लगानी सम्मेलनको कार्यतालिका सार्वजनिक,सम्मेलनमा सहभागी हुन को को आउदैछन् ?


काठमाडौं – लगानी सम्मेलनमै विभिन्न १२ वटा समझदारीपत्रमा हस्ताक्षर गर्ने सरकारको तयारी छ । अर्थमन्त्रालयमा बुधबार आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा युवराज खतिवडाले सरकारले लिएको आर्थिक समृद्धिको लक्ष्यलाई पहिल्याउन सम्मेलन महत्वपूर्ण अवसरका रूपमा स्थापित हुने विश्वास दिलाए । सम्मेलन यही चैत १५ र १६ गते आयोजना गरिएको छ । अर्थमन्त्री खतिवडाका अनुसार सम्मेलन सबै नेपालीको साझा अभियान हो ।

यसलाई सफल पार्न र देशमा वैदेशिक लगानी भित्र्याउन समेत महत्वपूर्ण अवसर हो । सम्मेलनमा सरकारका ५० र निजी क्षेत्रका २५ गरी कूल ७७ परियोजनालाई ‘शो केश’ मा राखिने र नेपाल लगानीका लागि असाध्यै अनुकूल अवस्थामा छ भन्ने सन्देश दिन लागिएको उनले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने सो सम्मेलनमा ४० देशबाट ६सय जनाभन्दा बढी विदेशी लगानी कर्ताको उपस्थिति हुनेछ । सम्मेलनमा नेपाल सरकारका उच्च पदस्थ अधिकारी, नेपालस्थित विदेशी कुटनीतिक नियोगका प्रतिनिधि, विकास साझेदार संस्था नेपाली नीजि क्षेत्र गैरआवासीय नेपाली तथा स्वदेशी लगानीकर्ताको सहभागिता रहनेछ ।

सम्मेलनमा म्यानमारका लगानी तथा विदेश आर्थिक सम्बन्ध मन्त्री यु थाउङ टुङ, विश्व बैकका उपाध्यक्ष हार्ट्विग स्याफर, एसियाली विकास बैंकका उपाध्यक्ष सिजिन चेन, विश्व बैंक अन्तर्गतको बहुपक्षीय लगानी प्रत्यभूति सम्बन्धी निकायका उपाध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत केइको होण्डा, अन्तर्रा्ष्ट्रिय वित्त निगमका आर्थिक तथा नीजि क्षेत्र सम्बन्धी उपाध्यक्ष हान्स पिटर लंकेस, एसियाली पूर्वाधार लगानी बैंकका लगानी तथा कार्यसञ्चालन सम्बन्धी उपाध्यक्ष डोङ ली, माइक्रोसफ्ट, अमेजन, पावर चाइना, चाइना रेलवे, डाबर युनिलिभर लगायतका उच्च पदस्थ पदाधिकारीको सहभागी हुने लगानी बोर्डले जनाएको छ ।

दुई दिने सम्मेलनमा पहिलो दिन नेपाल सरकारको तर्फबाट लगानीको अवसर तथा लगानी सम्बन्धी नीतिगत सुधारबारे प्रस्तुतिकरण हुनेछ । त्यसैगरी नेपालमा लगानी गरिरहेका लगानीकर्ताको अनुभव, अन्तर्रा्ष्ट्रिय लगानीकर्ताको लगानी सम्बन्धी अनुभवसहित सातवटा विषयगत सत्र सञ्चालन हुनेछन् । दोस्रो तथा अन्तिम दिन दुईवटा क्षेत्रगत तथा तीनवटा प्लेनरी सत्रहरु सञ्चालन हुनेछन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement