लाल आयोगको प्रतिवेदन सार्वजनिक नगरे नेपाल बन्द गर्ने नागरिक उन्मुक्ति पार्टीको चेतावनी


काठमाण्डु – नागरिक उन्मुक्ति पार्टीले टीकापुर घटनाबारे लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेको छ । पार्टीका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डितले बुधबार विज्ञप्ति निकालेर लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरेका हुन् ।

विज्ञप्ति अनुसार पार्टीले जेठ ३, ४, ५ गते देशव्यापीरूपमा आन्दोलन र जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द गर्ने जनाएकाे छ।

टीकापुर आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन भएको पनि नागरिक उन्मुक्ति पार्टीले जनाएको छ । पण्डितले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘त्यो आन्दोलन विशुद्ध राजनीतिक आन्दोलन भएकाले सम्मानित सर्वोच्च अदालतबाट(न्यायलय)भन्दा राजनीतिक हिसाबबाटै हल समाधान हुनुपर्थ्यो र पर्छ भन्ने धारणा नागरिक उन्मुक्ति पार्टीको हो ।’ नागरिक उन्मुक्ति पार्टीले विगतमा थुप्रै घटनालाई राजनीतिक आन्दोलनका रूपमा लिइएको जनाएको छ ।

मंगलबार सर्वोच्च अदालतले टीकापुर घटनामा रेशम चौधरीलाई जन्मकैदको सजाय हुने गरी कैलाली जिल्ला अदालत र उच्च अदालत दिपायलले गरेको फैसलालाई सदर गरेको थियो ।

टीकापुरसहित मधेस आन्दोलनका क्रममा भएका ज्यादती र त्यसको सत्यतथ्य पत्ता लगाउन पूर्वन्यायाधीश गिरीशचन्द्र लाल अध्यक्षताको उच्चस्तरीय आयोगको प्रतिवेदन अझै सार्वजनिक भएको छैन ।

प्रतिक्रिया दिनुहोस
Advertisement