कुलेखानीको बाँध भरियो, मकवानपुर, सर्लाही र रौतहटसम्म बाढीको खतरा

कुलेखानीको बाँध भरियो, मकवानपुर, सर्लाही र रौतहटसम्म बाढीको खतरा


काठमाण्डु-मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा रहेको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा पानी भरिएको छ । पानी अत्याधिक भरिए पछि बाँधका ढोका खोलिएका छन् ।

कुलेखानी जलविद्युत् आयोजनाका प्रमुख तारादत्त भट्टका अनुसार अविरल वर्षाका कारण कुलेखानीको बाँध भरिएको र गएरातिदेखि साइरनसहित ओभरफ्लो भइरहेको छ । उनले पानी भरिएपछि बाँधका दुवै ढोका खोलिएको बताए । कुलेखानीमा ३१ वर्षपछि जलाशय भरिएर बाँधको ढोका खोलिएको हो । यसअघि २०५० सालमा ढोका खोलिएको थियो ।

हाल प्रतिमिनेट ३०० क्युसेक पानी खोलिएको र आवश्यकताअनुसार थप खोलिँदै जाने प्रमुख भट्टले बताए । जलाशयमा पानी भरिएपछि कुलेखानीलाई पूर्ण क्षमतामा चलाइएको छ । कुलेखानीको क्षमता १५३० मिटर छ ।

अझ जलाशयमा क्षमता भन्दा बढी ३५ सेन्टिमिटर पानी संकलन गरिएको थियो ।

भट्टका अनुसार अहिले प्रतिसेकेन्ड ३ सय क्युसेक पानी फालिएको छ । गत वर्ष कुलेखानी जलाशयमा एक हजार ५ सय २६ मिटरमात्र पानी संकलन भएको थियो ।

कुलेखानी जलाशय भरिएको अवस्थामा पानी खपत गर्न कुलेखानीका तीन वटै विद्युत् गृह सञ्चालन गरिएको छ । कुलेखानी जलविद्युत् आयोजनाबाट १०६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।

कुलेखानी बाँधदेखि तल मकवानपुरको सिस्नेरी, ठिंगन बेँसी, फापरबारी, राईगाउँ हुँदै सिन्धुली, रौतहट र सर्लाहीका बागमती नदी किनाराका बस्तीमा बाढीको जोखिम बढेको छ ।

यसैबीच प्रतिकार्यमा खटिने सुरक्षाकर्मी एवं स्वयंसेवकलाई ‘हाइ अलर्ट’मा बस्न जिल्ला प्रशासन कार्यालय मकवानपुरले आग्रह गरेको छ ।

कुलेखानी बँध भरिएकाले बाँधको सुरक्षालाई समेत मध्यनजर गरी ढोका खोल्नुपर्ने अवस्था सिर्जना हुनसक्ने देखिएकोले कुलेखानी बाँधदेखि तल सिस्नेरी हुँदै वाग्मती नदी किनाराका बस्तीहरूमा एक्कासी बाढी आउन सक्ने हुँदा यस क्षेत्रका बासिन्दालाई सर्तक अपनाउन अनुरोध गरिएको हो ।