काठमाण्डु–काठमाण्डुको शंखमुलमा होस्टलभित्र भएको विवादले उग्र रुप लिएपछि साथीहरुको कुटपिटबाट एक युवकको मृत्यु भएको छ ।
भ्याली ब्वाइज होस्टलमा बस्दै आएका दाङ घोराही उपमहानगरपालिका–१७ का २२ वर्षीय वसन्त कालाथोकीको साथीहरुको कुटपिटबाट ज्यान गएको हो ।
कुटपिटमा परी गम्भीर घाइते भएका कालाथोकीको उपचारका क्रममा मृत्यु भएको काठमाण्डु प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले काठमाण्डु पाटीलाई जानकारी दिए ।
प्रहरीका अनुसार होस्टलमा भएको विवादका क्रममा कालाथोकीमाथि धारिलो हतियार प्रहार भएको थियो । घटनामा उनको टाउको र घाँटीमा गम्भीर चोट लागेको थियो ।
घाइते कालाथोकीलाई उपचारका लागि मीनभवनस्थित निजामती कर्मचारी अस्पताल पुर्याइएको थियो । उपचारकै क्रममा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिका–३ का १८ वर्षीय शेखर यादवलाई नियन्त्रणमा लिएको छ । अर्का आरोपित प्रमित पटेल भने फरार रहेका छन् ।
प्रहरीले घटनाको कारण, विवादको अवस्था र संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




प्रतिक्रिया