बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणबारे भीम रावलले मुख खोले


काठमाडौं – बालुवाटारस्थित ललिता निवासको ११३ रोपनी जग्गा कानुनविपरीत व्यक्तिका नाममा दर्ता गरिएको विषयलाई लिएर दोषी देखिएकालाई कार्वाही गर्न नेकपा नेता एवं सांसद भीम रावलले माग गरेका छन् । यो जग्गा सरकारले रोक्का राख्ने निर्णय गरेको छ ।

शुक्रबार सामाजिक सञ्जाल ट्वीटरमा उनले प्रधानमन्त्री निवास छेउको जग्गा कब्जा गर्नेमाथि कारबाहीको माग गरेका हुन् । साथै उनले जनताबाट बहुमत प्राप्त सरकारले देश, जनता र सार्वजनिक सम्पत्तिको रक्षा गर्नुपर्ने बताउँदै बालुवाटारको जग्गा कब्जा गर्नेमाथि कारबाही गर्न सरकार सफल बन्न शुभकामना पनि दिएका छ्न ।

उनले भनेका छन, ‘द्वन्द्व र अस्थिर स्थितिमा विगतमा सार्वजनिक जग्गा कब्जा गर्ने कुकार्य जोसुकैले गरेको भएपनि सुशासनको चाहना राख्दै जनताले बहुमत दिएको सरकारको पहिलो कर्तव्य देश, जनता र सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हो । प्र.म. निवासकै छेउको जग्गा कब्जा गर्ने लगायतलाई कारवाही गर्न सरकार सफल होस् ।’

नेकपा महासचिव विष्णु पौडेल पनि बालुवाटारको जग्गा किनबेचमा संलग्न भएको पाइएको छ । सरकारका प्रवक्ता गोकुल बाँस्कोटले महासचिव पौडेल ठगिएकाले क्षतिपूर्ति पाउनुपर्ने बताएका छन् ।  तर, नेता रावलले महासचिव पौडेललाई संकेत गर्दै उक्त जग्गा प्रकरणमा मुछिएका जो सुकैलाई कडा कारबाही गर्न माग गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement