भोलिदेखि उपत्यकासहित बागमतीका सबै पेट्रोल पम्प बन्द हुने


काठमाण्डु – बुधबारदेखि बागमती प्रदेशका पेट्रोल पम्प बन्द हुने भएका छन् । पम्पमा कार्यरत मजदुरलाई कोरोना भाइरस संक्रमणविरुद्धको खोपको व्यवस्था नगरिएको भन्दै भोलिदेखि  उपत्यकासहित प्रदेशका सबै पम्प बन्द गर्न लागिएको हो ।

नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसनका कार्यकारी कार्यालय सचिव नारद भण्डारीले फ्रन्टलाइनमा काम गर्ने पम्पका मजदुरलाई खोप नदिएका कारण बुधवारदेखि वाग्मतीका पम्प बन्द हुने बताए । उनले धादिङ बाहेक काठमाण्डु, ललितपुर, भक्तपुर, रामेछाप लगायतका सबै पम्प बन्द हुने बताए ।

कोरोनाविरुद्धको खोप नपाएको भन्दै इन्धन ढुवानी गर्ने चालकहरूले आइतबारबाट अवरोध सुरु गरेका थिए । बागमती प्रदेशका लागि भारतको बरौनीबाट पेट्रोल तथा बाराको अमलेखगन्जस्थित निगमको डिपोबाट डिजेल ढुवानी गर्ने र थानकोट प्रादेशिक डिपोबाट पम्पहरूसम्म पेट्रोलियम ढुवानी गर्ने चालकहरू खोप पाउनु पर्ने भन्दै सेवा रोकेर आन्दोलनमा उत्रिएका हुन् ।

सरकारले चैत्र ३१ गतेबाट अग्रपंक्तिमा खटिने सेवा क्षेत्रका सवारी चालक तथा सहचालकलाई कोरोना भाइरसविरुद्धको खोप लगाएको थियो । त्यसबेला पेट्रोलियम चालक तथा सहचालकले खोप लगाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement