काठमाडौँ – चैत्र कृष्ण औँसीका दिन आज (शुक्रबार) काठमाडौँ उपत्यकामा परम्परागत घोडेजात्रा पर्व मनाइँदैछ । यो जात्रा हरेक वर्षको चैत कृष्ण औँसीको दिन मनाइन्छ । उपत्यकामा प्रचलित मध्येको यो जात्रा प्राचीन जात्रा मानिन्छ ।
नेपाली सेनाले टुँडिखेलमा अश्वकला, युद्धकला, मोटरसाइकल खेल, शारीरिक व्यायामलगायतको प्रदर्शन गर्दैछ । जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले शहरका बालबालिकालाई खाने गरेकाले पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे पनि उसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय तिनमा रहिरह्यो ।
यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो । साथै शहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ । आजकै दिन ललितपुरमा पनि एउटा कानो घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ ।
प्रतिक्रिया