काठमाण्डु – प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँवरले सकारात्मक मनोवृत्तिका साथ नागरिक कर्तव्यलाई केन्द्रविन्दुमा राखेर अगाडि जान सक्यौं भने समाज परिवर्तन सहज हुने विचार व्यक्त गरेका छन् ।
‘म बदलिन्छु अनि मेरो देश बदलिन्छ’ भन्ने नाराका साथ काठमाण्डु फोहोर संकलन दौड अभियानका क्रममा शुक्रबार नक्सालमा आयोजित समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले अभियानले स्वाभाविक रूपमा समाजमा एक किसिमको चेतना फैलाउने चर्चा गर्दै समाज रूपान्तरणका लागि हरेक नागरिकले आफ्नो जिम्मेवारी पूरा गर्ने हकमा महत्त्वपूर्ण काम गर्ने विश्वास व्यक्त गरे ।
अधिकार र कर्तव्यको कुरालाई सँगसँगै लिएर जान नसकेको कारणले सबै किसिमको समस्या आउने गरेकाले युवा वर्गले त्यसप्रति विशेष चासो दिनुपर्नेमा उनले जोड दिए ।
काठमाण्डु महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल र नेपाल टेलिकमका प्रबन्धक हरि ढकालले शुभकामनासहित आ–आफ्नो मन्तव्य व्यक्त गरेको समारोहमा मैनादेवी फाउन्डेसनका अध्यक्ष केपी खनालले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।
नक्सालस्थित नारायण चौरबाट फोहोर संकलन गर्दै सुरू भएको दौड अभियान नागपोखरी, नारायणहिटी दरबारको मूल गेट, केशर महल चोक, लैनचौर, एम्बेस्डर होटेल हुँदै पुनः नारायण चौरमा पुगेर सम्पन्न भएको थियो । दौडमा प्रथम हुनेलाई ५० हजार रूपैयाँ, द्वितीय हुनेलाई २५ हजार रूपैयाँ, तृतीय हुनेलाई १५ हजार रूपैयाँ र चौथो हुनेलाई ५ हजार रूपैयाँ पुरस्कार समेत प्रदान गरिएको थियो ।
दौड अभियानमा नेपाल प्रहरीका कर्मचारीहरू, विभिन्न संघसंस्थाका प्रतिनिधिहरू लगायत विभिन्न महानुभावको सहभागिता थियो ।
प्रतिक्रिया