कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने

कृष्णप्रसाद यादवले आज विश्वासको मत लिने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- कृष्णप्रसाद यादवले आज मधेश प्रदेश सभाबाट विश्वासको मत लिने भएका छन्। यसका लागि बिहान ११ बजे प्रदेश सभा बैठक बोलाइएको छ।

जनमत पार्टीले गत वैशाख २२ गते मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवलाई विश्वासको मत लिनुपर्ने अवस्था आएको हो। मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा वैशाख २८ गते बसेको मन्त्रिपरिषद् बैठकले जेठ १ गते विश्वासको मत लिने निर्णय गरेको थियो।

संवैधानिक व्यवस्थाअनुसार सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले ३० दिनभित्र प्रदेश सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान रहेको छ।

१०२ सदस्यीय मधेश प्रदेश सभामा सरकार टिकाउन ५२ जना प्रदेशसभा सदस्यको समर्थन आवश्यक पर्छ। हाल सरकारलाई समर्थन गर्ने दलहरूको संख्या ६३ रहेको बताइएको छ। सरकारलाई नेपाली काँग्रेसका २२, जनता समाजवादी पार्टी नेपालका २६ तथा नेपाल कम्युनिष्ट पार्टीका १५ प्रदेशसभा सदस्यको समर्थन रहेको छ।

प्रदेश सभाका सभामुख राम अशिष यादवले मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे बैठक बोलाइएको जानकारी दिएका छन्।

यद्यपि सरकारलाई दिएको समर्थन फिर्तापछि जनमत पार्टीभित्र आन्तरिक विवाद देखिएको छ। पार्टीका बहुमत अर्थात् नौ जना प्रदेशसभा सदस्यले सरकारबाट समर्थन फिर्ता लिएको घोषणा गरे पनि जनमतबाटै अर्थमन्त्री रहेका महेश प्रसाद यादव र समाज कल्याण तथा खेलकुद मन्त्री वसन्त कुशवाहा भने अझै पदमै कायम छन्।