नेपालले कुवेतलाई दियो २८१ रनको लक्ष्य


काठमाण्डु-  एसिसी प्रिमियर कप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा नेपालले कुबेतलाई बलियो लक्ष्य दिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालले ४२ ओभरमा ९ विकेट गुमाउँदै २८१ रन बनाएको हो । बर्षाको कारण ५० ओभरको खेलमा ४२ ओभरमा छोट्याइएको हो ।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ९४ रनको योगदान गरे । उनले ९५ बलमा ७ चाैका र ३ छक्का प्रहार गरे । उनी शतक प्रहार गर्ने क्रममा क्याच आउट भए । अर्का युवा ब्याटर कुशल मल्लले विस्फोटक ब्याटिङ गरे । उनले ४४ बलमा ४ चौका र ४ छक्काको मद्दतमा ५७ रन जोडे ।

ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेखले उत्कृष्ट सुरुवात गरेका थिए । उनीहरुले पहिलो विकेटका लागि ७७ रनको साझेदारी गरे । भुर्तेलले ४३ र शेखले ३१ रन बनाएर आउट भए । भीम सार्की भने १ रनमै आउट भए ।

यस्तै, आरिफ शेखले १९ रन, सन्दीप लामिछानेले ५ रन, सोमपाल कामीले १३ रन, करन केसीले ८ रन र ललित राजवंशीले २ रन जोडे । दीपेन्द्रसिंह ऐरी भने शून्यमै आउट भए ।

कुबेतका लागि मोहम्मद असलम र अदनान इद्रिसले समान तीन/तीन विकेट लिए । सैयद मोनिब र यासिन पटेलको नाममा एक/एक विकेट रह्यो ।

प्रतिक्रिया दिनुहोस
Advertisement