कृष्णभीरको नयाँ ट्र्याक असोज १ देखि सञ्चालनमा आउने

कृष्णभीरको नयाँ ट्र्याक असोज १ देखि सञ्चालनमा आउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भोटेकोशी बाढीले कटान गरेपछि अवरुद्ध पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीर खण्डमा असोज १ देखि पूर्ण रूपमा सञ्चालनमा आउने भएको छ ।

भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले सडक भासिएपछि पृथ्वी राजमार्ग बन्द रहेको छ । सडक भासिएको ७ दिनपछि २० भदौमा डाइभर्सन ट्र्याक खोलिएको थियो ।

भासिएको सडकभन्दा १५ मिटरमाथिबाट नयाँ ट्र्याक खोलिएको हो । अहिले नयाँ ट्र्याकको सडकमा ग्रेड मिलाउने काम भइरहेको छ । ग्रेड मिलाएर ग्राभेल गरिने सडक विभागले जनाएको छ । भासिएको खण्डको २ सय ५२ मिटर ट्र्याक खोलेर सुधार गर्ने काम भइरहेको छ ।

आइतबार ग्यास बुलेटलाई नयाँ ट्र्याकबाट पठाएर सडकको परीक्षण गरिएको थियो । सडक सुधारका लागि कृष्णभीरमा सडक विभागका प्राविधिक टोली खटिएका छन् ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक विभागले नेपाल जियो टेक्निकल सोसाइटीको प्राविधिक सहयोगमा ट्र्याक खोलेको हो । कृष्णभीर पहिरो व्यवस्थापन तथा अध्ययन समितिका संयोजक मन्दीप सुवेदी नेतृत्वको टोलीले पहिरो गएको खण्डको भौगोलिक अध्ययन र डिजाइनको काम गरेको हो ।

कृष्णभीर सडकमा पहिलो प्राथमिकता ग्यास बुलेटलाई दिइने तयारी छ । तर सडक तयार भए पनि पहिलो दिन सबै सवारीसाधनका लागि खुला गर्ने कि ग्यास बुलेटलाई मात्र अनुमति दिने भनेर निर्णय भइसकेको छैन ।

कृष्णभीरमा पहिरो गएर अलपत्र परेका ट्रक र केही सवारीसाधनलाई आइतबार नयाँ ट्र्याकबाट पठाइएको थियो । अहिले यो खण्ड ठप्प बन्दा उपत्यकामा दैनिक उपभोग्य वस्तु र ग्यास तथा पेट्रोलियम पदार्थ ढुवानी गर्न समस्या भएको छ ।