काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा देखिएको समस्या समाधान नभएपछि आजका लागि तय भएका रुपन्देही र पाल्पाका कार्यक्रम स्थगित भएका छन् ।
प्रधानमन्त्री ओली घाटीमा समस्या देखिएर बोल्न गाह्रो भएपछि बुधबारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाहिर निस्किएका छैनन् ।
चिकित्सकहरूले घर बाहिर ननिस्कन भनेपछि प्रधानमन्त्री ओलीले रुपन्देही र पाल्पा जाने कार्यक्रम स्थगित गरेका हुन् । चिसोका कारण स्वास्थ्यमा समस्या देखिएपछि बुधबारदेखि उनी औपचारिक कार्यक्रममा सहभागी भएका छैनन् ।
प्रधानमन्त्री ओलीले आजका लागि तय कार्यक्रम पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।
‘डाक्टरले फिजिकल जाँदा गाह्रो हुन्छ भन्नुभयो । भर्चुअल रूपमा सम्बोधन गर्नुहुन्छ, स्वास्थ्यका कारण उहाँ फिजिकल रूपमा उपस्थित हुन नमिल्ने भो’, उनको सचिवालयले भनेको छ ।
सचिवालयले सञ्चारकर्मीहरूलाई बिहान प्रधानमन्त्री ओलीले बिहान ११ः१५ बजे पाल्पाको बगनासकाली गाउँपालिकाको भवन उद्घाटन, दिउँसो १२ः१५ बजे तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन र दिउँसो १२ः५० बजे सिद्धार्थ राजमार्गको सिद्धबावामा निर्मित सुरूङ मार्गको ब्रेकथ्रु र दिउँसो १ः१५ बजे बुटवल–गोरुसिंगे सडक स्तरोन्नति शिलान्यास गर्ने कार्यक्रम तय भएको जानकारी दिएको थियो ।
प्रधानमन्त्री ओलीलाई चिसोजन्य समस्याले घाँटी दुख्दा बोल्न गाह्रो भइरहेको छ।
प्रतिक्रिया