काठमाण्डु- नेपाल प्रहरी ले देशभर लागूऔषध ओसारपसार तथा कारोबारविरुद्धको कारबाहीलाई तीव्र बनाएको छ। शुक्रबार र शनिबार मात्रै देशका विभिन्न सात जिल्लाबाट अवैध लागूऔषधसहित २२ जनालाई पक्राउ गरिएको छ।झापा, कैलाली, उदयपुर, बर्दिया, कञ्चनपुर, धनुषा र सिन्धुलीका विभिन्न नाका तथा बजार क्षेत्रबाट ब्राउनसुगर, चरेस तथा नियन्त्रित मेडिकल लागूऔषधसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
प्रहरीका अनुसार लागूऔषध कारोबारको मुख्य ट्रान्जिट मानिने झापाबाट मात्रै नौ जना पक्राउ परेका छन्। बुद्धशान्ति गाउँपालिका ३ बुधबारे बजारबाट २ ग्राम ७२० मिलिग्राम ब्राउनसुगरसहित ३८ वर्षीय हरिप्रसाद ढकाल पक्राउ परेका छन्।
त्यसैगरी अर्जुनधारा नगरपालिका ५ कैलाशघाटबाट २४ वर्षीय सागर दर्जीलाई २ ग्राम ब्राउनसुगरसहित तथा बिर्तामोड नगरपालिका ४ बाट २८ वर्षीय सागर रसाइलीसहित चार जनालाई १५० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिइएको छ।
मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुल र गैरीगाउँबाट २७ वर्षीय रोहित भण्डारी र एक १८ वर्षीय किशोरलाई खैरो हेरोइनसहित पक्राउ गरिएको छ। यसैबीच सुदूरपश्चिमका नाकाहरूमा पनि निगरानी कडा बनाइएको छ। कैलालीको टीकापुर नगरपालिका ९ खक्रौलाबाट भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई १ ग्राम ६९० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको छ। कैलालीकै धनगढी उपमहानगरपालिका १ शिवनगरबाट ३ ग्राम ६०० मिलिग्राम चरेससहित पाँच जना पक्राउ परेका छन्।
यस्तै बाँसगढी नगरपालिका र बेलौरी नगरपालिका बाट पनि खैरो हेरोइनसहित थप दुई जना पक्राउ परेका छन्। प्रहरीको चेकजाँचका क्रममा कमलामाई नगरपालिका ९ भिमानबाट झापाबाट काठमाण्डुतर्फ जाँदै गरेको सवारी साधनमा ३३ ग्राम ४१० मिलिग्राम खैरो हेरोइनसहित एक जना पक्राउ परेका छन्।
उता त्रियुगा नगरपालिका ६ बाट डाइजेपाम, फेनारगन र बुप्रेनोर्फिनजस्ता लागूऔषधसहित दुई जना पक्राउ परेका छन् भने धनुषाधाम नगरपालिका ९ बाट १०० ट्याब्लेट नाइट्रोजेपामसहित थप दुई जना नियन्त्रणमा लिइएका छन्




प्रतिक्रिया