विराटनगर- नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले कुनै एक कर्मचारीले गरेको गल्तीलाई आधार बनाउँदै गृहमन्त्री रमेश लेखकको राजीनामा माग्नु गलत भएको बताएका छन् ।
विराटनगरमा आइतबार आयोजित पत्रकार भेटघाटमा सिटौलाले कर्मचारीले गरेको गलत क्रियाकलापलाई आधार बनाएर मन्त्रीको राजीनामा माग्ने कार्यले गलत नजिर बस्ने बताए ।
उनले विगतमा मन्त्रीहरू माथि नै कुरो उठेकोले राजीनामा दिएको स्मरण गराए । तर, अहिले अध्यागमन विभागको कर्मचारीमाथि आरोप लागेको र अख्तियारले छानबिन गरिरहेकोले मन्त्री लेखक केही समय पर्खिनुपर्ने उनको मत छ ।
यसअघि कांग्रेस नेता डा. शेखर कोइरालाले नैतिकताको आधारमा गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने बताएका थिए ।
विराटनगरमै शनिबार कोइरालाले यो विषय उठिसकेकोले अब मन्त्री लेखकले राजीनामा दिएर अनुसन्धानलाई सघाउनुपर्ने मत राखेका थिए । त्यसको भोलिपल्ट नेता सिटौलाले भने गृहमन्त्री लेखकले राजीनामा दिन नपर्ने भन्दै बचाउ गरेका हुन् ।
प्रतिक्रिया