काठमाण्डु- नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर नियुक्त भएका छन्।
कम्पनीले काठमाडौंको बालाजुमा नयाँ सोरुम सञ्चालनमा ल्याउँदै भुर्तेललाई ब्रान्ड एम्बासडर नियुक्त गरेको हो।
सोमबार बालाजुस्थित नयाँ सोरुमको उद्घाटन क्रिकेटर भुर्तेलले गरेका हुन्। उक्त अवसरमा भुर्तेल र ग्यालेक्सी फिटनेसका प्रबन्ध निर्देशक दीपकप्रसाद अधिकारीबीच ब्रान्ड एम्बासडरसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
ब्रान्ड एम्बासडर नियुक्त भएपछि भुर्तेलले ग्यालेक्सी फिटनेससँग जोडिन पाउँदा खुसी लागेको बताए। खेलाडीका लागि फिटनेस अत्यावश्यक हुने भन्दै उनले यो सहकार्यले आफूलाई थप हौसला मिलेको उल्लेख गरे।
‘खेलाडीलाई फिटनेस अत्यावश्यक छ। फिट हुन जिम गर्नै पर्छ। त्यसैले ग्यालेक्सी फिटनेस परिवारमा जोडिन पाउँदा खुसी छु,’ भुर्तेलले भने।
ग्यालेक्सी फिटनेसका प्रबन्ध निर्देशक अधिकारीले भुर्तेलजस्ता चर्चित क्रिकेटरलाई ब्रान्ड एम्बासडरका रूपमा स्वागत गर्न पाउँदा उत्साहित भएको बताए। यस सहकार्यले कम्पनीलाई खेलकुद क्षेत्रसँग जोडिएर काम गर्न थप प्रेरणा मिल्ने उनको भनाइ छ।
‘भुर्तेलजस्तो क्रिकेटका स्टारलाई ग्यालेक्सी फिटनेस परिवारमा ब्रान्ड एम्बासडरका रूपमा भित्र्याउन सक्नु हाम्रो ठूलो सफलता हो। यसले हामीलाई पनि खेलकुदसँग जोडिएर काम गर्न थप उत्साह थपेको छ,’ अधिकारीले भने।
अधिकारीका अनुसार भुर्तेलसँग औपचारिक रूपमा एक वर्षका लागि सम्झौता गरिएको छ। यद्यपि, दुवै पक्षले दीर्घकालीन सहकार्य गर्ने सहमति गरेका छन्।
‘अहिले एक वर्षका लागि औपचारिक रूपमा सम्झौता भए पनि उहाँ र हामी लामो समयका लागि सँगै अघि बढ्न सहमत भएका छौँ,’ अधिकारीले भने।
भुर्तेलले पनि आफूहरूबीच लामो समय सहकार्य गर्ने समझदारी भएको बताए। ‘हामी लामो समय सँगै हिँड्नेछौँ। त्यहीअनुसार हामीबीच सहमति भएको छ,’ उनले भने।
कम्पनीले भुर्तेलसँगको सहकार्यबाट खेलकुद र फिटनेसलाई जोड्न तथा स्वस्थ जीवनशैलीप्रति जनचेतना अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास लिएको छ।
शाखा विस्तार गर्दै
आधुनिक जिम तथा फिटनेस उपकरणको बिक्री र वितरण गर्दै आएको ग्यालेक्सी फिटनेसले युवा व्यवसायीहरूको सामूहिक पहलमा आफ्नो व्यवसाय विस्तार गरिरहेको छ।
नेपालमा जिम तथा फिटनेस उपकरणको बढ्दो मागलाई लक्षित गर्दै कम्पनीले सेवा र वितरण सञ्जाल विस्तार गरेको अधिकारीले बताए।
उनका अनुसार कम्पनीले चीनबाट विभिन्न प्रकारका जिम तथा फिटनेस उपकरण आयात गरी जिम, फिटनेस सेन्टर, होटल, रिसोर्ट तथा व्यक्तिगत ग्राहकलाई बिक्री तथा वितरण गर्दै आएको छ।
कम्पनीका शाखा झापाको दमक, रुपन्देहीको बुटवल र बेलबास, कास्कीको पोखरा तथा चितवनको नारायणगढमा सञ्चालनमा छन्। काठमाडौंको कलंकीमा दसैँपछि नयाँ शाखा सञ्चालनमा ल्याउने तयारी रहेको अधिकारीले जानकारी दिए।
कम्पनीले आगामी दिनमा देशका अन्य स्थानमा समेत शाखा विस्तार गर्ने योजना बनाएको छ। आधुनिक फिटनेस उपकरणको पहुँच बढाउनुका साथै नेपालमा फिटनेस संस्कृतिको विकास र जिम व्यवसायको प्रवर्द्धनमा योगदान पुर्याउने कम्पनीको लक्ष्य छ।



प्रतिक्रिया