गिक रुपमा हुने हिंसाको अन्त्य र सामाजिक न्याय तथा सम्मानपूर्ण जीवनयापनको अधिकार सुनिश्चित गर्दै हामी देशलाई समृद्ध र जनतालाई सुखी बनाउने अभियान अघि बढाइरहेको पनि बताए । र

‘आजको यस अवसरमा महिला दिदीबहिनीहरुलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी महिलाविरुद्ध हुने हिंसा अन्त्य गर्न तथा महिला सशक्तीकरण गर्ने सरकारको अभियानमा सबै एक भएर लाग्न सम्पूर्ण देशबासी दिदीबहिनी तथा दाजुभाइहरुलाई हार्दिक आह्वान गर्दछु’, उनले भनेका छन् ।