काठमाण्डु उपत्यका कोरोनाको केन्द्र बन्दै

काठमाण्डु उपत्यका कोरोनाको केन्द्र बन्दै

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – भौतिक दूरी कायम र मास्कको समुचित प्रयोगमा हेलचेक््रयाइँ बढेपछि काठमाण्डु उपत्यका कोरोना भाइरस संक्रमणको केन्द्र बनेको छ । उपत्यकासहित देशभर व्यक्ति व्यक्तिबीच भौतिक दुरी कायम निकै न्यून मात्रामा हुने गरेको छ भने अधिकांशले मास्कको सही प्रयोग नगर्दा जोखिम अत्यधिक बढिरहेको छ । सार्वजनिक यातायात, सरकारी कार्यालय, होटल, अस्पताल र विमानस्थलमा दैनिक जसो बढ्दो भीडभाडले कोरोनाको गति उच्च हुन थालेको छ ।

सरकारले पटक पटक आम नागरिकलाई कोरोनासँग ख्यालठट्टा नगर्न आग्रह गरे पनि स्वयं नागरिकले आत्मानुशासन तोड्दै गएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘कम्तीमा व्यक्ति व्यक्तिबीच दुई मिटर भौतिक दुरी कायम हुनुपर्छ । कुनै पनि बहानामा हेलचेक््रयाइँ गर्नुहुँदैन ।’

अन्य सबै जिल्लामा थपिएका संक्रमितलाई आधार मान्दा काठमाण्डु उपत्यकामा मात्रै झन्डै ५० प्रतिशत धेरै संक्रमित थपिएका छन् । अन्य जिल्लामा १६ असोजसम्म २४ हजार ४ सय २३ संक्रमित थपिएकामा काठमाडौं उपत्यकामा मात्रै १३ हजार ८० संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा बिहीबार १ हजार ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् । यो उपत्यकाको हालसम्मकै उच्च संक्रमण हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाण्डुमा १ हजार २ सय ८०, ललितपुरमा १ सय ६२ र भक्तपुरमा १ सय ९६ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म काठमाडौं उपत्यकामा कोराना संक्रमितको संख्या २६ हजार ७ सय ४१ पुगेको छ ।

हालसम्म काठमाण्डुमा २१ हजार ६ सय ७३, ललितपुरमा २ हजार ६ सय ८७ र भक्तपुरमा २ हजार ३ सय ८१ संक्रमित पुगेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो १६ दिनलाई आधार मान्दा दैनिक काठमाण्डु उपत्यकामा ८ सय १७ जनामा कोरोना संक्रमण पुष्टि हुने गरेको छ । सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले संक्रमणबाट जोगिने उत्तम उपाय आत्मानुशासन रहेको बताए । उनले भने, ‘भौतिक दुरी कायम गर्नुपर्छ । भीडभाड गर्नुहुँदैन । मास्क सही तरिकाले प्रयोग गर्नुपर्छ ।’ यो समाचार आजको राजधानी दैनिकमा छ ।