कुसुण्डा भाषाका ज्ञाता ज्ञानीमैयाको निधन


काठमाडौं – विश्वमै एकमात्र कुसुण्डा भाषाका ज्ञाता ज्ञानीमैया कुसुण्डाको निधन भएको छ । लामो समयदेखि दमले ग्रस्त दाङको लमही नगरपालिका –६ कुलमोहर निवासी ८२ वर्षीय कुसुण्डाको आज निधन भएको हो ।

उहाँ विश्वकै एकमात्रै कुसुण्डा भाषा बोल्ने व्यक्ति हुन् । उनको निधनसँगै कुसुण्डा भाषा संरक्षणमा चिन्ता थपिएको यस भाषाका अनुसन्धानकर्ता उदय आलेले जानकारी दिए ।

‘विश्वमा उहाँमात्रै कुसुण्डा भाषा बोल्ने ब्यक्ति हुनुहुन्थ्यो’, उनले भने, ‘उहाँलाई हामीले कुसुण्डा भाषाको शब्दकोषका रुपमा समेत लिएका थियौँ, तर उहाँको निधनले कुसुण्डा भाषा संरक्षणमा चिन्ता थपिएको छ ।’

कुसुण्डा पुसको अन्तिम सातादेखि बिरामी परेकी थिइन् । उनको प्रारम्भिक उपचार लमहीस्थित फ्लोरेन्स अस्पतालमा गरिएको थियो भने थप उपचार कोहलपुर मेडिकल कलेज नेपालगञ्ज लगिएको थियो ।

उनको अवस्था सुधार नभएपछि उनलाई घरमै राखिएको थियो । त्यही क्रममा आज उनको निधन भएको बुहारी आशा पुनमगरले बताइन् । अब दाङको लमहीमा उनकी काकाकी छोरी कमला कुसुण्डाले मात्रै यो भाषा बोल्न जानेकी छन् ।

ज्ञानीमैयाका एक मात्र छोरा प्रेमबहादुरको छ वर्षअघि करेन्ट लागेर मृत्यु भएको थियोे । उनका दुई छोरीको विवाह भइसकेको छ । घरमा उहाँकी बुहारीले नै हेरचाह गर्दै आएका थिए ।

कुसुन्डा विकास समाजका अध्यक्ष धनबहादुर कुसुन्डाका अनुसार दाङमा ९८ र देशभर २७३ जना कुसुन्डा छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement