तिहारमा विद्युत् आपूर्ति नियमित गराउन कुलमान स्यूचाटारमा


काठमाण्डु – हिन्दू नेपालीहरूको दोस्रो ठूलो पर्व तिहार (दिपावली)लाई ‘उज्यालो’ पर्वका रुपमा पनि लिने गरिन्छ । तिहारमा झिलीमिली बत्ती बाल्ने गरिन्छ । त्यसैले तिहारलाई ‘उज्यालो पर्व’ भनिएको हो ।

तिहारमा विद्युत् आपूर्ति नियमित गराउन नेपाल विद्युत् प्राधिकरणले हरसम्भव प्रयास गर्ने जनाएको छ । विशेष गरेर लक्ष्मीपूजाको साँझ विद्युत्‌काे माग बढी हुने गरेकाले विद्युत् भार मिलाउन प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसहितको टोलीले प्रत्यक्ष रुपमा निगरानी गरिरहेको छ ।

विगतका वर्षमा जस्तै यो वर्ष पनि घिसिङसहित उच्च अधिकारीहरूको टोली स्युचाटारको भारप्रेषण केन्द्रमा बसेर आपूर्ति व्यवस्थाको निरीक्षण गरिरहेको प्राधिकरणले जानकारी दिएकाे छ । घिसिङले तिहारको बेला देशभर कुनै पनि क्षेत्रमा विद्युत् आपूर्ति कटौती नहुने गरी भार व्यवस्थापन गरिएको जानकारी दिए । घिसिङको टोलीले सोमवार दिनभरि काठमाडौं उपत्यकाका सबस्टेशनहरूमा पुगेर ताजा अवस्थाबारे जानकारी लिएको थियो ।

तिहारमा विद्युत् आपूर्ति बन्द हुन नदिन स्युचाटार, बालाजु, बानेश्वर, लैनचौर, टेकु, पाटन, सिंहदरवार, चाबहिल, चपली, मातातीर्थ, बनेपा र पाँचखाल लगायतका सबस्टेसनलाई चुस्त अवस्थामा राखिएको घिसिङले बताए ।

कुनै स्थानमा समस्या आउने बित्तिकैसम्बन्धित स्थल पुगेर मर्मत गर्न नो–लाइटको टिमहरू तयारी अवस्थामा राखिएको प्राधिकरणले जनाएको छ । त्यस्तै, तिहारलाई लक्षित गरी सबैजसो जलविद्युत् गृह, सबस्टेसन, प्रसारणलाइन तथा ट्रान्सर्फमरको अवस्था जाँच र मर्मत सम्भार गरिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले तिहारको अवसरमा मन लागेजति बत्ती बाल्न सबैलाई आग्रह गरेको छ । विद्युत् उत्पादन पर्याप्त मात्रामा रहेको तथा तिहारको अवसरमा विभिन्न उद्योग तथा कलकारखाना पनि बन्द रहेकाले विद्युत् अपुग हुने समस्या नहुने कार्यकारी निर्देशक घिसिङले बताए । उनले सबै ग्राहकलाई जतिसक्दो बढी विद्युत् खपत गरेर तिहार मनाउन आग्रह पनि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement