ललिता निवास जग्गा प्रकरण :अख्तियारलाई मुख्य दोषी किटान गर्नै कठिन


काठमाडौं –अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा प्रकरणको विषयमा छानबिन प्रक्रिया पूरा गरे पनि अनुसन्धान अधिकृतले मुद्दा कसलाई चलाउने भन्ने विषय निक्र्यौल गर्न नसक्दा मुद्दा दायरको समय लम्बिने देखिएको छ ।

अनुसन्धान अधिकृतले आयोगमा यो एजेन्डालाई प्रवेश गराउन सकेका छैनन् । अनुसन्धान सकिए पनि आयोगले बैठक राखेर यस विषयमा छलफल गराउन नसक्दा प्रक्रिया लम्बिने अवस्था आएको हो । आयोग उच्च स्रोतका अनुसार आयोगका अनुसन्धान अधिकारीले सो फाइललाई अहिले थाती राखेका छन् । मुद्दाको अनुसन्धान पूरा भएपछि आधार र कारणसहित व्यक्तिको किटान गरी मुद्दा दर्ता गर्न आवश्यक देखियो भनी मिसिल बुझाउनुपर्ने हुन्छ । तर, अनुसन्धान पूरा गरेको तीन साता बित्दा पनि मिसिल तयार नभएकाले मुद्दा प्रक्रिया अझै अन्योलमा छ ।

अनुसन्धान अधिकारीले आयोगका आयुक्तसमक्ष मिसिल पेस गरेपछि सो विषयमा छलफल गरेर मात्रै मुद्दा दर्ता गर्ने या पुनः अनुसन्धान गर्नुपर्ने हो भन्ने विषयमा निर्णय हुन सक्छ । तर, अनुसन्धान अधिकारीले मिसिल नबुझाएकाले मुद्दा दर्ता प्रक्रिया जटिल बनेको छ ।

अख्तियार स्रोतका अनुसार मुख्य दोषी कसलाई किटान गर्ने भन्ने विषय टुंगो लगाउन नसक्दा ढिलाइ भएको हो । अझै केही समय छानबिन भइरहेकाले फाइल अध्ययन गरेर मुद्दाको प्रक्रिया अगाडि बढाउने तयारी गरेको ती अधिकारीले बताए । तर, क–कसलाई मुद्दा चलाउने भन्ने विषयमा आयोग अझै अलमलमा छ ।यो समाचार आजको राजधानी दैनिकमा छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement