काठमाण्डु – काठमाडाैं उपत्यका भित्रका १८ वटै नगरको एकीकृत विकास गर्न सहरी पूर्वाधार निर्माण गर्ने गरी आन्तरिक गृहकार्य सुरु भएको छ ।
उपत्यकाभित्रका नगरको साधनस्रोत र जनशक्ति एकीकृत रूपमा परिचालन गरी आर्थिक साझेदारीमा एकीकृत कार्ययोजना निर्माण गर्न आन्तरिक गृहकार्य सुरु गरिएको हो ।
काठमाडौँ र ललितपुर महानगरपालिकासँगै उपत्यकाका १८ वटै नगरको प्राकृतिक, सांस्कृतिक, भौगोलिक अवस्था समान भएकाले सबै नगरलाई एउटै भूगोल मानी एकीकृत विकासको कार्ययोजना तयार गर्न लागिएको काठमाडौँ महानगरपालिकाले जनाएको छ । हाल काठमाण्डुमा महानगरसहित ११, ललितपुरमा महानगरसहित तीन र भक्तपुरमा चारवटा नगरपालिका छन् । छवटा स्थानीय तह भएको ललितपुरमा तीनवटा गाउँपालिका छन् । ती गाउँपालिकालाई एकीकृत विकासमा समेटिएको छैन ।
काठमाडौँ र ललितपुर महानगर भौगोलिक रूपमा सानो भए पनि बाक्लो बस्तीले व्यवस्थित सहरीकरणमा समस्या छ । दुई महानगरबाहेक अन्य १६ वटा नगरपालिकामा खेतीयोग्य जमिन, खुला क्षेत्र, वन लगायतका भूगोल धेरै भएकाले ती क्षेत्रमा व्यवस्थित सहरीकरण निर्माण गर्न आन्तरिक गृहकार्य सुरु गरिएको काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत एकनारायण आर्यालले जानकारी दिनुभयो ।
उपत्यकाका सबै नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको उपस्थितिमा एकीकृत योजना निर्माण गर्न समिति निर्माण गरिएको जानकारी अर्यालले दिनुभयो । उपत्यकाको पूर्वाधार विकास र सुविधा वितरण, समान मापदण्डका आधारमा गर्ने, यसको राजनीतिक नेतृत्व उपत्यका नगरपालिका फोरमले गरे पनि प्रशासनिक नेतृत्व प्रमुख प्रशासकीय अधिकृतले गर्ने गरी कार्ययोजना तयार गर्न लागिएको छ ।यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।




प्रतिक्रिया