काठमाण्डु– कुखुराको मासु र अण्डा पकाएर खाँदा बर्डफ्लुबाट पूर्ण सुरक्षित हुन सकिने विज्ञहरूले बताएका छन् । देशका विभिन्न भागमा बर्डफ्लुको सङ्क्रमण फैलिएपछि उपभोक्ता अन्योलमा भइरहेको बेला विज्ञहरूले कुखुराको मासु र अण्डा राम्ररी पकाएर खाँदा कुनै जोखिम नहुने बताएका हुन् ।
कृषि तथा वन विज्ञान विश्वविद्यालयका उपकुलपति प्रा. डा. होमबहादुर बस्नेतले पाकेको मासुमा भाइरस नहुने बताए । उनले भने ‘भाइरसको जोखिम काँचो मासुमा हुन्छ । राम्ररी पकाएको मासु र अण्डा खाँदा कुनै डर छैन । ल्याएर काँचो मासु राखेको भाँडालाई भने सङ्क्रमणमुक्त बनाउनुपर्छ’, तातोपानीले भाँडालाई सफा गरेर सङ्क्रमणमुक्त गराउन सकिने उनले सुझाव दिए ।
बर्डफ्लुका विज्ञसमेत रहेका प्रा. डा. बस्नेतले ४० डिग्री तापक्रम पुगेपछि भाइरस मर्ने बताए “बर्डफ्लु लागेको कुखुराले अण्डा पार्न सक्दैन । त्यसैले अण्डा झनै सुरक्षित छ ।” बर्डफ्लु लागेपछि सबै कुखुरा नष्ट गरिने हुँदा सङ्क्रमित कुखुरा बजारमा आउने सम्भावना नहुने उनको भनाइ छ ।
सरकारले क्षतिपूर्ति दिने भएकाले कुखुरामा बर्डफ्लु देखिएमा तुरुन्त नष्ट गरेर बजारमा आउनबाट रोक्न प्रा. डा. बस्नेतले सुझाव दिए । “नेपालमा काँचो मासु खाने प्रचलन छैन । त्यसैले पनि बर्डफ्लुको जोखिम मानिसमा कम छ”, उनले भने ।
राष्ट्रिय पन्छी रोग अन्वेषण प्रयोगशाला चितवनका प्रमुख डा. विजयकुमार श्रेष्ठले अहिले चितवन र आसपासका क्षेत्रमा बर्डफ्लुको कुनै सङ्क्रमण नभेटिएकाले मासु र अण्डा पकाएर खान सकिने बताए ।
मासु र अण्डा राम्ररी पकाएर खाँदा कुनै समस्या नहुने भन्दै उनले रोग मानिसमा सर्ने जोखिम कम रहेको बताए ।
पशु सेवा विभागका अनुसार अहिलेसम्म ११ जिल्लाका एक सय स्थानमा बर्डफ्लुको सङ्क्रमण देखिएको छ ।
बर्डफ्लु पन्छीमा लाग्ने इन्फ्लुएन्जा भाइरसबाट हुने सङ्क्रामक रोग हो । कहिलेकाही सङ्क्रमित पन्छीसँग प्रत्यक्ष सम्पर्कमा आएका मानिसमा पनि यसको सङ्क्रमण सर्न सक्छ । तर व्यक्ति(व्यक्तिबीच सजिलै यो रोग सर्दैन ।
कसरी सर्छ मानिसमा रु
सङ्क्रमित पन्छीलाई छुँदा वा समात्दा, पन्छीको दिसा, सिगानसँंग सम्पर्क हुँदा, सङ्क्रमित पन्छी राख्ने स्थान सफा गर्दा र मरेको पन्छीको मासु खाँदा बर्डफ्लु मानिसमा सर्ने स्वास्थय मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
ज्वरो आउनु, खोकी लाग्ने, घाँटी दुख्ने, श्वास फेर्न गाह्रो हुने, शरीर तथा मासपंशी दुख्ने, अत्यधिक थकान महसुस हुने, वाकवाकी लाग्ने, वान्ता हुने वा पखाला लाग्नेजस्ता लक्षण देखिने गर्दछन् ।




प्रतिक्रिया