काठमाण्डु- पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरको बाटाे असोज १ गतेदेखि नियमित यातायात सञ्चालन गर्ने तयारी गरिएको छ।
पहिरोका कारण अवरुद्ध सडक खुलाउन सुरु गरिएको नयाँ ट्र्याक निर्माण अन्तिम चरणमा पुगेको हो । अहिले ग्राभेलिङ, स्लोप कटिङ, नाली निर्माण तथा सडक फिनिसिङको काम तीव्र गतिमा भइरहेको छ।
निर्माण पक्षका अनुसार नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक निर्माण गरिएको छ भने नालीसहित संरचनाको कुल चौडाइ करिब साढे सात मिटर रहेको छ। आइतबार निर्माणको एक चरण पूरा भएपछि केही सवारीसाधनलाई परीक्षणका रूपमा ट्र्याकबाट पार गराइएको थियो।
तर, नयाँ ट्र्याक सर्वसाधारणका लागि खुला भइसकेको छैन। परीक्षणका लागि मात्र केही सवारीसाधन सञ्चालन गराइएको नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) ले जनाएको छ।
नयाँ ट्र्याक निर्माणको जिम्मा पाएको निर्माण कम्पनीका इञ्जिनियर ईश्वर नेपालले निर्माणको काम अन्तिम चरणमा पुगेको बताए । उनका अनुसार आज ११औँ दिनमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम भइरहेको छ ।
हाल नयाँ ट्याकमा नदीको गेग्रान प्रयोग गरी ग्राभेलिङ भइरहेको छ । सडकको कुनामा ड्रेन निर्माण गरी पाइप राख्ने र त्यसलाई बेरेर माथि टिक ड्रेन निर्माण गर्ने काम भइरहेको नेपालले जानकारी दिए ।
सब–बेसको अन्तिम तह निर्माण भएपछि सडक यातायात सञ्चालनका लागि तयार हुने उनको भनाइ छ । करिब ३०० मिटर लामो नयाँ ट्र्याकमा सात मिटर चौडाइको सडक र नालीसहित करिब साढे सात मिटरको संरचना निर्माण गरिएको छ ।
निर्माणका क्रममा आवश्यकताअनुसार ग्रेडर, रोलर र एक्साभेटरसहित हेभी उपकरण तथा ४०–५० जना मजदुर परिचालन गरिएको छ।
निर्माण पक्षले थप पहिरो वा अन्य समस्या नआएमा असोज १ गतेदेखि नयाँ ट्र्याकबाट नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने लक्ष्य राखेको छ।




प्रतिक्रिया