काठमाडौं– सभामुख कृष्णबहादुर महरासँग नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले शिष्टाचार भेट गरेका छन्।
सभामुखको कार्यालय सिंहदरवारमा शुक्रबार भएकाे भेटमा सभामुख महराले बेलायतसँग नेपालको सम्बन्ध धेरै पुरानो र सौहार्दपूर्ण रहेको बताउँदै आपसी सहयोग र सहकार्यमा अझ वृद्धि हुने विश्वास व्यक्त गरे।
संविधान निर्माणपछि तीन तहको निर्वाचन सम्पन्न गरेर देशले संघीय शासन प्रणालीको अभ्यास गरिरहेको भन्दै सभामुख महराले आफूहरु संविधानको मर्मअनुरुप नयाँ ऐन, कानून निर्माणलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको बताएकाे सभामुखको सचिवालयले जनाएको छ।
बेलायत सरकारले नेपालमा शिक्षा, सुरक्षालगायतका क्षेत्रमा राम्रो सहयोग गरिरहेको भन्दै सभामुख महराले शान्ति प्रक्रियादेखि भूकम्पको बेला गरेको सहयोग र पहलप्रति पनि धन्यवाद व्यक्त गरे।
उनले गोरखा सैनिकको समस्या समाधान गर्न दुवै देशले छलफल गरी उनीहरुको हितमा काम गर्नुपर्ने भन्दै समझदारी हुनेमा विश्वास व्यक्त गरे।
सभामुखसँगको भेटमा बेलायती राजदूत मोरिसले प्रतिनिधिसभाको सभामुखमा निर्वाचित भएकाेमा बधाई ज्ञापन गरे। बेलायत र नेपालको सम्बन्ध निकै पुरानो र गहिरो रहेको भन्दै राजदूत मोरिसले आगामी दिनमा यो सम्बन्धलाई अझै दिगो र सुमधुर बनाउनुपर्नेमा जोड दिए।
प्रतिक्रिया