कैलाली– कैलालीको टीकापुर प्रादेशिक अस्पतालमा कार्यरत ल्याब इन्चार्ज उमेश बजगाईंमाथि कुटपिट गरेको आरोपमा फिजियो थेरापिस्ट अनिल तिवारी पक्राउ परेका छन् ।
अस्पतालभित्र भएको हातपातको घटना सीसीटीभीमा कैद भएपछि प्रहरीले तिवारीलाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको हो ।
अस्पतालका अनुसार तिवारी र बजगाईंबीच केही समयदेखि चलिरहेको विवाद चर्किंदै जाँदा उक्त घटना भएको हो । कुटपिटपछि बजगाईंले दोषीमाथि कारबाहीको माग गर्दै अस्पताल प्रशासनसमक्ष निवेदन दिएका थिए ।
बजगाईंको निवेदनका आधारमा अस्पताल प्रशासनले इलाका प्रहरी कार्यालयमा घटनाबारे जानकारी गराउँदै कानुनी प्रक्रिया अघि बढाउन आग्रह गरेको थियो । त्यसपछि प्रहरीले तिवारीलाई पक्राउ गरेको हो ।
अस्पतालमा हालै भएको ल्याब सामग्री खरिदको विषयलाई लिएर विवाद उत्पन्न भएको बताइएको छ । तिवारीले उक्त खरिद प्रक्रियामा अनियमितता भएको आरोप लगाउँदै मेडिकल सुपरिटेन्डेन्टसमक्ष उजुरी दिएका थिए । सोही विषयमा छलफल गर्ने क्रममा सोमबार दिउँसो विवाद बढेको स्रोतको भनाइ छ ।
छलफलका क्रममा तिवारीले बजगाईं र मेडिकल सुपरिटेन्डेन्ट डा. रेमकुमार राईसँग विवाद गर्दै अभद्र व्यवहार गरेको आरोप लगाइएको छ । त्यसपछि बजगाईं आफ्नो कार्यकक्षतर्फ जाने क्रममा तिवारीले पछ्याउँदै गएर कुटपिट गरेका थिए ।
घटनाको वास्तविकता पत्ता लगाउन अस्पताल व्यवस्थापन समितिले छट्टै छानबिन समिति गठन गरेको छ । प्रहरीले पक्राउ परेका तिवारीमाथि थप अनुसन्धान भइरहेको जनाएको छ।




प्रतिक्रिया