अहिलेको विश्वलाई पहिलेको भन्दा बढी शान्ति चाहिएको छ : प्रधानमन्त्री ओली

अहिलेको विश्वलाई पहिलेको भन्दा बढी शान्ति चाहिएको छ : प्रधानमन्त्री ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु– प्रधानमन्त्री केपी शर्मा ओलीले अहिलेको विश्वलाई पहिले पहिलेको भन्दा अझ बढी शान्ति आवश्यक भएको बताएका छन्।

ठैँटीस्थित धर्मकीर्ति बिहारमा एक वर्षसम्म सञ्चालित गृही विनय (गृहस्थ जीवन) सम्बन्धी प्रशिक्षणबाट उत्तीर्ण उपासक–उपासिकाहरुलाई प्रमाणपत्र वितरण गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले अहिलेको विश्वलाई शान्ति, करुणा, मानवता, स्नेह, ममता, दया र परोपकारभाव धेरै आवश्यक भएकाले बुद्धका शिक्षाहरु थप सामयिक भएको बताएका हुन् । प्रशिक्षणमा सहभागी ६४ जना उत्तीर्ण भएका थिए ।

खराबी उन्माद, आक्रोस र दम्भको मार्ग छाडेर शालीनता, विनयशीलता, मानवनीयता र आत्मियभाव देखाउन सकिए विश्वमा शान्ति छाउने र पृथ्वीको पनि सुरक्षा गर्न सकिने प्रधानमन्त्री ओलीको भनाइ थियो । प्रधानमन्त्री ओलीले भने, “आज विश्वमा मानवीय उन्माद र स्वार्थप्रेरित व्यवहारका कारण अशान्ति मच्चिएको छ । आफ्नो जिद्धीका लागि निर्दाेष मान्छेमाथि पनि कस्ले कतिबेला कहाँ सशस्त्र हतियार प्रहार र प्रतिप्रहार गर्ने हो भन्ने खालको भय पैदा भएको छ । त्यसको अन्त्यका लागि बुद्धमार्गको अनुशीलन उपयोगी हुन्छ ।’’उनले परस्पर बेमेल र अशान्ति गर्ने प्रवृत्ति मानवीय प्रवृत्ति नभएकाले त्यसले विनास मात्रै निम्त्याउने धारणा राखे।

कार्यक्रममा बिहारका प्रमुख धम्मवती गुरुमाँले प्रधानमन्त्री ओलीलाई आरोग्यसहित नेपाललाई राम्रो बाटोमा लान सक्नुहोस् भनी कामना गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीका धर्मपत्नी राधिका शाक्य र काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोललगायत सहभागी थिए ।