काठमाण्डु- पुरुष टी–२० क्रिकेटमा नयाँ इतिहास रचेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर कुशल भुर्तेल अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)को ‘सिक्सर कल्ब’ भित्र परेका छन् ।
आइतबार चीनविरुद्धको खेलमा एउटै ओभरमा ६ छक्का प्रहार गरेका भुर्तेलले विश्व क्रिकेटको दुर्लभ र प्रतिष्ठित सूचीमा आफ्नो नाम दर्ता गराउन सफल भएका हुन् ।
यो उपलब्धि सँगै उनी विश्वका दिग्गज खेलाडीहरूको लाइनमा उभिएका छन् ।
चीनविरुद्धको खेलमा भुर्तेलले ४३ बलमा १२९ रनको विस्फोटक इनिङ्स खेले । उनले नवौँ ओभरमा प्रत्येक बलमा ६ छक्का प्रहार गर्दै यसअघि दिपेन्द्रसिंह ऐरीको नाममा रहेको रेकर्ड पनि बराबरी गरे । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा कुशलको यो दोस्रो शतक हो ।
योसँगै उनी टी–२० अन्तर्राष्ट्रियमा दुई शतक प्रहार गर्ने उनी पहिलो नेपाली ब्याटर पनि बनेका छन् । उनले यही खेलमार्फत टी–२० अन्तर्राष्ट्रियमा दुई हजार रन पनि पूरा गरेका छन् ।
आईसीसीले सार्वजनिक गरेको पछिल्लो विवरणमा एउटै ओभरमा ६ छक्का प्रहार गर्ने भुर्तेलसँगै अन्य खेलाडीहरू पनि ‘सिक्सर क्लब’भित्र परेका छन् ।
विश्व क्रिकेटमा एउटै ओभरमा ६ छक्का प्रहार गर्नुलाई निकै दुर्लभ र चुनौतीपूर्ण मानिन्छ र आइसीसीले खेलाडीलाई सम्मान गर्दै ‘सिक्सर क्लब’भित्र समावेश गर्दै आएको छ ।
आईसीसी सूचीअनुसार हालसम्म पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ६ जना ‘सिक्सर क्लब’भित्र परेका छन् । यो सफलता प्राप्त गर्ने खेलाडीमा भारतका युवराज सिंहदेखि नेपालका कुशल भुर्तेलसम्म छन् ।
‘सिक्सर क्लब’मा पहिलो पटक भारतका युवराज सिंह परेका थिए । उनले सन् २००७मा इङ्गल्यान्डविरुद्ध एउटै ओभरमा ६ वटा छक्का प्रहार गरेर सनसनी मच्चाएका थिए ।
यस्तै वेस्टइन्डिजका किरोन पोलार्ड पनि ‘सिक्सर क्लब’ भित्र परेका छन् । सन् २०२१मा श्रीलङ्काविरुद्ध उनले कीर्तिमान बनाएका थिए ।
नेपालका दीपेन्द्र सिंह ऐरीले सन् २०२४ कतारविरुद्ध, सामोआका डारियस विसरले सन् २०२४मा भानुअतुविरुद्ध र बुल्गेरियाका मनान बशिरले सन् २०२५मा जिब्राल्टरविरुद्ध एउटै ओभरमा ६ छक्का प्रहार गरेका हुन् ।
नेपालका कुशल भुर्तेल सन् २०२६मा चीनविरुद्ध एउटै ओभरमा ६ वटा छक्का प्रहार गरेर ‘सिक्सर क्ल्ब’को छैटौँ नयाँ सदस्यमा थपिएका छन् ।
कुशलको यो सफलतासँगै पुरुष टी–२० अन्तर्राष्ट्रिय क्रिकेटको इतिहासमा एउटै देशबाट दुई अलग–अलग खेलाडीले एकै ओभरमा ६ छक्का प्रहार गरेको यो पहिलो ऐतिहासिक अवसर हो ।





प्रतिक्रिया