काठमाण्डु उपत्यका उपप्रमुख/उपाध्यक्ष सञ्जालले आपसी सहकार्यलाई बृहत बनाउने

काठमाण्डु उपत्यका उपप्रमुख/उपाध्यक्ष सञ्जालले आपसी सहकार्यलाई बृहत बनाउने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – स्थानीय तहमा उपप्रमुख र उपाध्यक्षहरूका अधिकार, प्राप्त अधिकारको प्रभावकारी कार्यान्वयन, आपसी सहकार्य, समन्वय, सम्बन्ध र साझा कार्यक्रमका विषयमा विगत अभ्यासलाई बृहत र सुक्ष्म समीक्षा गर्ने निर्णय भएको छ ।

कीर्तिपुर नगरपालिकाले आईतबार आयोजना गरेको ‘काठमाण्डु उपत्यका उपप्रमुख/उपाध्यक्ष सञ्जाल’को बैठकले विगतको प्रारम्भिक समीक्षा गर्दै यस्तो निर्णय गरेको हो ।

हरेक बैठकमा उपप्रमुखको कार्य क्षेत्रसँग सम्बन्धित एउटा विषयमा विज्ञको प्रस्तुतीकरणसहित छलफल गर्ने गरिएको छ । यसरी गरिएको छलफलको प्रभावकारिता र अधिकारको प्रयोगसँगै आगामी वर्षको बजेट, नीति तथा कार्यक्रमका साझा विषय बैठकमा छलफल हुनेछ । त्यो बैठक काठमाण्डु महानगरपालिकाले आयोजना गर्नेछ ।

२०७९ फागुन ३० गते काठमाण्डु महानगरपालिकाले आह्वान गरेको पहिलो बैठकबाट प्रारम्भ भएको सञ्जालले आईतबार प्रारम्भिक समीक्षा सहितको १०औं बैठक सम्पन्न गरेको छ । हरेक महिना फरक पालिकाका उपप्रमुख/उपाध्यक्षको अध्यक्षतामा बैठक आयोजना हुने गरेको छ ।

हरेक बैठकले आगामी बैठक आयोजना गर्ने पालिका र बैठकमा छलफल गर्नुपर्ने विज्ञ प्रस्तुति सहितको विषय निर्धारण गर्ने गरेको छ । यस क्रममा आईतबारको बैठकको अध्यक्षताका लागि गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले कीर्तिपुर नगरपालिकाका उपप्रमुख शुभलक्ष्मी शाक्यलाई बैठकको निर्णय पुस्तिका हस्तान्तरण गरेका थिए ।

कानूनले उपप्रमुख/उपाध्यक्षलाई दिएका अधिकारका बारेमा समान बुझाइ निर्माण गर्ने, कार्यप्रणालीमा एकरूपता ल्याउने, साझा सवालमा सहकार्य तथा समन्वय गर्ने, समस्या र चुनौतीलाई साझा संयन्त्रमार्फत समाधान गर्ने, असल अभ्यास र सिकाइ आदानप्रदान गर्ने सञ्जाल गठनको उद्देश्य छ ।

बैठकमा बोल्दै कीर्तिपुर नगरपालिकाका प्रमुख कृष्णमान डंगोलले सञ्जालमा आपसी ज्ञान, सीप र क्षमता आदान प्रदान गरेपछि अधिकारको व्यवस्थित प्रयोगलाई पूर्ण बनाउने मद्दत हुने धारणा राखे । उपत्यकाको एकीकृत र समन्वयात्मक विकासका लागि साझा बुझाइ निर्माण गर्न, उपप्रमुख र उपाध्यक्षहरूलाई निक्षेपण गरिएको अधिकारबाट नगरवासीलाई अधिक लाभ दिने क्षमता विकास गर्ने कार्यका लागि सञ्जालको प्रयोग गर्नुपर्ने महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले धारणा राखिन् ।

उपप्रमुख शुभलक्ष्मी शाक्यले, नगर विकास र सेवाका लागि समान दृष्टि निर्माणका लागि सञ्जालले काम गरिरहेको धारणा राखे । अघिल्लो बैठकका अध्यक्ष गोकर्णेश्वर नगरपालिकाका उपप्रमुख सान्नानी लामाले नेपाल भाषा र तामाङ् भाषालाई कामकाजी भाषाका रूपमा प्रयोग गर्ने विषयमा अघिल्लो बैठकले दिएको पृष्ठपोषण लाभदायक भएको उल्लेख गरे । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले, उपत्यकाको एकीकृत विकासका लागि सञ्जालमा गरिने छलफलले नतिजामा योगदान दिने धारणा राखे ।

अवलोकनपछि वरिष्ठ अधिकृत सुजिन्द्र महर्जनले कीर्तिपुरका विकास पद्धति, धार्मिक, सामाजिक सम्पदा, पर्यटन तथा अन्य सहकार्यका सम्भावना, काठमाण्डु महानगरपालिकाको सहकार्यमा निर्माण भइरहेको युद्ध स्मारक पार्कका विषयमा प्रस्तुतीकरण गरेका थिए ।

त्यस क्रममा उपत्यकाका पालिकाहरूका राजस्वको दरमा समानता प्रदान गर्ने सम्भावना, पर्यटन प्रवद्र्धन र व्यवस्थापनका साझा कार्यक्रम, जात्रा पर्व सञ्चालनका लागि फरक–फरक पालिकामा भएका सम्पदा स्थलहरूको सम्बन्धलाई उजागर गरेर आन्तरिक धार्मिक तथा सांस्कृतिक पर्यटनको प्रवद्र्धनलाई महसूसयोग्य नतिजामा रूपान्तरण गर्नुपर्नेमा जोड थियो ।

बैठकअघि टौदह, चोभारको मञ्जुश्री गुफा, बाघ भैरव लगायत स्मारकहरूको स्थलगत अवलोकन भ्रमण गरिएको थियो ।

सञ्जालमा उपत्यकाका २ वटा महानगरपालिकासहित १८ वटा नगरपालिका र ३ वटा गाउँपालिका गरी २१ वटा स्थानीय तहका उपप्रमुख/उपाध्यक्ष सञ्जालका सदस्य हुन् ।