पूर्व सभामुख महराको स्वीकारोक्ति : चिनियाँ सुन व्यवसायीसँग चिनजान छ तर कारोबार छैन


काठमाण्डु – नेकपा माओवादी केन्द्रका उपाध्यक्ष तथा पूर्व सभामुख कृष्णबहादुर महराले चिनियाँ सुन व्यवसायी दाओजिन वाङसँग चिनजान रहेको स्वीकारेका छन् ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) सँगको बयानमा उनले सुन तस्कर वाङसँग चिनजान रहे पनि आफूले कारोबार नगरेको बयान दिएका छन् ।

सीआईबीका अनुसन्धान अधिकृतले महरासँग सरकारी वकिलको रोहबरमा २ दिन बयान लिएका छन् । २०७९ पुस १० गते चिनियाँ नागरिक ली हासोङले ७३० थान इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर ल्याएको सुनबारे अनुसन्धान अधिकृतहरूले गरेको प्रश्नमा उनले आफूले कारोबार नगरेको बताएका स्रोतले जनाएको छ ।

सुन तस्करी जाँचबुझ आयोगले उनलाई संगठित तस्करी गरेको कसूरमा मुद्दा चलाउन सिफारिस गरेको थियो । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले प्रतिवेदन बुझाएपछि चैत ५ गते उनलाई पक्राउ गरिएको थियो ।

भेपमा सुन ल्याउने गिरोहका चिनियाँ सुन तस्कर दाओजिन वाङसँग ‘कनेक्सन’ देखिएपछि उनी अनुसन्धानको दायरामा आएका छन् । बयानका क्रममा उनले आफू राजनीतिक व्यक्ति भएकाले धेरै जनासँग फोनमा कुरा भए पनि कारोबारमा संलग्न नरहेको बताए ।

दाओजिन वाङ ६० किलो सुन प्रकरणमा पनि संलग्न छन् । महराका छोरा राहुल पनि सुन तस्करी मुद्दामा थुनामा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement