काठमाडौँ महानगरलाई सडक मानवमुक्त गरिँदै


काठमाडौँ – काठमाडौँ महानगरपालिकालाई सडक मानवमुक्त गरिने भएको छ । महानगरपालिकाले आफ्नो वार्षिकोत्सव (२५ औँ महानगर दिवस) मनाउने क्रममा आइतबार विशेष कार्यक्रममार्फत महानगरलाई ‘सडक मानवमुक्त महानगर’ घोषणा गर्न लागेको छ ।

महानगर प्रमुख विद्यासुन्दर शाक्यले सडक मानवमुक्त महानगर घोषणा गर्न थालिएको गोरखापत्रलाई बताउनुभयो । महानगरलाई सडक मानवमुक्त बनाउन मानव सेवा आश्रम, जिल्ला प्रशासन कार्यालय र महानगर प्रहरीको साथ रहेको शाक्यले बताउनुभयो । राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक वर्ष २०७६-२०७७ को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा ‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्ने अभिव्यक्ति दिनुभएको थियो ।

“गरिबीको मनोविज्ञान हटाई आत्मविश्वास जागृत गरिनेछ,” नीति तथा कार्यक्रमको सम्बोधनमा राष्ट्रपति भण्डारीले भन्नुभएको थियो, “मौलिक हकको कार्यान्वयनबाट सबै नागरिकलाई शिक्षा, स्वास्थ्य, खाद्यान्न, रोजगारीको व्यवस्था गरी निरपेक्ष गरिबी अन्त्य गरिनेछ । अब नेपालमा कोही भोकै पर्दैन, भोकले कोही मर्दैन । ” यही भावमा सरकारको बजेटमा पनि सडक मानव व्यवस्थापन गर्न सरकारले आवश्यक पहल गर्ने जिम्मा लिएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement