काठमाण्डुसहित सहरी क्षेत्रमा व्यापक काेराेना संक्रमण

काठमाण्डुसहित सहरी क्षेत्रमा व्यापक काेराेना संक्रमण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – संघीय राजधानी काठमाण्डुसहित सहरी क्षेत्रमा कोरोना भाइरस व्यापक रूपमा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)ले हालै गरेको सेरो प्रिभिलेन्स सर्भेले सहरी क्षेत्रमा समुदायमै संक्रमण फैलिएको देखाएको छ। त्यसमा पनि काठमाडौं उपत्यका ‘हटस्पट’ बनेको छ। उपत्यकामै कुल संक्रमितको संख्या ७६ हजार ३ सय ४८ पुगेको छ।

महाशाखाका निर्देशक डा. वासुदेव पाण्डेले सहरी क्षेत्रमा सबै उमेर समूहमा संक्रमण देखिएको बताए। ‘सबै उमेर समूहमा संक्रमण देखिनु समुदायमा संक्रमण भएको सूचक हो’, निर्देशक डा. पाण्डेले भने, ‘बालबालिका, महिला र वृद्धवृद्धामा समेत संक्रमण देखियो।’

मुलुकभर शनिबार २ हजार ५ सय ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये महिला ९ सय ७६ र पुरुष १ हजार ५ सय ३२ जना छन्। यससँगै नेपालमा संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ। पछिल्लो २४ घण्टामा २ हजार २ सय ६४ जना निको भएका छन्। त्यसैगरी, थप १७ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ३७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २ सय ७९ जनाको पीसीआर परीक्षण गरिएको थियो।

मुलुकभर सक्रिय संक्रमितको संख्या ३८ हजार ५ सय ८४ छ। काठमाडौं उपत्यकामा २० हजार ३ सय ४४ जना सक्रिय संक्रमित छन्। काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या १६ हजार ८ सय ९० पुगेको छ।

डा. पाण्डेका अनुसार काठमाडौंमा संक्रमितमध्ये ५ प्रतिशतभन्दा थोरै व्यक्तिको मात्रै यात्रा विवरण पाइएको छ। मन्त्रालयका अनुसार शनिबार उपत्यकामा १ हजार ३ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। तीमध्ये ७ सय ८८ पुरुष र ५ सय ६९ महिला छन्। थपिएका संक्रमितमध्ये काठमाडौंका १ हजार १ सय १३ जना छन्। ललितपुरका १ सय ९५ र भक्तपुरका ४९ जना छन्।

काठमाडौंमा मात्र १० हजार ५ सय १ जना होम आइसोलेसनमा छन्। ललितपुरमा २२ सय ५७ जना होम आइसोलेसनमा छन्। त्यस्तै भक्तपुरमा भने १७ सय १९ जना मात्र छन्। उपत्यकामा शुक्रबार १ हजार ८ सय ८८ जना संक्रमित थपिएका थिए। यो समाचार आजको अन्नपूर्णपोष्ट दैनिकमा छ ।